+
+
Shares

कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानूनमन्त्री सोबिता गौतमले कारागारलाई दण्ड दिने थलोको सट्टा सुधार गृहको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
  • उनले कारागारमा रहेका १८ देखि ५९ वर्ष उमेर समूहका २६ हजार २९ जना कैदीबन्दीको श्रम र क्षमतालाई उत्पादनशील कार्यमा जोड्नुपर्नेमा जोड दिइन् ।
  • मन्त्री गौतमले 'जेन–जी' आन्दोलनकारीसँग भएको सहमतिलाई जनआन्दोलनका रूपमा स्वीकार गर्दै राजनीतिक सहमतिको पालना गर्नु राज्यको साझा दायित्व भएको बताइन् ।

२९ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनीतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी हुन् ।

मन्त्री गौतमले कारागार निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै कारागारको विद्यमान अवस्था र कानुनी सुधारको आवश्यकता औंल्याइन् ।

कारागार व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क प्रश्तुत गर्दै उनले हाल कारागारहरूमा १८ देखि ५९ वर्ष उमेर समूहका २६ हजार २९ जना कैदीबन्दी रहेको जानकारी दिइन् । उनका अनुसार, एक कैदीबन्दीका लागि राज्यले वार्षिक औसत १ लाख ३५ हजार रुपैयाँ खर्च गर्दै आएको छ ।

जसअनुसार यो उमेर समूहका लागि मात्रै वार्षिक ३ अर्ब ५१ करोड ३९ लाख १५ हजार रुपैयाँ खर्च भइरहेको छ ।

‘१८ देखि ५९ वर्ष उमेर समूहका २६ हजार २९ जना कैदीबन्दी रहेका छन् । एक जना कैदीबन्दीका लागि प्रतिवर्ष अनुमानित १ लाख ३५ हजार रुपैयाँ खर्च हुने भएकाले राज्यले उनीहरूको पालनपोषणमा मात्रै वार्षिक करिव ३ अर्ब ५१ करोड ३९ लाख १५ हजार रुपैयाँ खर्च गरिरहेको छ । यससँगै, अधिकांश कैदीबन्दी कारागारभित्र निष्क्रिय जीवन बिताइरहेका छन् । १८ देखि ५९ वर्षको ठूलो जनशक्ति उत्पादनशील उमेरमा रहे पनि कारागारमा उनीहरूको क्षमता र श्रमको उपयोग हुन सकेको छैन,’ मन्त्री गौतमले भनिन् ।

कारागार ऐन, २०७९ आएपनि त्यो अझै समयसापेक्ष हुन नसकेको स्वीकार गर्दै मन्त्री गौतमले यसलाई परिमार्जन गर्ने तयारी भइरहेको बताइन् । प्रतिशोधपूर्ण न्याय भन्दा पनि सुधारमूलक र पुनर्स्थापनामुखी न्याय प्रणालीमा जोड दिनुपर्ने धारणा राखिन् ।

मन्त्री गौतमले २०८२ मंसिर २५ गते सरकार र ‘जेन–जी’ आन्दोलनकारी पक्षबीच भएको सहमतिको विषयमा पनि स्पष्ट पारिन् ।

उक्त आन्दोलनलाई सरकारले जनआन्दोलनको रूपमा स्वीकार गरिसकेको उल्लेख गर्दै उनले राजनीतिक सहमतिको पालना गर्नु राज्यको साझा दायित्व भएको बताइन् ।

‘नेपाल अहिले जनसांख्यिक लाभांश  लिनसक्ने महत्वपूर्ण चरणमा छ । यस्तो अवस्थामा २६ हजारभन्दा बढी उत्पादनशील उमेरका नागरिक कारागारमा रहनु राज्यका लागि सकारात्मक संकेत होइन,’ उनले भनिन्, ‘त्यसैले कैदीबन्दीको अधिकार र कानुनी व्यवस्थाको सम्मान गर्दै उनीहरूको सीप, श्रम र क्षमतालाई उत्पादनशील कार्यमा जोड्ने तथा पुन:स्थापना र उत्पादकत्व वृद्धि गर्ने दिशामा सोच्न आवश्यक छ। यसले राज्यको आर्थिक भार घटाउनुका साथै उनीहरूलाई समाजमा पुन:स्थापित गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।’

राज्यले गरेको सम्झौता उल्लंघन भएमा आगामी दिनमा कुनैपनि असन्तुष्टिलाई शान्तिपूर्ण मार्गमा ल्याउन कठिन हुने उनको भनाइ थियो । ‘यो कुनै दलीय विषय होइन, समाजलाई द्वन्द्वबाट संवैधानिक ट्रयाकमा फर्काउने प्रयास हो । त्यसैले सबै पक्षले यसलाई राजनीतिक सहमतिकै रूपमा ग्रहण गर्नुपर्छ,’ मन्त्री गौतमले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?