+
+
Shares

सम्पत्ति छानबिन प्रतिवेदन र भोट फिर्ताको प्रश्नमा झोक्किए गृहमन्त्री गुरुङ

'जोक गरेको कुरालाई यत्रो ठुलो बनाएर काण्ड बनाउने हो ?'

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले गोरखाका मतदातासँग ‘भोट फिर्ता लैजान’ भनेको विषयमा प्रश्न गर्दा पत्रकारसँग झोक्किएका छन्।
  • रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसद र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर छलफल गरेका छन्।
  • गोरखाको शहीद लखन गाउँपालिका–९ का बासिन्दाले चुनावी वाचा पूरा गर्न माग गर्दा गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै ‘भोट फिर्ता’ लैजान भनेका थिए।

३ भदौ, काठमाडौं । सञ्चारकर्मीले सोधको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङ झोक्किएका छन् ।

गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक किन नगरेको भन्ने प्रश्मा उनी झोक्किएका हुन् । अनि गोरखाका मतदातालाई ‘भोट फिर्ता लैजान’ भनेको भनेर प्रश्न सोध्दा गृहमन्त्री गुरुङले ‘आफ्ना मतदातासँग जोक गर्न पनि नपाउनु ?’ भनेर प्रतिप्रश्न गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर छलफल गरेका छन् । उक्त छलफल सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको हो ।

छलफलमा गृहमन्त्री गुरुङ पनि थिए । त्यहाँबाट बाहिरिने क्रममा गृहमन्त्री गुरुङलाई पत्रकारहरूले प्रश्न गरेका थिए ।

यस्तो छ गृहमन्त्रीसँग सञ्चारकर्मीको सवालजवाफ

सञ्चारकर्मी : भोट फिर्ता कसरी लिन मिल्ने रहेछ ?, फेरि चुनाव गर्ने हो कि ?

गृहमन्त्री : जोक गरेको कुरालाई यत्रो ठुलो बनाएर काण्ड बनाउने हो ?

सञ्चारकर्मी : यो जोक गर्ने विषय हो ?

गृहमन्त्री : हामी त्यहाँ भित्र भित्र गएर सल्लाह गरेको कुरा जोक हैन त ? हामी आफ्नै पार्टीका मान्छे हौं त्यहाँ ।

सञ्चारकर्मी : तपाईको प्रतिवेदन कहिले सार्वजनिक गर्ने ?

गृहमन्त्री : तपाईंलाई ल्याएर देखाउँछु म ।

केही दिन अगाडि गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका थिए । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका थिए ।

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन् ।

हरेक महिना गृहजिल्ला जाने पूर्वघोषित कार्यक्रम अनुसार उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाट गरेका थिए ।

आइतबार बेलुका गृहमन्त्री गुरुङ शहीद लखन गाउँपालिका वडा नम्बर ९ का मतदातासँगको भेटघाटमा थिए । सो भेटमा वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछाने लगायत पनि सहभागी थिए ।

रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको गुरुङलाई सम्झाए । गुरुङले त्यसमा ‘हो’ भनेर सहमति पनि जनाए ।

तर वाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरु भोट फिर्ता लैजान भनेका हुन् ।

यसबारे बुधबार पत्रकारले प्रश्न सोध्धा गृहमन्त्री गुरुङ झोक्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?