News Summary
Generated by OK AI. Editorially reviewed.- भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
- एक्स्पोमा डेन्जा बी५, एमजी मेजेस्टर र हुन्डाई आयोनिक ९ लगायतका प्रिमियम लक्जरी सवारीसाधन विशेष आकर्षणका रूपमा रहेका छन् ।
- नेपाली बजारमा महँगा र प्रिमियम सवारीसाधनमा पनि विद्युतीय तथा हाइब्रिड प्रविधिको प्रयोग बढ्दै गएको एक्स्पोले देखाएको छ ।
२८ साउन, काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा महँगा तथा प्रिमियम गाडी आकर्षणको केन्द्र बनेका छन् । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
एक्स्पोमा करिब १९ लाखदेखि झन्डै ३ करोड रुपैयाँसम्म मूल्य पर्ने गाडी राखिएका छन् ।
डेन्जा बी५ : २ करोड ९७ लाख
एक्स्पोमा राखिएका कारमध्ये (डेन्जा बी५) सबैभन्दा महँगो कार हो । नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले यो प्रिमियम लक्जरी एसयूभी प्रदर्शनमा राखेको हो ।
कम्पनीले डेन्जा बी५ को मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ । यो कार डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ ।

डेन्जा बी५ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग विद्युतीय मोटर जडान गरिएको छ । इन्जिनले १८१ एचपी पावर र २६० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ३१.८ किलोवाट-घण्टा क्षमताको एलएफपी ब्याट्री दिइएको छ ।
अल-ह्विल ड्राइभ सिस्टममा उपलब्ध यो एसयूभीमा अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको विद्युतीय मोटर छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट छ ।
कम्पनीका अनुसार यसले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४.८ सेकेन्डमा लिन सक्छ । यसको अधिकतम गति २ सय १० किलोमिटर प्रतिघण्टा छ । फुल ट्यांक इन्धन र फुल चार्ज ब्याट्रीमा यसले ८ सय ५० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।
एमजी मेजेस्टर : २ करोड ५० लाख
एमजीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ ।
मेजेस्टरमा २.० लिटर ट्विन-टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसले २१५.५ पीएस पावर र ४७८.५ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ८-स्पिड अटोमेटिक गियरबक्स दिइएको छ ।

यो एसयूभी रियर-ह्विल ड्राइभ र फोर-ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध छ । फोर-ह्विल ड्राइभ मोडेलमा १० वटा अफरोड ड्राइभिङ मोड, ट्रिपल डिफरेन्सियल लक र क्रुज कन्ट्रोलजस्ता सुविधा छन् ।
मेजेस्टरमा २१९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । यसलाई ८१० मिलिमिटरसम्म गहिरो पानीमा पनि चलाउन सकिने कम्पनीको दाबी छ ।
सुरक्षाका लागि यसमा लेभल-२ एडीएएस, ३६० डिग्री क्यामेरा र विभिन्न ड्राइभिङ एसिस्ट फिचर छन् । भित्री भागमा दुई वटा १२.३ इन्च स्क्रिन, थ्री-जोन क्लाइमेट कन्ट्रोल, १२ स्पिकरको साउन्ड सिस्टम, हिटेड तथा भेन्टिलेटेड सिट र मसाज सिट दिइएको छ ।
हुन्डाई आयोनिक ९ : २ करोड १९ लाख ९६ हजार
हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक ९’ बिक्रीका लागि सार्वजनिक गरेको छ । यसको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
सात सिट क्षमताको आयोनिक ९ हुन्डाईको प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यसमा ११० किलोवाट–घण्टा क्षमताको ब्याट्री र १६० किलोवाटको विद्युतीय मोटर दिइएको छ ।
डब्लूएलटीपी परीक्षण अनुसार आयोनिक ९ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । ३५० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट लाग्ने कम्पनीको भनाइ छ ।

आयोनिक ९ मा रियर-ह्विल ड्राइभ र डुअल मोटर सहित अल-ह्विल ड्राइभ विकल्प उपलब्ध छ । यसमा पिक्सेल डिजाइनका एलईडी लाइट, डिजिटल ककपिट, डुअल प्यानारोमिक डिस्प्ले, मल्टिजोन क्लाइमेट कन्ट्रोल, डिजिटल की, ३६० डिग्री क्यामरा र एडीएएस जस्ता सुविधा छन् ।
टोयोटा र्याभ ४ हाइब्रिड : २ करोड १३ लाख
टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा एक्स्पोमा र्याभ ४ हाइब्रिड सार्वजनिक गरेको छ । यसको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ ।
र्याभ ४ हाइब्रिडमा २.५ लिटरको चार सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरिएको छ । इन्जिन र विद्युतीय मोटरको संयुक्त पावर २४० पीएस छ ।
यो सेल्फ-चार्जिङ हाइब्रिड प्रविधिमा आधारित एसयूभी हो । यसको ब्याट्री वाह्य चार्जरबाट चार्ज गर्नुपर्दैन । गाडी चलाउँदा तथा ब्रेक लगाउँदा ब्याट्रीमा ऊर्जा सञ्चित हुन्छ ।

नयाँ र्याभ ४ मा अघिल्लो मोडेलको तुलनामा डिजाइन, प्रविधि र सुरक्षा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ ।
टोयोटा हाइलक्स : १ करोड ५५ लाख
टोयोटाले एक्स्पोमा नयाँ हाइलक्स पनि सार्वजनिक गरेको छ । यसको मूल्य १ करोड ५५ लाख रुपैयाँ तोकिएको छ ।
हाइलक्स बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय पिकअप गाडी हो । नयाँ संस्करणमा बाहिरी डिजाइन, प्रविधि र आरामदायी सुविधामा सुधार गरिएको छ ।

यसमा बलियो च्यासिस, उच्च ग्राउन्ड क्लियरेन्स र कठिन सडकमा चलाउन मिल्ने क्षमता छ । नेपालमा विशेषगरी पहाडी तथा अफरोड यात्राका लागि हाइलक्सको माग रहँदै आएको छ ।
एमजी एचएस प्लग-इन हाइब्रिड : १ करोड २० लाख
एमजीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी एचएस प्लग–इन हाइब्रिड बिक्री सुरु गरेको छ । यसको मूल्य १ करोड २० लाख रुपैयाँ तोकिएको छ ।
एमजी एचएसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग १३५ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । दुवैको संयुक्त पावर २९५ बीएचपी छ ।
यसले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ६.१ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ । यसको विद्युतीय रेन्ज १ सय २० किलोमिटर छ ।

एमजी एचएसमा ५ सय ७ लिटरको बुट स्पेस, १२.३ इन्चका दुई वटा स्क्रिन, १९ इन्चको एलोय ह्विल, हिटेड लेदरेट सिट, भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री क्यामरा, हेड-अप डिस्प्ले र वायरलेस चार्जिङ सुविधा छन् ।
कम्पनीले मोटरमा पाँच वर्ष वा १ लाख किलोमिटर तथा ब्याट्रीमा आठ वर्ष वा डेढ लाख किलोमिटर वारेन्टी दिएको छ ।
बीएआईसी बीजे३०ई : १ करोड १९ लाख ९६ हजार
चिनियाँ ब्रान्ड बीएआईसीको हाइब्रिड एसयूभी बीजे३०ई पनि नाइमा एक्स्पोमा सार्वजनिक गरिएको छ । लक्ष्मी मोटरले ल्याएको यो गाडीको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

बीजे३०ईमा पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन गरिएको छ । हाइब्रिड प्रविधिका कारण यसले पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्ने कम्पनीको दाबी छ ।
यसमा बक्सी डिजाइन, एलईडी लाइट, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानारोमिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेनमेन्ट स्क्रिन र एडीएएस सुविधा छन् ।
०००
समग्रमा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखिएका सात लक्जरीमध्ये चार गाडी हाइब्रिड वा प्लग-इन हाइब्रिड प्रविधिमा आधारित छन् भने दुई पूर्ण विद्युतीय गाडी छन् ।
यसले नेपालमा महँगा गाडीको बजार पनि बिस्तारै विद्युतीय र हाइब्रिड प्रविधितर्फ अघि बढिरहेको देखाउँछ ।
एक्स्पोमा सबैभन्दा महँगो कार डेन्जा बी५ हो । त्यसपछि एमजी मेजेस्टर र हुन्डाई आयोनिक ९ क्रमश: महँगा र लक्जरी कारका रूपमा देखिएका छन् । नाइमा एक्स्पोमा महँगा कारसँगै १९ लाख रुपैयाँ आसपासका किफायती विद्युतीय गाडी पनि छन् ।
प्रतिक्रिया 4