+
+
Shares

आधार क्षेत्रमा श्रम संस्कृतिको मिसन मुख्यमन्त्री

स्थापनाको चार महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशलाई आधार क्षेत्र बनाएर चुनावी अभियान तीव्र पारेको छ। पार्टीको मुख्य लक्ष्य हो- प्रदेशमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउने।

सइन्द्र राई सइन्द्र राई
२०८३ भदौ ६ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई प्रधानमन्त्री र सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने लक्ष्यसहित ‘केचना-सगरमाथा हातेमालो’ अभियान सुरु गरेको छ।
  • धरानमा सम्पन्न प्रदेश कार्यसमितिको बैठकले सङ्गठन निर्माण, पार्टी प्रवेशमा लचकता र कोशीमा सरकार बनाउने तयारीलाई प्राथमिकता दिने निर्णय गरेको छ।
  • पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा रास्वपालाई उछिन्ने दाबी गर्दै कोशीका १४ जिल्लामा प्राप्त मत र चुनावी आधारलाई आफ्नो बलका रूपमा प्रस्तुत गरेको छ।

६ भदौ, काठमाडौं । स्थापनाको चार महिनामै राष्ट्रिय दल बन्न सफल श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई प्रधानमन्त्री र कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउने गरी चुनावी अभियान अगाडि बढाएको छ।

श्रम संस्कृति पार्टीले ‘केचना-सगरमाथा हातेमालो’ अभियान सुरु गरेको छ। धरानमा (भदौ १–३ मा) सम्पन्न प्रदेश कार्यसमितिको बैठकबाट पारित निर्णयबमोजिम अभियान सुरु भएको हो।

प्रदेश अध्यक्ष प्रतापका अनुसार यो अभियान मूलतः सङ्गठन निर्माणमा केन्द्रित हुनेछ। ‘श्रमदान अभियान निरन्तर चलिरहेकै छ, त्यसमा सङ्गठन निर्माणलाई जोड दिन हातेमालो अभियान थपिएको हो,’ उनले भने।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने सङ्कल्पअन्तर्गत हातेमालो अभियान थपिएको नेताहरू बताउँछन्। ‘यो सरकारले सच्चिएर पाँचै वर्ष काम गरोस्, देशलाई राजनीतिक स्थिरताको खाँचो छ,’ वरिष्ठ नेता सुदन किराती भन्छन्, ‘तर आगामी संसदीय निर्वाचनबाट श्रम संस्कृति पार्टी देशको एक नम्बर पार्टी बन्छ र हर्क साम्पाङ प्रधानमन्त्री हुनुहुनेछ।’

कोशी प्रदेशमा बलियो प्रभाव रहेको श्रम संस्कृतिले देशका अन्य भूभाग केन्द्रित गतिविधि गर्नुको उद्देश्य नै साम्पाङलाई प्रधानमन्त्री बनाउने चाहना रहेको लुक्दैन। फागुन २१ को चुनावलगत्तै दार्चुलामा साम्पाङ आफैं पुगेर पुल निर्माण अभियान थालेका थिए। उक्त पुल निर्माण सकेर श्रम संस्कृति पार्टीका समर्थकहरू फर्किसकेका छन्।

श्रम संस्कृतिले राजधानी काठमाडौंसहित देशका अन्य क्षेत्रमा श्रमदान अभियान चलाइरहेकै छ। तर पार्टी निर्णय, गतिविधि र तयारी हेर्दा बढी प्राथमिकता कोशीलाई दिइरहेको प्रस्ट हुन्छ।

‘हाम्रो आधार क्षेत्र यही प्रदेश बन्यो। जनमत र समर्थन पनि यहीँ बढी छ,’ उक्त पार्टीका एक नेता भन्छन्, ‘आगामी प्रदेश सरकार बनाउने विश्वासले पनि गतिविधि यहीँ बढी देखिएको हो।’ श्रम संस्कृतिले भावी मुख्यमन्त्रीका रूपमा पूर्वमन्त्री सुदन किरातीलाई अगाडि सारिसकेको छ।

पूर्वमन्त्री किरातीलाई मुख्यमन्त्री बनाउने भनेरै साम्पाङले पार्टी भित्र्याएका थिए। माओवादी पृष्ठभूमिका किरातीले वैशाख २५ मा श्रम संस्कृति प्रवेश गरेपछि कोशी प्रदेश केन्द्रित गतिविधि गरिरहेका छन्। यो अवधिमा उनी सोलुखुम्बु, ओखलढुङ्गा र सङ्खुवासभाबाहेक कोशीका ११ वटै जिल्ला पुगिसकेका छन्।

स्रोतका अनुसार किरातीले छुट्टै टिम बनाएर अध्ययन गरिरहेका छन्। ‘श्रम संस्कृति पार्टीका समर्थक र कार्यकर्ताहरूको भावना के हो ? जनता के चाहन्छन् ? र आवश्यकता के हो भन्ने अध्ययन यो अवधिमा भयो,’ स्रोत भन्छ।

किरातीको टिमले निर्वाचन क्षेत्रस्तरीय विश्लेषण गरिरहेको छ। ‘रास्वपाका कमजोरी के हुन् ? ३५ वर्ष शासन गरेका पुराना दलहरूले गरेका गल्ती के हुन् ? यसमा हाम्रो टोलीले मसिनोगरी अध्ययन गरिरहेको छ,’ उनीनिकट स्रोत भन्छ। विशेषगरी रास्वपाले खेल्न सक्ने कार्डहरूको विश्लेषण यो टिमले गरिरहेको छ।

गत फागुन २१ को निर्वाचनमा कोशी प्रदेशको पनि सबैभन्दा ठूलो शक्ति रास्वपा नै बनेको छ। तसर्थ श्रम संस्कृतिले यही पार्टीलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको छ।

‘हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउन देशभर नै रास्वपालाई राम्रोगरी बुझ्न जरुरी छ,’ एक जना पदाधिकारी भन्छन्, ‘कोशी प्रदेशमा पनि रास्वपा नै हाम्रो प्रतिस्पर्धी बन्न सक्छ भन्ने बुझाइ हो।’

जसरी पनि मुख्यमन्त्री

यसपटक धरानमा सम्पन्न बैठकले देशको प्रधानमन्त्रीसँगै प्रदेशको मुख्यमन्त्री पनि श्रम संस्कृतिले बनाउने गरी परिचालित हुने निर्णय गरेको छ। ‘अरू पार्टीमा रहेकाहरूलाई बढीभन्दा बढी तान्ने र सङ्गठनलाई थप बलियो बनाउने निर्णय लिएका छौं,’ प्रदेश अध्यक्ष राई भन्छन्।

बैठकमा नेताहरूले प्रधानमन्त्री र मुख्यमन्त्री बनाउनलाई केही सुधारको खाँचो औंल्याएका थिए। ‘पार्टी संस्थागत रूपमा चलाउनुपर्छ। प्रणाली र विधिबमोजिम चल्ने संस्कृतिको निर्माण गर्नुपर्छ भन्ने मत बैठकमा उठ्यो,’ स्रोत भन्छ, ‘हामीले पार्टीलाई विधि, प्रणाली र संस्थागत रूपमा चलाउन केन्द्रीय समितिलाई सिफारिस गरेका छौं।’

यस्तो निर्णय गर्नुको उद्देश्य सङ्गठनलाई बलियो र व्यवस्थित गर्नु नै रहेको एक नेता तर्क गर्छन्। ‘पुराना पार्टीहरूमा वाक्क भएर धेरै मान्छे श्रम संस्कृति पार्टीमा आउन खोजिरहेका छन्,’ उनी भन्छन्, ‘तर पार्टी प्रवेश गर्नुअघि यहाँ पनि प्रणाली र विधि खोज्छन्, त्यसका निम्ति प्रदेश समितिले निर्णय गरेको हो।’

पार्टी प्रवेशबारे लचकता अपनाउने निर्णय पनि प्रदेश कार्यसमितिको बैठकबाट भएको छ। अध्यक्ष राईका अनुसार पुराना पार्टीमा पाइरहेकै पद श्रम संस्कृतिले पनि दिनेछ। ‘पार्टी छाड्नुअघि जुन भूमिकामा हुनुहुन्छ, श्रम संस्कृतिले पनि सोही तहको जिम्मेवारी दिने निर्णय भएको छ,’ राई भन्छन्।

यस्तो लचकताको निर्णय कोशीमा जसरी पनि सरकार बनाउने उद्देश्यअन्तर्गत नै गरिएको नेताहरू बताउँछन्। ‘कोशीका गाउँगाउँमा हाम्रो पार्टीको लहर छ। श्रमदान अभियानप्रति आकर्षण छ,’ ती पदाधिकारी भन्छन्, ‘तर प्रदेश सभामा बहुमत ल्याउनलाई अरू राजनीतिक निर्णयहरू पनि गर्नुपर्नेछ र गर्छौं।’

पार्टी प्रवेशलाई प्राथमिकता दिएर गतिविधि गरिरहेको श्रम संस्कृतिले प्रदेशको नाम ‘कोशी’ नभनेर राजनीतिक सन्देश दिइरहेको छ। पुराना लगभग सबै पार्टी मिलेर राखिएको प्रदेशको नामप्रति जनस्तरमा असहमति देखिएको छ। उक्त असन्तुष्टिको मत तान्न श्रम संस्कृतिले प्रदेशको नाम ‘कोशी’ लेख्ने गरेको छैन।

‘प्रदेशको नाम के राख्ने भन्ने कुरा छलफलबाट टुङ्ग्याउनेछौं। तर, अहिलेको नाममा रहेको असहमतिलाई हाम्रो समर्थन छ,’ एक नेता भन्छन्। स्रोतका अनुसार लिम्बू र राईलाई मनाएर प्रदेशको नाम फेर्ने प्रस्ताव श्रम संस्कृतिले अगाडि बढाउने तयारी गरिरहेको छ।

तर यही बेला राई र लिम्बूबीच केही समस्या देखिएको छ। त्यो षड्यन्त्र रास्वपाका नेताहरूबाट भएको हुन सक्ने विश्लेषण यो पार्टीका नेताहरूको छ। ‘रास्वपाले राई र लिम्बूलाई भिडाउन चाहन्छ। हामी त्यस्तो दुर्घटना हुनै दिँदैनौं,’ एक नेता भन्छन्, ‘राई र लिम्बू भन्ने सन्देश नदिँदा नै हाम्रो शक्ति सिर्जना हुन्छ।’

गत निर्वाचनको नतिजा हेर्दा राई समुदायमा यो पार्टीको बलियो पकड देखिएको छ। यद्यपि श्रम संस्कृतिले ७७ वटै जिल्लाबाट मत पाएको छ। तर पनि लिम्बू र गैरजनजाति समुदायलाई विश्वासमा लिनुपर्ने चुनौती रहेको यो पार्टीका नेताहरूको विश्लेषण छ।

विशेषगरी सुनसरी-मोरङको दक्षिण क्षेत्रमा पार्टीको प्रभाव कमजोर रहेको बुझाइ नेताहरूमा छ। ‘धार्मिक मत बलियो रहेको गैरजनजाति क्षेत्रमा हामीले मिहिनेत गर्नुपर्ने देखिन्छ। त्यस्तो क्षेत्रमा काम पनि भइरहेकै छ,’ एक शीर्ष नेता भन्छन्।

अर्थात्, अरू पार्टीहरूभन्दा अगाडि बढेर श्रम संस्कृतिले आसन्न चुनावको तयारी गरिरहेको छ। विशेषगरी कोशी प्रदेशमा यो पार्टीका नेताहरूलाई चुनाव लागिसकेको छ। हरेकजसो कार्यक्रममार्फत नेताहरूले मत मागिरहेका छन्।

‘आउँदै गरेको प्रदेश र स्थानीय निर्वाचनमा कुनै पनि हालतमा श्रम संस्कृति पार्टी र यसका प्रतिनिधिलाई जिताउनैपर्छ नेपाली जनताले,’ वरिष्ठ नेता सुदन किरातीले भन्दै आएका छन्, ‘…माथि जसको सरकार छ, उसैलाई जिम्मा लगाइयो भने त्यो सरकारले आँखा देख्नेछैन, हाम्रा घरहरूमा फेरि डोजर चल्नेछ। गरिबीमाथि उपहास हुनेछ।’

दोस्रो शक्तिको उत्साह

पार्टी गठनको चार महिनामै ७ सांसदसहितको राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टी कोशी प्रदेशमा भने दोस्रो ठूलो शक्ति हो। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाअनुसार रास्वपा अरू प्रदेशजस्तै कोशीमा पनि फराकिलो अन्तरले पहिलो शक्ति हो। कोशीका १४ जिल्लाबाट रास्वपाले ८ लाख ५३ हजार १८३ मत पायो।

रास्वपापछि २ लाख ९२ हजार ४९ मत पाएर श्रम संस्कृति दोस्रो शक्ति बन्यो। कांग्रेसले २ लाख ९० हजार ५६२ मत र एमालेले २ लाख ८८ हजार १८६ मत पाएको छ। नेकपाले एक लाख पनि पुर्‍याउन सकेन। कोशीमा नेकपा र राप्रपाको हैसियत लगभग समान छ। नेकपाले ९७ हजार ६७९ मत ल्याउँदा राप्रपाले ६२ हजार ८९९ मत पाएको छ।

श्रम संस्कृतिले आगामी प्रदेश र स्थानीय चुनावमा रास्वपालाई उछिन्ने दाबी गरिरहेको छ। श्रम संस्कृति पार्टीले गरेको दावीको आधार भने प्रतिनिधिसभा निर्वाचनमा देखिएको जनमत हो।

दुई तिहाइ नजिकको बहुमत ल्याएको रास्वपाले दूधकोशी–सुनकोशी पूर्वका कुनै पनि पहाडी जिल्लामा रास्वपाले जित्न सकेको छैन। इलाम–१, पाँचथर, तेह्रथुम र सोलुखुम्बुमा कांग्रेसले जित्दा इलाम–२, ताप्लेजुङ, सङ्खुवासभा र धनकुटामा एमालेले जितेको छ।

स्थापनाको चार महिनामै श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। सुनसरी–१, खोटाङ र भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निर्वाचित भए। सुनसरी–१ मा अध्यक्ष हर्क साम्पाङ आफैंले जिते। ३५ हजार ७४१ मत पाएर उनले जित्दा रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाइन्। कांग्रेस, एमाले प्रतिस्पर्धामै आउन सकेनन्।

हर्कको गृह जिल्ला खोटाङमा श्रम संस्कृतिका महासचिव आरेन राईले जिते। १६ हजार ६१२ मत ल्याएर २९ वर्षीय युवक आरेनले जित्दा एमालेका देवविक्रम राई १२ हजार ७१४ र कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतमा सीमित भए।

भोजपुरमा ध्रुवराज राईले एमालेका केन्द्रीय सचिव शेरधन राईलाई पराजित गरे। श्रम संस्कृतिका उम्मेदवार बन्दै ध्रुवले १६ हजार ६६३ मत ल्याएर जित्दा शेरधन १४ हजार ७५० मतमा सीमित भए।

श्रम संस्कृति पाँचथर, उदयपुर–१, इलाम–१ र मोरङ–१ मा निकटतम प्रतिद्वन्द्वी शक्ति बन्यो। पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङले १७ हजार २३३ मत ल्याएर जित्दा माटोका हस्तराज शेर्मा १४ हजार ७३४ मतसहित दोस्रो भए। एमालेका अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेकपाका हर्क नेम्वाङले ११ हजार ४४३ मत पाए।

उदयपुर–१ मा रास्वपाका पारसमणि गेलालले ३० हजार ५९० मत ल्याएर जित्दा माटोका राजेशकुमार राई ११ हजार ६०६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने। मोरङ–१ मा माटोकै शान्ति पाख्रिनले बलियो टक्कर दिइन्। रास्वपाका यज्ञमणि न्यौपानेले २७ हजार ३६७ मत ल्याएर जित्दा पाख्रिन १७ हजार ५५२ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनिन्।

नजिते पनि इलाममा माटोको बलियो प्रभाव देखियो। इलाम–१ मा कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मत ल्याएर जित्दा माटोका विनोद नेम्वाङ १३ हजार ६३२ मत ल्याएर निकटतम प्रतिस्पर्धी भए।

अरू निर्वाचन क्षेत्रमा तेस्रो स्थानभन्दा तल मत प्राप्त गरेको छ। तर केही क्षेत्रबाहेक सबैतिर उत्साहजनक मत छ।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले २२ हजार ४२६ मत ल्याएर जित्दा कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० र माटोका सुदीप राईले १४ हजार ४०० मत पाएर तेस्रो स्थानमा रहेका छन्।

श्रम संस्कृतिले तेस्रो धेरै मत पाएका अरू पाँच क्षेत्र छन्। झापा–५ मा समीर तामाङले कांग्रेस र नेकपाभन्दा धेरै मत पाए। प्रधानमन्त्री बालेन्द्र शाहले ६८ हजार ३४८ मत पाएर जितेको यो क्षेत्रमा एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत र माटोका तामाङले ९ हजार २३३ मत ल्याएर तेस्रो भए।

झापा–२ मा केशवकुमार भण्डारीले ७ हजार २९१ मत, झापा–१ मा केवलराम राई १० हजार ४ मत, धनकुटामा सानबहादुर राईले ११ हजार ९३२ र मोरङ–३ मा अमिर मगर १६ हजार ५०९ मत पाएर तेस्रो स्थानमा छन्।

माटोका उम्मेदवार चौथो स्थानमा रहेका निर्वाचन क्षेत्र धेरै छन्। झापा–४ मा अमृतादेवी राई ७ हजार १६१, झापा–३ मा दीपक तिम्सिना ७ हजार ३३९, मोरङ–६ मा मातृका पौडेल ३४ सय, सुनसरी–२ मा चेतन राई ७ हजार ४८४ र सुनसरी–३ मा रामप्रसाद सदा १ हजार ७८० मत पाएर चौथो भए।

यस्तै चौथो धेरै मत पाउनेमा तेह्रथुममा सुविन्द्रकुमार लिम्बू (५ हजार २ सय मत), सङ्खुवासभामा उमाकुमारी राई (९ हजार ८५७ मत), सोलुखुम्बुमा वियस राई (३ हजार ३६३ मत) र ताप्लेजुङमा सन्तोष राई (५ हजार २०९ मत) छन्।

मोरङ–२ मा अबुहो रौरह १ हजार ८२२ मत, ओखलढुङ्गामा उद्धवकुमार राई ३ हजार ८५८ मत, उदयपुर–२ मा बलराज राई ४ हजार १३९ मत र सुनसरी–४ मा विष्णु राना २ हजार ७६३ मत पाएर पाँचौं स्थानमा रहे।

प्रत्यक्षतर्फ थोरै सिट जिते पनि कोशीमा आफ्ना उम्मेदवारहरूले पाएको यही मतका आधारमा श्रम संस्कृतिले प्रदेश सभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरिरहेको छ।

‘पुराना दलहरूलाई जनताले पत्याउने स्थिति छैन। नयाँ भनेर आएको रास्वपा सरकारले गरेका कामहरूबाट जनता असन्तुष्ट बन्दै गएका छन्,’ श्रम संस्कृति पार्टीका सचिव टीकाराम राई भन्छन्, ‘अस्ति चुनावमा पाएको मतलाई हेर्दा पनि अब हाम्रो पार्टी पहिलो बन्छ भन्नु स्वाभाविक हो।’

बालेन्द्र शाह नेतृत्वको सरकारले गरिब एवं श्रमजीवी वर्ग, बेरोजगार युवा र पिछडिएको समुदायका निम्ति कुनै काम गर्न नसकेको राई बताउँछन्।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?