+
+
Shares

राजीव उपाध्यायको पुस्तक ‘जायन्ट्स एट द गेट्स’ सार्वजनिक

परिवर्तनशील विश्व व्यवस्थामा नेपालको स्थानबारे चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक राजीव उपाध्यायको दोस्रो पुस्तक ‘जायन्ट्स एट द गेट्सः नेपाल इन अ वल्र्ड अफ रिअर्डर’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ।
  • पुस्तकले तीव्र वैश्विक परिवर्तनले नेपालको भविष्यमा पार्ने प्रभावबारे गहन अनुसन्धान र विश्लेषण प्रस्तुत गरेको लेखक उपाध्यायले बताए।
  • पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, सांसद सुम्निमा उदास र पूर्वबैंकर सुमन जोशीले पुस्तकलाई व्यापक, गम्भीर र व्यावहारिक नीतिगत सुझावयुक्त भने।

७ भदौ, काठमाडौं । लेखक राजीव उपाध्यायको दोस्रो पुस्तक ‘जायन्ट्स एट द गेट्सः नेपाल इन अ वल्र्ड अफ रिअर्डर’ सार्वजनिक भएको छ । पुस्तकमा तीव्र वैश्विक परिवर्तनहरूले नेपालको भविष्यलाई कसरी असर गरिरहेका छन् भन्ने विषयमा गहन अनुसन्धान तथा विश्लेषण गरिएको शनिवार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा जानकारी दिइयो ।

शनिबार एक अन्तर्संवाद कार्यक्रमबीच पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, सांसद सुम्निमा उदास एवम् र पूर्वबैकंर सुमन जोशीले पुस्तक लोकार्पण गरका थिए ।

छलफलको सुरुवात गर्दै वरिष्ठ पत्रकार प्रकाश रिमालले पुस्तकको दायरा परम्परागत भू–राजनीतिक विषयवस्तुभन्दा निकै फराकिलो रहेको उल्लेख गरे । ‘जायन्ट्स एट द गेट्स’ नेपाल एवम् उत्तर र दक्षिणका दुई छिमेकीमा मात्र सीमित छैन, यस पुस्तकले यीबाहेक धेरै विषयलाई छुन्छ । तसर्थ यसको दायरा निकै फराकिलो छ,’ उनले भने ।

लेखक उपाध्यायले हालैका वैश्विक घटनाले साना राष्ट्रहरूको परिदृश्यलाई कसरी आधारभूत रूपमै परिवर्तन गरिदिएका छन् भन्नेबारे प्रकाश पार्न आफूले पुस्तक लेखेको बताए । ‘२०२० को दशक एउटा निर्णायक दशक सावित भइरहेको छ । र विश्वमञ्चमा भइरहेका रूपान्तरणकारी परिवर्तनहरूको प्रभाव नेपालमा पर्नु स्वाभाविक छ । ती प्रभावको असरसँग नेपाल कसरी जुझ्न सक्छ भन्ने विश्लेषण मैले पुस्तकमा गरेको छु,’ उनले भने ।

यसअघि उपाध्यायको ‘कबाल्स एन्ड कार्टेल्स’ प्रकाशित भइसकेको छ । जायन्ट्स एट द गेट्स सो पुस्तकको दोस्रो भाग नभए पनि दुवै पुस्तकले समान विषयवस्तु समेटेको लेखक उपाध्यायले बताए ।

पुस्तकले बौद्धिक गहिराइ तथा समस्याहरूको सूची मात्र प्रस्तुत नगरी व्यावहारिक आशासमेत प्रस्तुत गरेकामा बहसमा सहभागी वक्ताहरूले बताएका थिए । वर्तमान घटनाक्रमलाई बुझ्न चाहने जोकोहीका लागि यो पुस्तक पढ्नैपर्ने सूचीमा रहनुपर्ने सांसद सुम्निमा उदासले बताइन् ।

‘यो पुस्तक अहिलेको समयमा नेपाल र विश्वबारे मैले जान्नैपर्ने सबै कुराहरूको सँगालो हो । विषयवस्तुका हिसाबले यो व्यापक र गहन छ । लेखनका हिसाबले पनि यो बोधगम्य र रोचक छ,’ उनले बताइन् ।

फराकिलो क्यानभासमा लेखिएको यस पुस्तकले विश्वव्यापी विकासक्रमहरूले नेपालमा पार्ने प्रभावहरूको सटीक विश्लेषण गरेको पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यको भनाइ छ । लेखकले नेपाललाई केन्द्रमा राखेर पुरानो व्यवस्था असफल भइरहेको र नयाँ व्यवस्था आइनसकेको विश्वमा नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति तय गर्न व्यावहारिक नीतिगत सुझाव प्रस्तुत गरेको उनले जनाए ।

यो एउटा गम्भीर, तथ्यपरक र निडर भई लेखिएको गम्भीर पुस्तक रहेको पूर्वबैंकर सुमन जोशीले बताए । ‘यसले नेपाललाई आफ्ना जिम्मेवारीहरूबाट पन्छिन दिँदैन,’ उनले भने, ‘धेरै लेखकले मात्रै वैश्विक वित्तीय व्यवस्थाको संरचना र नेपाली शासन प्रणालीको अव्यवस्थालाई एकैसाथ जोडेर हेर्न सक्छन् । यसले तर्क–वितर्कको माग गर्दछ, जुन यस्तो पुस्तकका लागि दिन सकिने सबैभन्दा ठूलो सम्मान हो ।’

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?