३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा प्रस्तावित ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोक्ने घोषणा गरेका छन्।
ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै लेखेका छन्, ‘मैले क्यानाडामाथि लाग्ने ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोकेको छु। यो ट्यारिफ भोलि बिहानदेखि कार्यन्वयन हुनेवाला थियो। कागजातहरूलाई अन्तिम रूप दिएपछि क्यानाडा र अमेरिकाबीच सम्झौता भएकाले यसलाई रोक्ने निर्णय लिइएको हो।’
क्यानाडाको सामानमा नयाँ ट्यारिफ लागू हुन दुई घण्टाभन्दा कम समय बाँकी छँदा यो घोषणा भएको हो।
अमेरिकी अटोमोबाइलमा लगाइएको ट्यारिफ र क्यानाडाका धेरै प्रान्तहरूले अमेरिकी रक्सीको बिक्रीमा लगाएको रोक जस्ता धेरै मुद्दाहरूलाई लिएर दुवै देशबीच लामो समयदेखि विवाद चलिरहेको थियो।
ट्रम्प र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीबीच यो हप्ता दुई पटक कुराकानी भएको छ। दुवै देशका वार्ताकारहरू जुलाईदेखि नै छलफलमा जुटेका छन्। ट्रम्पले १९ अगस्टको समयसीमा तय गर्दै नयाँ ट्यारिफको चेतावनी दिएका थिए।
अर्कोतर्फ कार्नीले सोसल मिडिया प्लेटफर्म एक्समा जारी गरेको एउटा पत्रमा लेखेका छन्, ‘वार्तामा महत्त्वपूर्ण प्रगति भएको छ, यद्यपि अझै केही महत्वपूर्ण काम बाँकी छ।’
प्रतिक्रिया 4