८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो भएको बताएका छन् ।
सोमबार नेपाल जनप्रशासन संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अरूबाट लिएर उपयोग गर्न सकिने, तर आचरण, नैतिकता र इमान्दारीता आफ्नै अन्तस्करणको विषय भएको बताएका हुन् ।
‘आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिने भएपनि आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सन हुँदैन,’ राष्ट्रपति पौडेलले भने, ‘मलाई लाग्दछ– आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो छ ।’
राष्ट्रपति पौडेलले प्रविधिको विकास र परिवर्तनको गति आजको युगमा तीव्र भएकाले बताए । उनले भने, ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासलाई समयसँगै बदलिदिएको छ ।’ तर, प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना नहुने उनको भनाइ छ । ‘इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुराना हुँदैनन्,’ उनले भने ।
राष्ट्रपति पौडेलले ुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउँदै सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक विकासको सूचकबाट मात्र हेर्न नहुने बताए ।
प्रतिक्रिया 4