११ असार, सिरहा । सिरहाको लहानस्थित बजार क्षेत्रको सडक जलमग्न भएको छ । सामान्य वर्षामै मुख्य सडक जलमग्न हुँदा व्यापारी र सर्वसाधारणलाई सास्ती भएको छ ।
लहान नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम राजमार्गदेखि पशुपति माध्यमिक विद्यालय जाने मुख्य सडकमा वर्षापछि पानी जमेको छ ।
सडक जलमग्न भएपछि पैदल यात्रु, विद्यार्थी, सवारी चालक तथा स्थानीय व्यवसायीलाई आवतजावतमा कठिनाइ भइरहेको छ । सडकभरि पानी जम्दा कतिपय स्थानमा रहेका खाल्डाखुल्डी नदेखिने भएकाले दुर्घटनाको जोखिम पनि बढेको स्थानीयवासीको भनाइ छ ।
स्थानीय होटल व्यवसायी पिन्टु राउतले वर्षाका कारण व्यवसाय प्रभावित भएको बताए। ‘पहिले नै ग्यास अभावका कारण होटल सञ्चालन गर्न कठिन भइरहेको छ । जसोतसो खोजेर आधा भरिएको सिलिन्डर प्रयोग गरिरहेका छौं । त्यसमाथि सडकमा पानी जम्दा होटलका लागि आवश्यक सागसब्जी तथा अन्य सामग्री ल्याउनसमेत समस्या भइरहेको छ’, उनले भने, ‘मुख्य चोकबाट सामान ल्याउनुपर्ने हुन्छ, तर बाटोभरि पानी भएकाले आउजाउ गर्न निकै दुःख छ ।’
स्थानीय सत्यनारायण साहले सामान्य वर्षामै सडक जलमग्न हुनु विडम्बनापूर्ण रहेको बताए । लहान जस्तो ठूलो व्यापारिक सहरको मुख्य सडक नै पानीले भरिनु दुःखद् विषय भएको उनको भनाइ छ । ‘पैदल हिँड्नसमेत कठिन छ । कतै खाल्डो छ कि छैन भन्ने थाहा नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ’, उनले भने, ‘बर्सेनि समस्या दोहोरिए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन।’
स्थानीय युवा रघु यादवका अनुसार पानी जम्नुको मुख्य कारण लामो समयदेखि नाला सरसफाइ नहुनु हो । यो प्रत्येक वर्ष दोहोरिने समस्या हो । नाला नियमित रूपमा सफा नहुँदा पानीको निकास हुन पाउँदैन । पानी जमेपछि नालाको फोहोर पानी सडकमा निस्किने र दुर्गन्ध फैलिने गरेको उनले बताए ।
यता, लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले समस्या रहेको स्वीकार गर्दै बजार क्षेत्रका नाला साँघुरा भएकाले वर्षाको पानी निकास हुन नसकेको बताए ।
‘बजार विस्तार भइसकेको छ, तर पुराना नाला साँघुरा छन् । नालामा पानीको चाप बढेपछि पानी सडकमा आउँछ’, उनले भने । केही घन्टापछि पानी आफैं घट्ने गरेको उनले बताए ।
स्थानीयवासीले लहानको मुख्य व्यापारिक क्षेत्रमा वर्षेनी दोहोरिने जलमग्नताको समस्या समाधान गर्न सम्बन्धित निकायले दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा काम गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया 4