News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत भेटिएका भूमिहीन हिरा हजारा दुषाधको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गर्न परिवार र संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले माग गरेका छन् ।
- मोर्चाले घटनालाई 'संरचनात्मक हत्या' भन्दै राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र निकायबाट छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतकलाई शहिद घोषणा गर्न आग्रह गरेको छ ।
- सरकारले गत वैशाखमा सुकुमवासी बस्तीमा डोजर चलाएपछि हालसम्म ज्यान गुमाउने भूमिहीनको संख्या नौ पुगेको भन्दै मोर्चाले राज्यको दमन बन्द गर्न समेत माग गरेको छ ।
१ भदौं, काठमाडौं । गत साउन २८ गते हिरा हजारा दुषाध (पासवान) भूमिहीन सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टर मृत भेटिए । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा झुण्डिएको अवस्थामा भेटिएका पासवानको ज्यान गएको घट्नाको छानविन हुनुपर्ने परिवार तथा भूमिहीनहरूको माग छ ।
५७ वर्षीय पासवानको थापाथलीस्थित सुकुमवासी बस्तीको घर गत वैशाखमा सरकारले डोजर लगाएर भत्कायो । घर भत्किएपछि उनको परिवार कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुग्यो । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबेपछि डोजरबाट जोगाएर ल्याएको बचेखुचेका सामान पनि सबै भिजे । त्यसपछि उनीहरूलाई बोडे होल्डिङ सेन्टर सारियो ।
‘उहाँको घर डोजरले भत्काएको थियो, बाँकी रहेका सामान बाढीले बगाएको थियो र राज्यको तर्फबाट निरन्तर मानसिक दवाव र निराशा बाहेक केही मिलेको थिएन,’ संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाद्वारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ । पासवानका श्रीमती, छोरा, बुहारी, दुई नातिनी र एक जना नाती छन् । उनको ज्यान गएपछि पनि परिवारले राज्यबाट सहानुभूति पाउनुको सट्टा लछारपछार र दुर्व्यहार भोग्नु परेको मोर्चाले जनाएको छ ।

‘शोकमा डुबेका स्वर्गीय हिरा हजरा दुषाधको परिवारलाई सान्त्वना र सहयोग गर्नुको साटो, सरकारले दवावमुलक तरिकाले जबर्जस्ती पोष्टमार्टम गरी रातारात बारा पु¥याएर दाहसंस्कार गर्न बाध्य पार्यो,’ मोर्चाले भनेको छ, ‘पीडित परिवारसँग संवाद गर्न खोज्ने सहजकर्ता र अभिभावकहरूलाई प्रहरीले लछारपछार गरी राज्यले बर्बरता प्रदर्शन गरेको छ ।’
मोर्चाका कार्यवाहक अध्यक्ष लिलाबहादुर तामाङ र महासचिव अर्जुन कुँवरद्वारा जारी विज्ञप्तीमा पासवानको ‘संरचनात्मक हत्या’ भएको उल्लेख छ । यो विषयमा राष्ट्रिय मानव अधिकार आयोग वा अन्य स्वतन्त्र निकायले छानविन गर्नुपर्ने परिवारका सदस्यहरूको माग छ ।
बस्तीमा डोजर लगाउनु अघि सरकारले व्यवस्थापनको सबै तयारी पुरा गरेको दाबी गरेको थियो । तर होल्डिङ सेन्टरदेखि प्रमाणीकरणसम्म आईपुग्दा सरकारको तयारी शुन्य रहेको देखियो । त्यसमाथि सरकारले नागरिकता हेरेर दशकौं पहिले छाडीसकेको ठेगानामा पठाउन थाले । त्यसपछि भूमिहीनहरू निराश बन्न थालेको होल्डिङ सेन्टरमा बस्दै आएकाहरू बताउँछन् ।

‘हिरालाल दुषाध पासवानले आत्महत्या गर्नुपर्ने अवस्था कसरी आयो ? उहाँमाथि कुनै प्रशासनिक, सामाजिक वा मानसिक दवाव थियो कि थिएन ? होल्डिङ सेन्टरको अवस्था कस्तो थियो ?,’ परिवारका सदस्यहरूको माग छ, ‘विस्थापन वा स्थानान्तरणको प्रक्रियामा सम्बन्धित निकायबाट कुनै गैरकानुनी वा अमानवीय व्यवहार भयो कि भएन ? यो विषयमा मानव अधिकार आयोग वा स्वतन्त्र छानबिन समिति मार्फत् निश्पक्ष छानबिन गरियोस् ।’

मोर्चाले पासवानलाई भूमिहीन शहिद घोषणा गर्न, भौतिक संरचनाको उचित क्षतिपुर्ति र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ । मोर्चाले भनेको छ, ‘सुकुमवासी र भूमिहीनमाथि गरिने डोजर आतङ्क तत्काल बन्द गरी भूमि सम्बन्धी ऐन २०२१ बमोजिम सम्पूर्ण सुकुमवासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुरक्षित गरियोस् ।’ पासवानसँगै सरकारले गत वैशाखमा डोजर चलाए यता ज्यान गुमाउने भूमिहीनको संख्या ९ जना पुगेको छ । मोर्चाका अनुसार इन्द्रबहादुर राई, रविन तामाङ, कमला बलाम्पाकी, हिरा पुन, भेषबहादुर दर्जी, रतनदेवि मलाहानी, उज्जवल तामाङ, पार्वती बिक र पासवानको ज्यान गएको हो ।

प्रतिक्रिया 4