News Summary
Generated by OK AI. Editorially reviewed.- शंकर पोखरेलले तयार पारेको एमाले पुनर्गठन प्रतिवेदनले निर्वाचनमा पराजयलाई पार्टी जीवनकै गम्भीर धक्का भन्दै कार्यकर्ताको मनोबल उकास्न ६ सुझाव दिएको छ।
- प्रतिवेदनले सरकार र पार्टीका गम्भीर गल्ती खुला स्वीकार्न, पार्टी कामको समीक्षा गर्न र केन्द्रदेखि स्थानीय तहसम्म वैचारिक–राजनीतिक प्रशिक्षण चलाउन सिफारिफ गरेको छ।
- प्रतिवेदनले आधारभूत वर्गसँग सम्बन्ध पुनस्र्थापित गर्न, अनुशासन र कार्यकर्ता मूल्यांकन सुधार्न तथा डिजिटल प्रचार संयन्त्र निर्माण गर्न सुझाव दिएको छ।
९ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तयार पारेको पुनर्गठन प्रतिवेदनले कार्यकर्ताहरूको मनोबल उकास्न ६ वटा सुझावसहितको प्रतिवेदन तयार पारेको छ।
‘अहिलको पराजय पार्टी जीवनकै सवैभन्दा गम्भीर धक्का र लज्जास्पद पराजय हो,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनको प्रतिकुल परिणामका कारणले मनोबल गिरेका कार्यकर्ताहरुमा आशा जगाउनु र जनतासँग टाढिएको सम्बन्धलाई नयाँ शिराबाट जोड्नु यतिबेलाको मुख्य चुनौती हो ।’
एकपटक पार्टीबाट बाहिरिएको जनमतलाई पार्टीमा फर्काउनका लागि योजनाबद्ध र सचेतन पहलकदमीको आवश्यकता पर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । जसका निम्ति ६ वटा सुझाव प्रस्तुत गरिएको छ ।
कमजोरीहरूको स्वीकारोक्ति
विगतमा सरकार र पार्टीबाट भएका गम्भीर गल्ती र कमजोरीहरुको खुला रुपमा स्वीकार्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ । ‘पार्टी पुनर्गठनका माध्यमबाट पार्टी नयाँ ढंगले अघि बढेको सन्देश दिन सक्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ ।
पार्टी कामको समीक्षा
पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कृति हराउँदै गएको निष्कर्ष प्रतिवेदनले निकालेको छ । तसर्थ पार्टी कामको समीक्षा गर्न सिफारिस गरिएको छ ।
व्यापक प्रशिक्षण
कार्यकर्ताहरुको मनोबल उठाउने अर्को विकल्पमा ब्यापक प्रशिक्षण चलाउनुपर्ने सुझाव दिइएको छ । ‘कार्यकर्तापंक्तिमा व्याप्त हीनताबोध र भ्रम हटाउन तथा वैचारिक र राजनीतिक क्षमता बढाउन केन्द्रदेखि स्थानीय तहसम्म परिणामुखी र योजनाबद्ध वैचारिक–राजनीतिक प्रशिक्षण सञ्चालन गर्नुपर्छ,’ लेखिएको छ ।
आधारभूत वर्ग र समुदायमा जोड
पार्टीले आफ्नो वर्ग र समुदाय बिर्सिएको चिन्ता गरिएको छ । तसर्थ जनतासँग टुटेको सम्बन्ध पुनस्र्थापित र गुमेको समर्थन फिर्ता ल्याउन सम्बन्धित वर्ग र समुदायका माग, मुद्दा र एजेण्डाको वास्तविक नेता नेकपा एमाले हो भन्नेगरी पार्टीको भूमिकालाई पुनर्परिभाषित र प्रभावकारी बनाउनुपर्छ ।’
पार्टी अनुशासन र कार्यकर्ता मूल्यांकन
पार्टीभित्र अनुशासनको पालना र कार्यकर्ताहरुको सही मूल्यांकन गर्न पनि सिफारिस गरिएको छ । कामका आधारमा दण्ड र पुरस्कारको विधि स्थापित गर्दा कार्यकर्ता पंक्तिमा नयाँ उत्साह आउने विश्वास गरिएको छ ।
डिजिटल प्रचार संयन्त्रको निर्माण
एमालेले चुनाव हार्नुमा अल्गोरिदमलाई एउटा कारण मानेको प्रतिवेदनले डिजिटल प्रचार संयन्त्र निर्माण गर्न सुझाव दिएको छ ।
प्रतिक्रिया 4