+
+
Shares

नेपालमै बनेको ‘यात्री पी-२’ सार्वजनिक, १५७ किलोमिटरसम्म रेन्ज (फोटो फिचर) 

सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली ब्रान्ड यात्रीले नेपालमै डिजाइन र उत्पादन गरेको नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ।
  • पी-२ तीन ब्याट्री विकल्पमा उपलब्ध छ, जसको ५.२ किलोवाट आवर मोडेलले पूर्ण चार्जमा १ सय ५७ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
  • सिप्रदी यात्रीले देशभर ३५ स्थानमा डीसी चार्जर स्थापना गर्ने र पी-२ उत्पादनमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ।

८ भदौ, काठमाडौं । नेपाली ब्रान्ड यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ ।

सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।

पी-२ लाई तीन फरक ब्याट्री क्षमतामा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ग्राहकले ५.२ किलोवाट आवर, ३.७ किलोवाट आवर र ३ किलोवाट आवर क्षमताका ब्याट्रीमध्ये विकल्प रोज्न सक्नेछन् ।

सबैभन्दा ठूलो ५.२ किलोवाट आवर ब्याट्री भएको पी-२ ले एक पटक पूर्ण चार्जमा १ सय ५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै ३.७ किलोवाट आवर ब्याट्री भएको मोडेलले १ सय १२ किलोमिटर र ३ किलोवाट आवर ब्याट्री भएको मोडेलले ९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

३५ स्थानमा डीसी चार्जर

पी-२ को मुख्य विशेषतामध्ये डीसी फास्ट चार्जिङ सपोर्ट पनि छ । सिप्रदी यात्रीले स्कुटरका लागि देशभरि ३५ स्थानमा डीसी चार्जर स्थापना गर्ने जनाएको छ ।

पी-२ ले ३.३ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्ने छ । यसले लामो दुरीमा स्कुटर चलाउने ग्राहकलाई चार्जिङको सुविधा विस्तार गर्ने कम्पनीको अपेक्षा छ ।

एन्ड्रोइड अटो र एप्पल कारप्ले

यात्री पी-२ लाई केवल विद्युतीय स्कुटरका रूपमा मात्रै नभई स्मार्ट फिचर सहित बजारमा उतारिएको छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट उपलब्ध छ ।

स्कुटरमा रियल टाइम इनर्जी मिटर तथा स्मार्ट डिस्प्ले पनि राखिएको छ ।

नेपाली सडकमा परीक्षणपछि बजारमा

पी-२ लाई बजार ल्याउनुअघि नेपालका विभिन्न भौगोलिक क्षेत्रमा परीक्षण गरिएको थियो । तराईदेखि पहाडी तथा कठिन सडकसम्म परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

परीक्षण क्रममा जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ लगायत क्षेत्रमा स्कुटर चलाइएको थियो ।

सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको साझेदारीमा विकास भएको पी-२ लाई कम्पनीले नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको विद्युतीय स्कुटरका रूपमा अघि सारेको छ ।

यससँगै नेपालमा आफ्नै डिजाइन र प्रविधिमा विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने प्रयासले थप व्यावसायिक रूप लिएको छ । पी-२ उत्पादनका लागि सिप्रदी यात्रीले उत्पादन प्लान्टमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार युनिटसम्म उत्पादन गर्ने योजना अघि सारेको छ ।

तस्विरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?