२३ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले हुलाकमार्फत ५ केजीसम्मका पुस्तक पठाउन मिल्ने ‘बुक पोस्ट’ सेवा बन्द नभएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा सरकारले उक्त सेवा बन्द गरेको वा ५ केजीसम्म पुस्तक पठाउन नपाइने बनाएको भन्दै आलोचनात्मक सूचनाहरू फैलिएको भन्दै शनिबार मन्त्री तिमिल्सिनाले यस्तो प्रस्टीकरण दिएका हुन्।
मन्त्री तिमिल्सिनाले नेपालमा बुक पोस्ट सेवा यथावत् रहेको र यस विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन्। युनिभर्सल पोस्टल युनियन (यूपीयू) को प्रावधान तथा नेपालको विद्यमान व्यवस्थाअनुसार ५ केजीसम्मका पुस्तक बुक पोस्टमार्फत पठाउन सकिने कानुनी व्यवस्था कायम नै रहेको उनले स्पष्ट पारेका छन्।
समस्या नेपालको होइन, गन्तव्य मुलुकको हो
हाल देखिएको समस्या नेपालमा सेवा बन्द गरिएको कारणले नभई केही गन्तव्य मुलुकहरूको आन्तरिक नियमका कारण उब्जिएको मन्त्री तिमिल्सिनाको भनाइ छ।
‘केही गन्तव्य मुलुकहरूले आफ्नो राष्ट्रिय कानुनअनुसार २ केजीभन्दा बढी तौलका पुस्तकलाई बुक पोस्टका रूपमा स्वीकार नगरी पार्सलका रूपमा मात्र स्वीकार गर्ने व्यवस्थासँग हालको समस्या सम्बन्धित रहेको जानकारी प्राप्त भएको छ,’ मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘त्यसकारण त्यस्ता मुलुकमा पठाइएका सामग्री फिर्ता हुन सक्ने वा अतिरिक्त शुल्क लाग्न सक्ने जोखिम रहन सक्छ।’
जोखिम लिन तयार भए पठाउन कुनै अवरोध छैन
गन्तव्य मुलुकको नियमका कारण फिर्ता हुन सक्ने वा थप शुल्क लाग्न सक्ने जोखिम भए पनि पठाउने व्यक्ति आफैँ उक्त जोखिम वहन गर्न तयार भएमा सामग्री पठाउन नेपाल हुलाकले नरोक्ने मन्त्रीले प्रस्ट पारेका छन्।
‘सम्बन्धित प्रेषक जोखिम वहन गर्न तयार भएमा नेपाल हुलाक सेवातर्फबाट त्यस्ता सामग्री अन्तर्राष्ट्रिय प्रणालीमार्फत प्रेषण गर्न कुनै अवरोध छैन,’ उनले भनेका छन्।
पुस्तक, अध्ययन र ज्ञानको प्रवाहलाई सहज बनाउने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यस सम्बन्धमा प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै आवश्यक परे सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपालको धारणा प्रस्तुत गरिने प्रतिबद्धता जनाएका छन्।
उनले तथ्यमा आधारित सूचना आदानप्रदान गर्न र भ्रमबाट सचेत रहन आम नागरिकलाई आग्रह समेत गरेका छन्।
प्रतिक्रिया 4