+
+
Shares

लहान नगरपालिकाले नयाँ बजारमा चलायो डोजर, व्यापारी भन्छन्- पक्षपात भयो

पटक–पटक सूचना जारी गर्दा पनि घर–टहरा खाली नगरेपछि डोजर चलाउन बाध्य भएको नगरपालिकाले जनाएको छ । व्यापारीले भने पक्षपात भएको आरोप लगाएका छन् ।

सुरेश राय सुरेश राय
२०८३ भदौ ८ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लहान नगरपालिकाले नयाँ बजारका सात वटा घर–टहरा डोजर लगाएर भत्काएको छ, सूचना दिएपछि पनि खाली नगरिएको उसले जनाएको छ ।
  • व्यापारीहरूले मेयर महेशप्रसाद चौधरीमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउँदै क्षति र क्षतिपूर्ति माग गरेका छन् ।
  • नगरपालिकाले पुराना संरचना हटाएर ७२ कोठा भएका तीन भवनमार्फत व्यापारी व्यवस्थापन गर्ने योजना रहेको जनाएको छ ।

८ भदौ, सिरहा । सिरहाको लहान नगरपालिकाले नयाँ बजारमा रहेका घर–टहरामा डोजर चलाएको छ। पटक–पटक सूचना जारी गर्दा पनि घर–टहरा खाली नगरेपछि डोजर चलाउन बाध्य भएको नगरपालिकाले जनाएको छ ।

नयाँ बजारका व्यापारीहरूले भने नगर प्रमुख महेशप्रसाद चौधरीले पक्षपातपूर्ण व्यवहार गर्दै घर–टहरामा डोजर चलाएको आरोप लगाएका छन्। नयाँ बजारमा करिब २०० बढी घर–टहरा रहेको तर पक्षपात गरी सात वटा भत्काइएको उनीहरूको भनाइ छ ।

नगरपालिकाले तीन दिनभित्र घर–टहरा खाली गर्न सूचना जारी गरेको थियो । नगरपालिकाको सूचना आएपछि आफूहरू घर-टहरा खाली गर्ने तयारीमा रहेको तर आइतबार बिहान बजार समिति र व्यापारीहरूलाई समेत जानकारी नदिई डोजर चलाइएको स्थानीय व्यापारी रामसुन्दर साहले बताए ।

व्यापारी सरस्वतीदेवी नायकले आफू ३०–३५ वर्षदेखि नयाँ बजारमा बस्दै आएको र डोजरले घर भत्काउँदा आफूले गर्दै आएको चिउरा–मुरहीको व्यापारसमेत चौपट भएको बताइन्।

‘घरभित्र रहेका सबै सामान नष्ट भयो। लाखौँको क्षति भएको छ। यसको जिम्मेवारी कसले लिने?,’ उनले प्रश्न गरिन्।

नायकले बजारमा धेरै घर–टहरा रहेको तर आफूहरूको मात्रै संरचना भत्काइएको दाबी गरिन् । मेयर निकटका व्यक्ति तथा कार्यकर्ताले सञ्चालन गरेका संरचना नछोइएको उनको आरोप छ ।

भत्काइएका घरटहराहरू

लहान नयाँ बजार समितिका अध्यक्ष भोला रायले नगरपालिकाले बजार समितिसँग कुनै समन्वय नगरी घर–टहरा भत्काइएको बताए। उनका अनुसार करिब चार वर्षअघि बजार व्यवस्थापनका लागि घर–टहरा हटाउने विषयमा सहमति भएको थियो। बजार समिति पनि विकास निर्माण र व्यवस्थित बजारको पक्षमा रहेको भए पनि त्यतिबेला नगर प्रमुख चौधरी पछि हटेको उनको भनाइ छ।

केही दिनअघि नगरपालिकाले घर–टहरा खाली गर्न सूचना जारी गरेपछि व्यापारीहरूसँग छलफलका लागि आइतबार बिहान ८ बजे बजार समितिले बैठक राखिएको थियो। तर बैठक सुरु हुनुअघि नै बिहान करिब ७ बजे नगरपालिकाले डोजर ल्याएर सात वटा घर–टहरा भत्काएको अध्यक्ष रायले बताए।

उनका अनुसार केही व्यापारीले भत्काउने कार्य रोक्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। बजारमा टायर बालेर प्रदर्शन गरेपछि नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई प्रहरीले छाडेको उनले जानकारी दिए।

अध्यक्ष रायले घर–टहरा भत्काउँदा क्षति भएका व्यापारीहरूको विवरण संकलन भइरहेको बताउँदै सम्बन्धित निकायमा उजुरी गराएर क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने बताए।

नगर प्रमुखको जवाफ

नगर प्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाको करिब दुई बिघा जग्गामा तीन वटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गरिएको र ती कोठा भाडामा दिएर नयाँ बजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको बताए। भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले पुराना घर–टहरा हटाइएको उनको भनाइ छ।

नगरपालिकाले पटक–पटक सूचना जारी गर्दा पनि घर–टहरा खाली नगरेपछि अन्तिम विकल्पका रूपमा डोजर प्रयोग गरी संरचना हटाइएको चौधरीले बताए। बजारमा सयौँ घर–टहरा रहे पनि सात वटा मात्रै किन भत्काइएको भन्ने प्रश्नमा नगर प्रमुख चौधरीले माथिबाट आदेश आएपछि बाँकी संरचनासमेत हटाइने बताए।

घर-टहरा हटाउने क्रममा पक्षपात भएको आरोपलाई नगर प्रमुख चौधरीले अस्वीकार गरे । उनले क्रमश: सबै अवैध तथा पुराना संरचना हटाइने दाबी गरे।

नगारपालिकाले जारी गरेको तिन दिने सूचनामा के छ ?

नगरपालिकाको सूचना र ब्यापारीको निवेदन

लहान नगरपालिकाले वडा नम्बर ५ मा अवस्थित लहान बजार (गुदरी हटिया)स्थित नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बनाइएका घर-टहरामा बसोबास गर्ने वा पसल गर्ने सम्पूर्ण व्यक्तिले सूचना जारी भएको मितिले तीन दिनभित्र उक्त घर-टहरा वा पसलका समाग्रीहरू हटाई खाली गरी विकास निर्माण कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले नयाँ संरचना निर्माण गरी व्यापारीलाई व्यवस्थापन गर्ने योजना अघि सारेको बताइरहँदा पीडित व्यापारीहरूले भने आफूहरूको क्षतिको उचित मूल्यांकन र क्षतिपूर्ति माग गरेका छन्।

बजार समिति पनि क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा उजुरीमार्फत क्षतिपूर्तिका लागि पहल गर्ने तयारीमा रहेको जनाएको छ।

नयाँ बजार ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?