News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा दुई दिने जेनेरेटिभ एआई तालिम सम्पन्न भएको छ ।
- सोट्टो-नेपाल, नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा आयोजित तालिममा पर्यटन क्षेत्रका ३३ प्रतिनिधि सहभागी भएका छन् ।
- तालिममा सहभागीलाई डिजिटल मार्केटिङ, सामग्री निर्माण र ग्राहक सेवा सुधारमा एआईको प्रभावकारी प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान गरिएको छ ।
२ भदौ, काठमाडौं । पर्यटन क्षेत्रका व्यवसायी तथा पेसाकर्मीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘दुई दिने जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई) क्षमता अभिवृद्धि तालिम’ काठमाडौंमा सम्पन्न भएको छ ।
सोट्टो-नेपालले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा १६-१७ अगस्ट २०२६ मा तालिम आयोजना गरेको हो ।
तालिममा पर्यटन क्षेत्रका ३३ प्रतिनिधि सहभागी थिए जसमा ८ महिला र २५ पुरुष छन् । तालिम मार्फत सहभागीलाई पर्यटन व्यवसाय तथा पेसागत कार्यमा जेनेरेटिभ एआईको प्रभावकारी प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान र सिप प्रदान गरिएको थियो ।
तालिमका प्रमुख विषयमा डिजिटल मार्केटिङ तथा पर्यटन प्रवर्द्धन, एआई मार्फत सामग्री निर्माण, व्यावसायिक सञ्चार तथा लेखन, कार्यक्षमता र उत्पादकत्व वृद्धि, ग्राहक सेवा सुधार तथा पर्यटन व्यवसायमा एआईका व्यावहारिक प्रयोग समावेश थिए ।
कार्यक्रम सोट्टो-नेपाल अध्यक्ष मानबहादुर शाहीले एआईसम्बन्धी ज्ञानले पर्यटन व्यवसायीलाई व्यावहारिक तथा प्रभावकारी पर्यटन योजना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, यस्ता तालिम लुम्बिनी र जनकपुरमा समेत सञ्चालन गरिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले एआई आजको महत्त्वपूर्ण प्रविधि भएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा यसको प्रयोगले सेवा गुणस्तर अभिवृद्धि हुने बताए ।
उनले पर्यटन व्यवसायीलाई नयाँ प्रविधिसँग अभ्यस्त भई पर्यटन सेवामा नवप्रवर्तन ल्याउन आग्रह गरे । दिगो र प्रविधिमैत्री पर्यटन विकासका लागि यस्ता तालिमले पर्यटन क्षेत्रका व्यवसायी तथा पेसाकर्मीको क्षमता वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4