+
+
Shares

अम्बा खेतीले बदलेको सिर्जनाको दैनिकी, एक सिजनमै साढे दुई लाख आम्दानी   

‘व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब  दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ विष्टले भनिन् ।

रासस रासस
२०८३ भदौ ४ गते ६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेको खजुरा गाउँपालिका–२ की सिर्जना खत्री विष्टले एक बिगाहा खेतमा ताइवानी अम्बा लगाएर सिजनमा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन्।
  • विष्टले अम्बा खेतीमा धान र तोरीभन्दा कम मेहनत लाग्ने र बजार समस्या नभएको भन्दै खेती विस्तार गर्ने योजना बनाएकी छन्।
  • उनको बगैँचामा उत्पादित अम्बा मुख्य रूपमा नेपालगञ्ज बजारमा बिक्री हुँदै आएको छ, र स्थानीयले पनि उनको खेतीको अनुसरण गर्न चासो देखाएका छन्।

४ भदौ, बाँके । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।

‘व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब  दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ विष्टले भनिन् । उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उनी सन्तुष्ट छिन् ।

‘अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन । त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौँ । अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,’ उनले भनिन् ।

भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गर्नुभएकी विष्टको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन् । केही स्थानीय जातका बिरुवा पनि लगाइएको छ । उत्पादन भएको अम्बालाई किरा र चराचुरुङ्गीबाट जोगाउन उनले फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अपनाएकी छन् ।

‘प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ, रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ,’ उनले भनिन् ।

अम्बाबाट व्यावसायिक आम्दानी लिन थालेको भने डेढ वर्ष मात्र भएको विष्टले सुनाइन् । धान र गहुँको तुलनामा अम्बा खेती गर्न सहज रहेको उनको अनुभव छ ।

‘बिस्तारै गर्दै जाँदा राम्रो होला भनेर सुरु गरेकी हुँ । अहिले ठीकठीकै आम्दानी भइरहेको छ, नराम्रो छैन,’ उनले भनिन् ।

अम्बा पाकेपछि प्रायः आफैँले टिप्ने गरेको उनी बताउँछिन् । ठेक्कामा बगैँचा दिँदा भने खरिदकर्ताले नै फल टिपेर लैजाने गरेका छन् । अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उनको अनुभव छ । बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफैँ आउने गरेका छन् । कतिपय ग्राहकले घरबाटै खरिद गर्ने गरेका छन् भने मुख्य रूपमा मण्डीका व्यापारीले खरिद गरी नेपालगञ्ज बजारमा लैजाने गरेका छन् ।

हाल विष्टको बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगञ्ज हो । परम्परागत खेतीबाट व्यावसायिक फलफूल खेतीतर्फ लागेकी उनी आगामी दिनमा अम्बा खेती विस्तार गर्दै आम्दानी बढाउने योजनामा छिन् ।

‘अहिलेको आम्दानीले हौसला बढाएको छ । मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,’ विष्टले भनिन् ।

उनको यो व्यावसायिक खेतीको स्थानीयस्तरमा प्रशंसा मात्रै भएको छैन, अन्यले समेत अनुसरण गर्ने सोच बनाएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?