News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा बजारमा गरिएको छड्के अनुगमनका क्रममा खाद्य मापदण्ड उल्लंघन गर्ने एउटा डेरीसहित चार व्यवसायलाई जनही पाँच हजारका दरले २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
- जिल्ला प्रशासन कार्यालयको संयोजनमा खटिएको संयुक्त टोलीले सरसफाइमा कमी, म्याद गुज्रिएका सामग्री र मूल्यसूची नराख्ने व्यवसायीलाई कारबाही गर्दै खाद्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
- प्रशासकीय अधिकृत रामजी पौडेलले मापदण्डविपरीत कार्य दोहोर्याउने व्यवसायीलाई भविष्यमा थप कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।
१८ साउन, धनकुटा । धनकुटा बजार क्षेत्रमा गरिएको छड्के बजार अनुगमनका क्रममा खाद्य मापदण्ड उल्लंघन गरेको तथा उपभोक्ता हितविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि एउटा दुग्ध डेरीसहित तीन मिठाई तथा होटल व्यवसायलाई जनही पाँच हजार रुपैयाँका दरले कूल २० हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनकुटा नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय तथा नेपाल पत्रकार महासंघ धनकुटाको प्रतिनिधिसहितको संयुक्त टोलीले भीमनारायण चोकदेखि मदनचोकसम्म सञ्चालित मिठाई पसल, होटल, बिस्कुट उद्योग र डेरीमा छड्के अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा न्यू भुलेन होटल, विद्यानन्द मुखियाद्वारा सञ्चालित मिठाई पसल र हेलो ब्रदर स्वीट एण्ड चाट हाउसमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, एउटै तेल पटकपटक प्रयोग गरिएको र बिल जारी नगरेको तथा कारोबारको अभिलेख नराखेको पाइएपछि जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यसै गरि दुग्ध डेरी पसलमा बिक्रीका लागि राखिएका दुग्धजन्य पदार्थमा आवश्यक लेबल नराखिएको तथा बिलको अभिलेख नराखिएको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा एउटै खाने तेल पटक–पटक प्रयोग गरिएको, सरसफाइमा कमी रहेको, मूल्यसूची नराखिएको तथा उपभोक्ता अधिकारसम्बन्धी मापदण्डको पूर्ण पालना नभएको अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ । टोलीले व्यवसायीलाई खाद्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन पनि दिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । उनले अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका चार व्यवसायलाई तत्काल जरिवाना गरिएको र आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिइएको बताए ।
यसैबीच, अनुगमनका क्रममा केही मिठाई पसलबाट म्याद गुज्रिएका तथा खान अयोग्य खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय बजारमा गुणस्तरहीन खाद्य सामग्री बिक्री भइरहेको, उपभोक्ता ठगिएको तथा सरसफाइसम्बन्धी गुनासो बढ्दै गएपछि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । टोलीले सबै होटल, मिठाई पसल, डेरी तथा खाद्य व्यवसायीलाई नियमित सरसफाइ गर्न, व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न, अनिवार्य रूपमा बिल जारी गर्न, मूल्यसूची राख्न, खाद्य पदार्थमा आवश्यक लेबल प्रयोग गर्न तथा प्रचलित खाद्य ऐन र नियमावलीको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा केही दिनअघि धनकुटा नगरपालिका वडा नं. ७ अस्पताल छेउमा रहेका होटलहरुमा छड्ने अनुगमन गरि एक होटलमा सरसफाइको कमी लगायतका समस्या देखिएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
प्रतिक्रिया 4