+
+
Shares

सांसदहरूको प्रश्न : अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो ?

प्रतिनिधिसभामा गरिमा चौधरीको हत्याको विषय उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा गरिमा चौधरीको हत्या र अनुसन्धानको गोप्य भिडियो सार्वजनिक भएको विषयमा सांसदहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
  • नेपाली कांग्रेसकी शाहजान खातुनले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो भनेर छानबिन माग गरिन् ।
  • प्रहरीका अनुसार साउन ३१ गते जितपुर सिमरा १ दसधुरे टोलीकी गरिमा घरबाट हराएकी थिइन् र तीन दिनपछि उनको शव भेटिएको थियो ।

८ भदौ, काठमाडौं । प्रतिनिधिसभामा गरिमा चौधरीको हत्याको विषय उठेको छ । सांसदहरूले यो घटनामा सरकारको भूमिकालाई लिएर समेत प्रसंसा र प्रश्न दुवै गरेका छन् ।

नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले तीन वर्षकी अवोध बालिकामाथि बलात्कार र त्यसपछि हत्या तथा अनुसन्धानकै क्रममा रहेको अभियुक्तको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको बताइन् ।

‘अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो ?’ उनको प्रश्न छ, ‘कसले खिच्यो ? कससले सार्वजनिक गर्‍यो ? यो विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’

पीडित परिवार न्यायको पर्खाइमा रहेको पनि उनले बताइन् । संसद्‌मा अन्य सांसदहरूले पनि समाजमा यस्ता घटना नरोकिएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । कतिपय सांसदले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने समेत बताएका छन् ।

श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले यो विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरिन् । कठोर सजाय दिएर अन्य घटना हुन नदिन तयार हुनुपर्ने आग्रह गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यले समेत यो विषयमा सरकारको ध्यानाकर्षण गरेक छन् ।

‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन । तर हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ?’ उनले भनेका छन्, ‘जहाँ मृतकको बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र कहिँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित)ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका १ दसधुरे टोलीकी तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् ।

गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए ।

त्यसको पर्सिपल्ट बालिकाको शव फेला पर्‍यो ।

तीन वर्षीया बालिका घरबाटै हराएकी थिइन् । उनको शव तीन दिनपछि भेटिएपछि यो विषयमा संघीय सरकारले नै चासो देखायो ।

उनी गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौं बोलाइयो । उनीहरूसँग गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र छलफल सुरु गरेको थियो ।

त्यसक्रममा सरकारले आफूहरूको कुरा सुनेको भनेर गरिमाकी बुवा मनोज चौधरीले सरकारको पहलकदमीप्रति खुसी व्यक्त गरेका थिए ।

साथै, यही बेला गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपित व्यक्तिको घटनाबारे बताएको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा आरोपीसँग सोधपुछ गरिएको दृश्य छ । हातमा हतकडी लगाइएका आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको उक्त भिडिओ सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा हातमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरी समेत देखिएका छन् ।

यो भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन् । यही बेला रास्वपाका महामन्त्रीले समेत आपत्ति जनाएका हुन् ।

यस्तो विषयमा सरकार गम्भीर बन्नुपर्ने सांसदहरूको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?