१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले चल्नुपर्ने जसरी संसद् नचलेको टिप्पणी गरेका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै महामन्त्री आचार्यले यस्तो बताएका हुन् ।
अन्तर्वार्ताकार निमेष बञ्जाडेले आचार्यसँग ‘पछिल्लो चार महिनाको संसद् कस्तो रह्यो ? भन्ने प्रश्नको उत्तरमा उनले भनेका छन्, ‘संसद् जसरी चलिराखेको छ । अर्को अर्थ नलागोस्, समग्रताको कुरा हो । पिसपिसमा नजाओस् । संसद् पाससम्म भयो कि अथवा ३२ लाई पास मान्ने हो भने पास भयो । ४० लाई पास मान्ने हो भने चाहिँ जसरी चल्नुपर्छ संसद् त्यसरी चलेको छैन ।’
त्यसपछि अन्तरवार्ताकार सोध्छन्, ‘फेलै जस्तो छ ?’
जसको जवाफमा महामन्त्री आचार्यले भनेका छन्, ‘म त फेलै देख्छु ।’
प्रतिनिधिसभाको सभामुखमा रास्वपाकै पूर्वउपसभापति डोलप्रसाद अर्याल छन् ।
‘सभामुख अर्यालले संसद् चलाउन सकेनन् ?’ भन्ने प्रश्नमा महामन्त्री आचार्यले जवाफ दिन्छन्, ‘जुन कन्टेस्टमा संसद्, हाम्रो पार्लामेन्टरी प्राक्टिस जस्तो छ नि, त्यसमा जो गएपनि हुने यही हो के !’

महामन्त्री आचार्य आफूले विगतसँग तुलना गरेर कुनै टिप्पणी नगरेको पनि दाबी गर्छन् । त्यो कुरा उनले यो आफ्नो व्यक्तिगत बुझाइ मात्रै रहेको पनि उनले बताएका छन् ।
‘मैले पहिला पार्लियामेन्ट गज्जबले चलेको थियो, अहिले चलेन भनेकै छैन’, उनी भन्छन्, ‘पार्लालियामेन्ट्री प्राक्टिस यो तरिकाले चलाइयो भने यसबाट आउने आउटपुट सही हुँदैन ।’
पछिल्लो पटक दुई साता प्रतिनिधिसभाको बैठक स्थगित भएर बसेको पनि महामन्त्री आचार्यले स्मरण गरे । ‘लगभग दुई हप्तापछाडि पार्लियामेन्ट खुल्यो । पार्लियामेन्ट खाली थियो । हरेक पटक याद गर्नुभयो भने पार्लियामेन्ट गज्जबले भरिएको दिन देख्नुहुन्न’, उनले भनेका छन् ।
त्यसपछि अन्तरवार्ताकार बन्जाडे ‘संसद्लाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भएको’बारे स्मरण गराउँदै प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रत्येक महिना प्रश्नोत्तर हुनुपर्नेमा त्यसो नभएको कुरा महामन्त्री आचार्यलाई सोध्छन् ।
यस्तै, संसद्मा लामो समयदेखि प्रतिपक्षले जवाफ माग्दा प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन तयार नहुने अवस्था रहेको पनि बन्जाडेले स्मरण गराउँदै सोध्छन्, ‘यी करणले पनि संसद्को गुणस्तर हराउन पुगेको हो ?’

जवाफमा आचार्यले ‘सांसद बन्नका लागि सबैले मेहनत गरेको’ प्रतिक्रिया दिन्छन् । ‘हामी सबै जना सांसद्का रूपमा त, सांसद बन्ने प्रक्रियामा कति मेहनत गरेका थियौं । टिकटका लागि, यो टिकट पाए त मेरो जिन्दगी योभन्दा माथि केही चाहिँदैन्, मलाई टिकटै पाए हुन्थ्यो भन्ने थियो’, उनी पृष्ठभूमि बाँधेर भन्छन्, ‘भोट माग्दा घर–घर पुगेर सांसद्का लागि निर्वाचित गराइदिनु भनिएको थियो ।’
तर, निर्वाचनपछिका चार महिनामा यसअनुसार व्यवहार भयो वा भएन भनेर हेर्नुपर्ने बताउँछन् । ‘संसद्मा सांसदले जे बोल्छ, त्यो कुराहरूको सुनुवाइ हुने मेकानिजम छैन । यदि कुनै सांसदले कुनै कुरा संसद्मा राख्छ भने उसले जनतालाई प्रतिनिधित्व गरेर राखिरहेको हो नि त । सांसदले केही कुरा राख्छ भने यात त त्यसको सम्बोधन हुनुपर्यो । या त सम्बोधन हुनसक्दैन भन्ने कुराको क्लियारिटी चाहियो’, उनी घुमाउरो शैलीमा प्रधानमन्त्री शाहको शैलीबारे प्रतिक्रिया दिन्छन् ।
तर, अहिले सांसदले बोल्ने र त्यो ‘कहाँ जान्छ–जान्छ’ जस्तो अवस्था रहेको उनी बताउँछन् ।
एउटा सांसद्का लागि संसद्भन्दा अर्को महत्वपूर्ण कुरा के हो ? भनेर ख्याल गरिनुपर्ने उनले बताए । संसद्मा बस्न छाडेर अन्यत्र व्यस्त रहने विषय उचित नरहेको बताए ।
एउटा सांसद्का लागि राज्यले पाँच वर्षका लागि १५ करोड खर्च गरिरहेको बताउँदै उनले यस्तो अवस्थामा अहिलेको संरचनामा फेरि पनि समीक्षा आवश्यक रहेको बताए ।
पूरा अन्तर्वार्ता :
प्रतिक्रिया 4