+
+
Shares

एनसेल बिजनेसले ल्यायो ‘क्लाउडसुइट’, वेब होस्टिङ र डोमेन सेवा एउटै प्लेटफर्ममा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले व्यवसाय, स्टार्टअप र उद्यमीहरूलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा औपचारिक रूपमा सुरु गरेको छ।
  • यो प्लेटफर्ममार्फत ग्राहकले डोमेन दर्ता र वेबसाइट होस्टिङ सेवा नेपाली मुद्रामै भुक्तानी गरी लिन सक्ने व्यवस्था गरिएको छ।
  • एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले यो सेवाले नेपाली व्यवसायलाई बलियो डिजिटल उपस्थिति निर्माण गर्न सहयोग पुग्ने बताएका छन्।

२६ साउन, काठमाडौं ।  एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थालाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।

स्थानीय रूपमा समर्थित यो प्लेटफर्ममार्फत ग्राहकले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एउटै ठाउँबाट लिन सक्नेछन्। नेपाली व्यवसाय डिजिटल माध्यममा रूपान्तरण भइरहेका बेला तथा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने वेब पूर्वाधारको आवश्यकता बढिरहेको अवस्थामा सेवा सुरु गरिएको एनसेलले जनाएको छ।

क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थितिको व्यवस्थापन गर्न सक्नेछन्। यसमा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायत सुविधा समावेश छन्।

नेपाली मुद्रामै भुक्तानी

एनसेलले व्यवसायको आवश्यकता र विकासको चरणअनुसार विभिन्न वेब होस्टिङ विकल्प उपलब्ध गराएको छ। विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै ग्राहकले अब नेपाली मुद्रामै सेवा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

एनसेलले क्लाउडसुइटका लागि बेसिक र प्रो गरी दुईवटा प्याकेज उपलब्ध गराएको छ। मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू उपलब्ध छन्।

त्यस्तै, मासिक २ हजार रुपैयाँ पर्ने प्रो प्याकेजमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँचवटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू समावेश छन्।

डेटा नेपालमै रहने

एनसेल बिजनेस क्लाउडसुइटमार्फत वेबसाइट होस्ट गर्दा ग्राहकको डेटा नेपालभित्रै होस्ट हुने कम्पनीले जनाएको छ। यसबाट व्यवसायले आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्ति देशभित्रै राख्न सक्नेछन्।

कम्पनीका अनुसार यसले व्यवसायलाई आफ्नो डेटामाथि थप नियन्त्रण कायम गर्न र नियामकीय आवश्यकताहरू पूरा गर्नसमेत सहज बनाउनेछ। एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइट नेपालका व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग गर्ने बताए।

उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल यात्राका आधारभूत आवश्यकता हुन्। स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङलाई जोडेर व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहयोग गर्ने उद्देश्यले सेवा सुरु गरिएको उनले बताए।

कम्पनीका अनुसार क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवालाई प्राथमिकता दिइएको छ। यी सेवा डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि आधारभूत आवश्यकता भएकाले पहिलो चरणमा तिनै क्षेत्रमा केन्द्रित गरिएको एनसेलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?