News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सार्वजनिक र निजी क्षेत्रमा खरिद ऐनको सहारामा हुने श्रम आउटसोर्सिङबारे प्रश्न उठाएको छ ।
- समिति सभापति रहबर अन्सारीले श्रम आउटसोर्सिङका नाममा श्रमिकप्रतिको जिम्मेवारीबाट कुनै निकाय पन्छिन नपाउने भन्दै कडा कारबाहीको माग गरेका छन् ।
- अन्सारीले न्यूनतम पारिश्रमिक, डिजिटल रजिष्ट्री, र श्रम ऐन संशोधनमार्फत श्रमिक अधिकार सुरक्षित गर्न सरकारलाई आग्रह गरेका छन् ।
९ भदौ, काठमाडौं । सार्वजनिक तथा निजी दुवै क्षेत्रमा खरिद ऐनको सहारा लिएर श्रम आउटसोर्सिङ गर्ने र श्रमिकको अधिकार खोस्ने प्रवृत्तिप्रति संसदीय समितिले प्रश्न उठाएको छ ।
यो विषयमा मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक नै राखेको थियो । बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा छलफल भयो ।
छलफलमा समिति सभापति रहबर अन्सारीले सार्वजनिक तथा निजी दुवै क्षेत्रमा खरिद ऐनको सहारा लिएर श्रम आउटसोर्सिङ गर्ने र श्रमिकको अधिकार खोस्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
कुनै पनि निकायले श्रम आउटसोर्सिङका नाममा श्रमिकप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने उनको आग्रह छ ।
विशेषगरी औद्योगिक करिडोरहरूमा राजनीति र व्यापारको गलत नजिर देखिएको उल्लेख गर्दै, वडा अध्यक्ष वा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू नै आउटसोर्सिङ एजेन्ट बनेर उधोगहरूमा श्रमिक भर्ती गर्ने र उनीहरूको पारिश्रमिकमा लाभ उठाउने कार्य भइरहेको भनेर उनले प्रश्न उठाए ।
यस्ता नक्कली एजेन्सीहरूका साथै राजनीतिक व्यक्तिहरूलाई भर्तिको अधिकार दिने उद्योग तथा कम्पनीहरूलाई समेत पहिचान गरी कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनको जोड रहेको छ ।
समिति सभापति अन्सारीले श्रमिकहरूको पारदर्शिता र हकहितका लागि डिजिटल रजिष्ट्री निर्माण गर्नुपर्ने र न्यूनतम पारिश्रमिक पनि नदिई १०/१२ हजारमा काम गराउने परिपाटी अन्त्य हुनुपर्ने बताए ।
घरेलु श्रमिकहरूको नागरिकता वा कागजात कब्जामा लिएर बन्धक बनाउने तथा आर्थिक शोषण गर्ने एजेन्सीहरूलाई कारबाही गर्नुपर्नेमा उनको जोड छ ।
यसका साथै, औद्योगिक क्षेत्रमा ‘तिघ्रे भत्ता’ र ‘मुन्द्रे भत्ता’ जस्ता विकृतिहरू हुर्किएको, सीमापारिबाट हजारौँ श्रमिक ल्याएर स्थानीय श्रमिकलाई विस्थापित गरिएको र दुर्घटना हुँदा जवाफदेही नहुने प्रवृत्ति बढेको भन्दै उनले श्रम ऐनमा आवश्यक संशोधन गरी श्रमिकहरूको अधिकार सुरक्षित गर्न सरकारलाई आग्रह समेत गरेका छन्
प्रतिक्रिया 4