+
+
Shares

लुम्बिनी प्रदेश सांसद पाण्डेयलाई जसपा नेपालले सोध्यो स्पष्टीकरण

जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना प्रदेशसभा सदस्यलाई सोहीअनुसार मतदान गर्न निर्देशन दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १६:१३

२ भदौ, बुटवल । जनता समाजवादी पार्टी(जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी निर्णयविपरीत मतदान गरेको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण मागेको छ ।

जसपा केन्द्रीय कार्यालयले पाण्डेयलाई पत्र पठाउँदै पार्टीको निर्देशन उल्लंघन भएको भन्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार  प्रदेशसभामा विश्वासको मत लिएका थिए । त्यसअघि जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना प्रदेशसभा सदस्यलाई सोहीअनुसार मतदान गर्न निर्देशन दिएको थियो ।

तर, विश्वासको मतसम्बन्धी मतदानमा पाण्डेय सरकारको पक्षमा उभिएको भन्दै पार्टीले त्यसबारे जवाफ मागेको हो । केन्द्रीय कार्यालयले पाण्डेयको उक्त कदम पार्टीको नीति, निर्णय र निर्देशनसँग मेल नखाएको जनाएको छ ।

पार्टीले पाण्डेयलाई चार विषयमा स्पष्ट हुन भनेको छ । निर्देशन हुँदाहुँदै सरकारको पक्षमा मतदान गर्नुको कारण, पार्टीको निर्णयविपरीत मतदान गरेर अनुशासन उल्लंघन भएको हो वा होइन भन्ने विषय तथा पार्टी विधानअनुसार कारबाही हुनुपर्ने वा नपर्नेबारे उनको धारणा मागिएको छ ।

जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमा तोकिएको समयभित्र स्पष्टीकरण नआए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधान र प्रचलित निर्णयअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

पाण्डेयमाथि स्पष्टीकरण मागिएसँगै लुम्बिनी प्रदेशमा जसपाभित्र सरकारलाई दिएको समर्थन र विश्वासको मतका विषयमा देखिएको मतभेद औपचारिक विवादमा परिणत भएको छ ।

अब पाण्डेयले दिने जवाफका आधारमा पार्टीले थप राजनीतिक तथा संगठनात्मक कदम चाल्ने देखिएको छ ।

यस्तो छ स्पष्टीकरण पत्र : 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?