+
+
Shares

माछापालनले मक्ख वडा सदस्य, बर्सेनि लाखौं कमाउँदै

उनले जनप्रतिनिधिसँगै जिल्लामै नमूना किसानको पहिचान बनाएर माछाका पारखीलाई स्वाद चखाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १९:२०

६ भदौ, खोटाङ । आफ्नै माटोमा मेहनत गरे मनग्य आम्दानी गर्न सकिन्छ । जुन कुरा खोटाङको रावाबँेसी गाउँपालिका–५ दुबेकोलका तेजिन्द्र घिमिरेले पौरखले पुष्टि गरेको छ ।

घिमिरे रावाबेँशी गाउँपालिका–५ का वडा सदस्य पनि हुन् । जनप्रतिनिधिका रूपमा सक्रिय घिमिरेले व्यवसायिक रूपमा गाउँमै माछापालन गरेर लोभलाग्दो आम्दानीसहित उदाहरणीय काम गरिरहेका छन् ।

यही कारण उनले जनप्रतिनिधिसँगै जिल्लामै नमूना किसानको पहिचान बनाएर माछाका पारखीलाई स्वाद चखाइरहेका छन् ।

घिमिरेले आफ्नै परम्परागत खेतमा पोखरी बनाएर माछापालन गरिरहेका छन् । त्यहाँ उनले ६ वटा माछापोखरी बनाएका छन् । नजिकैको खोलाबाट पानी लगेर पोखरीमा हालिएको छ ।

उनको पोखरीमा ग्रास, कमन, रहु, नैनी र सिल्भर जातका माछा खेलिरहेको देख्न सकिन्छ । घिमिरेको दैनिकी पोखरीका माछालाई चारो हाल्न र हेरचाह गर्नमै बित्छ । जनप्रतिनिधि भएकाले बेलाबखत काम पर्दा जनताको सेवामा पनि समय खर्च गर्ने उनी बताउँछन् ।

घिमिरेले २०७१ सालदेखि मुंग्री जातका भुरा पोखरीमा राखेर माछापालन सुरु गरेका थिए । त्यसमा सफलता पाउन थालेपछि २०७३ देखि भने व्यवसायिक रूपमै माछापालन गर्न थालेको उनले बताए ।

उनले आफूले उत्पादन गरेका माछा अहिले प्रतिकेजी ८०० का दरले पोखरीबाटै बिक्री हुने गरेको सुनाए । महिनामा सरदर ६० केजी माछा बिक्री हुने उनी बताउँछन् ।

‘महिनामा न्यूनतम ३५ केजीदेखि अधिकतम ८० केजीसम्म माछा बिक्री हुन्छ,’ उनले भने, ‘माछा र माछाको भुरा बिक्रीबाट वार्षिक ६ देखि ७ लाख आम्दानी हुन्छ ।’

भुरा भने तराईबाट ल्याएर हुर्काएर बिक्री गर्ने गरेको उनले सुनाए ।

माछाको माग आउँदा केही ठाउँमा उनी आफै पुर्‍याइदिन्छन् । अधिकांश ग्राहक भने फोन गरेरै आफै पोखरीमा माछा लिन आइपुग्छन् ।

‘हलेसी, ऐसेलुखर्क र दिक्तेलबाट माछाको माग बढी आउँछ,’ उनले भने । धेरैजसो माछा भने गाउँघरमै खपत हुने उनी सुनाउँछन् ।

आफूले माछा पोखरी निर्माण गर्न करिब २३ लाख लगानी गरेको उनले बताए । गतवर्ष प्रदेश सरकारबाट प्राप्त साढे तीन लाख अनुदानबाट उनले पोखरी मर्मत पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?