काठमाडौं । वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपको मद्दतले फेला परेका साना र राता आकाशीय पिण्ड ‘लिटिल रेड डट्स’ को रहस्यबारे नयाँ तथ्य पत्ता लगाएका छन्। सन् २०२२ मा पहिलोपटक देखिएका यी पिण्डहरू वास्तवमा के हुन् भन्ने विषयमा लामो समयदेखि अध्ययन भइरहेको थियो।
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको टोलीले यस विषयमा नयाँ अध्ययन सार्वजनिक गरेको छ। यो अध्ययन ‘द एस्ट्रोफिजिकल जर्नल’ मा प्रकाशित भएको छ। अनुसन्धान अनुसार यी राता थोप्लाहरू छुट्टै प्रकारका तारापुञ्ज (ग्यालेक्सी) होइनन्। यो ब्ल्याक होलको एक अस्थायी चरण मात्र हुन सक्छ।
वैज्ञानिकहरूले यसको अध्ययन गर्न पृथ्वीबाट नजिक रहेको एउटा घुमाउरो तारापुञ्जको सहारा लिएका थिए। यसको नाम ‘सागुआरो’ राखिएको छ। यस तारापुञ्जको केन्द्रमा एउटा सानो र रातो पिण्ड छ। यो पिण्ड प्रारम्भिक ब्रह्माण्डमा देखिएका ‘लिटिल रेड डट्स’ सँग धेरै मिल्दोजुल्दो छ।
वैज्ञानिकहरूले हबल र जेम्स वेब टेलिस्कोपको डाटाहरू मिलाएर यसको विस्तृत अध्ययन गरेका थिए। धेरै टाढा भएका कारण वरपरका संरचनाहरू धमिलो देखिने र बीचको चम्किलो भाग मात्रै देखिने हुँदा यी थोप्लाहरू एक्लो जस्ता देखिएका हुन्।
चन्द्रा एक्स-रे अब्जर्भेटरीको मद्दतले अध्ययन गर्दा यसको केन्द्रमा एक सक्रिय ब्ल्याक होल रहेको पुष्टि भएको छ। यसले कम मात्र एक्स-रे विकिरण बाहिर पठाउँछ। यस अध्ययनले ब्ल्याक होलको विकासक्रम बुझ्न ठूलो मद्दत पुर्याएको छ। वैज्ञानिकहरूले यस्ता अन्य तारापुञ्जहरूको खोज र अनुसन्धानलाई जारी राख्ने बताएका छन्।
प्रतिक्रिया 4