+
+
Shares
पहिरोको त्रास :

खेत लगिसक्यो, घर छाडेर विस्थापित

पहिरोले करिब २५ रोपनीमा लगाइएको मकैसहितको खेतमा क्षति पुर्‍याएको छ । पहिरोका कारण रातापानीका सात परिवार पूर्णरूपमा विस्थापित भइसकेका छन् ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ भदौ ६ गते १७:३१

६ भदौ, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका गम्भीरसिंह बोहराको परिवारको बास १० दिनदेखि घरमा छैन । घरछेउबाट निरन्तर पहिरो झरिरहेपछि उनीहरू घरभित्र सुत्न पाएका छैनन् ।

तर, गम्भीरसिंहलाई घर गुम्ने डरभन्दा ठूलो पीडा गरिखाने खेत गुमेकामा छ ।

‘भोक मेटाउने एक मात्रै १३ रोपनी खेत पहिरोले पूरै बगायो । वर्षमा तीन खेती हुन्थ्यो,’ गम्भीरसिंह दुखेसो गर्छन्, ‘त्यो खेलमामा पाँच क्विन्टल मकै फल्थ्यो । जीवनको आधार त्यही थियो, पहिरोले सबै लग्यो ।’ आफू बेरोजगार रहेको बताउँदै उनले भने, ‘अब परिवार कसरी पाल्ने ?’

घरमा बस्न नसक्ने अवस्था बनेपछि गम्भीरसिंहको परिवार छिमेकीको घरमा आश्रय लिइरहेको छ । ‘पाँच छोराछोरीसहित सात जनाको परिवार छ । अब त पहिरोमै बाँचे पनि अगाडि दिनमा कसरी बाँच्ने भन्ने चिन्ता छ,’ उनले भने ।

साउन २६ गतेदेखि रातापानीमा निरन्तर पहिरो गइरहेको छ । पहिरोले करिब २५ रोपनीमा लगाइएको मकैसहितको खेतमा क्षति पुर्‍याएको छ । पहिरोका कारण रातापानीका सात परिवार पूर्णरूपमा विस्थापित भइसकेका छन् ।

स्थानीय रामसिंह बोहराका अनुसार पानी परेको समयमा जोखिममा रहेका परिवार घर छोडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था छ ।

‘१० दिनदेखि पहिरो बगेको बग्यै छ । पानी पर्नथाले सबैले घर छोडेर हिँड्नुपर्छ,’ उनले भने ।

पहिरोले आकार बढाउँदै गइरहेकाले थप घरहरू पनि जोखिममा रहेको अर्का स्थानीय कृष्ण बोहराले बताए । उनले भने, ‘२०७८ सालदेखि नै यहाँ निरन्तर पहिरो झर्ने गरेको छ । यसवर्ष अझै ठूलो रूप लियो ।’

उनका अनुसार यसवर्ष सात परिवार विस्थापित भइसकेका छन्  । अन्य थप १९ घर जोखिममा छन् ।

घरमात्रै असुरक्षित छैनन्, पहिरो बढ्दै गए नदी समेत थुनिने अवस्थामा छ ।

वर्षौंदेखि पहिरोका कारण घर र खेत बग्दै गएपछि स्थानीयले बस्ती नै सुरक्षित स्थानमा सार्न माग गर्दैआएका छन् ।

‘यो क्षेत्रको पहिरो नियन्त्रण हुने सम्भावना देखिँदैन,’ स्थानीय लालबहादुर बोहराले भने, ‘पहिरोको आकार बर्सेनि बढ्दैगएको छ । त्यसैले बस्तीलाई नै सुरक्षित स्थानमा सार्नुपर्छ ।’

बस्ती नै जोखिममा परेपछि शुक्रबार बैतडीकी प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वको टोलीले पहिरोक्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनपछि तत्काल जोखिममा रहेका सात परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुपर्ने प्रजिअ अर्यालले बताइन् ।

‘घरखेत बगिरहेको अवस्थामा मानिसलाई सुरक्षित स्थानमा सार्नु पहिलो दायित्व हो,’ उनले भनिन्, ‘तथ्यांक संकलन गरिसकेका छौं । सात परिवारलाई सुरक्षित स्थानमा सार्छौं ।’

सुर्नया गाउँपालिकाले पनि थप जोखिम हुन नदिन आवश्यक पूर्वतयारी थालेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जोखिममा रहेका बस्तीको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?