२३ साउन, काठमाडौं । फिनटेक एलायन्स नेपाल (फ्यान) को आयोजनामा आगामी असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी कक्ष र दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ रहनेछन् ।
यस वर्षको प्रदर्शनीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, इम्बेडेड फाइनान्स र लेन्डिङ टेक्नोलोजीजस्ता अत्याधुनिक फिनटेक सोलुसनहरू प्रस्तुत गरिनेछन् ।
साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र उत्पादनहरूको औपचारिक लन्च तथा रिभिल गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
आयोजकले यस संस्करणमा ६ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र बैंक, वित्तीय संस्था, नियामक निकाय, लगानीकर्ता तथा प्रविधि स्टार्टअपहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छन् ।
व्यापारीक साझेदारी र नेटवर्किङलाई प्राथमिकता दिँदै एक्स्पोको पहिलो दिन विशेष ‘नेटवर्किङ डिनर’ तथा पहिलो पटक ‘प्रिमियम लाउन्ज’ को व्यवस्था गरिएको छ ।
प्रदर्शनीलाई व्यवस्थित बनाउन साधारण टिकट मूल्य २०० र विद्यार्थीहरूका लागि ५० रुपैयाँ तोकिएको छ भने ‘खल्ती’ लाई आधिकारिक टिकटिङ पार्टनर बनाइएको छ ।
नेपालको फिनटेक इकोसिस्टम र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको यस प्रदर्शनीमा कर्पोरेटदेखि अन्तर्राष्ट्रिय प्रदर्शकहरूका लागि विभिन्न स्टल तथा सहकार्यका अवसरहरू खुला गरिएको छ ।
प्रतिक्रिया 4