News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीबारे सांसदहरूले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराउँदै उद्धार, राहत र पुनःस्थापनामा युद्धस्तरको काम गर्न आग्रह गरेका छन्।
- कांग्रेस सांसद अर्जुननरसिंह केसी र मोहन आचार्यले राष्ट्रिय विपद् घोषणा गरेर सबै दलको विश्वासमा अघि बढ्न तथा हेलिकप्टरमार्फत उद्धार गर्न सरकारलाई सुझाएका छन्।
- रास्वपाकी बसु माया तामाङ र एमालेका पुष्पराज कंडेलले बाढीले अर्बौं क्षति पुर्याएको, घरबारविहीनलाई राहत र घाइतेको निशुल्क उपचार आवश्यक रहेको बताएका छन्।
१० भदौ, काठमाडौं । सांसदहरूले रसुवा बाढीबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले विपद्पछिको अवस्थामा कुनै कमी नहुने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बिभिन्न क्षेत्रको क्षतिको विवरण सुनाउँदै सरकार गम्भीर हुनुपर्ने बताए ।
‘यो राष्ट्रिय विपद्को स्थितिमा हामी कोही कुनै पार्टीका छैनौं । सबै नेपाली छौं । नेपालीलाई परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ हामी त्यतातिर केन्द्रित हुनुपर्ने छ’ उनले भने ।
यसमा सरकारले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताए । सरकारले सबैभन्दा पहिले उद्धारमा ध्यान दिनुपर्ने सुझाए । उद्धारपछि राहत दिइनुपर्ने उनले बताए ।
यसपछि पुर्नस्थापना गरिनुपर्ने र यस निम्ति सरकारले योजना ल्याउनुपर्ने बताए ।
निर्बलहरूको ठूलो शक्ति राज्य भएकोले निर्बल हुँदा राज्यले नागरिकलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । साथै, विद्युत आयोजनमा परेको क्षतिले असर गर्नसक्नेतर्फ पनि उनले ख्याल गर्नुपर्ने बताएका छन् ।
‘सरकारले युद्धस्तरमा काम गर्नुपर्ने छ । हामी सम्पूर्ण दलहरू सरकारको साथमा छौं’ उनले भनेका छन्, ‘यसमा सरकारले गम्भीरतापूर्वक हेरोस् । ओठे भक्तिले मात्रै हुँदैन । कुराले मात्रै हुँदैन । व्यवहारिक रुपमा यसलाई रुपान्तरण गर्न सरकार सफल होस् भन्ने मेरो हार्दिक रुपबाट आग्रह छ ।’
गृहमन्त्रालयले बाढीबारे जानकारी संसद्लाई दिनुपर्ने पनि माग राखेका छन् ।
नेपाली कांग्रेसकै सांसद मोहन आचार्यले यस किसिमको विपत्ति अहिलेको शताब्दीकै ठूलो भएको बताए । राष्ट्रिय विपद् घोषणा गरेर उद्धार र राहतमा जुट्न आग्रह गरे ।
सडक सञ्जाल टुटेकाले हेलिकप्रबाट मात्रै उद्धार गर्न सकिने सुझाए । रास्वपाकी सांउसद बसु माया तामाङले बाढीले अर्बौं क्षति पुर्याएको बताइन् ।
‘हामी सरकारमै छौं । सरकार हाम्रै हो । तर विपद्को यति ठूलो संकटमा आफ्नै सरकार भनेर मुकदर्शक बनेर बस्न सकिँदैन् । सरकारलाई तत्काल एक्सनमा उतार्नु र जनतालाई सतर्क गराउनु हाम्रो पहिलो कर्तव्य हो’ उनले भनिन् ।
सरकारले तत्काल हेलिकप्टर सहितको टोली पूर्ण क्षमतामा परिचालन गरेर खोजी कार्य गरिनुपर्ने बताए । घरबारबीहिन भएकलाई खानपानर घाइतेहरूको निशुल्क उपचार गराउन माग गरिन् ।
सडक सञ्जाल जोड्ने उपाय खोज्न र क्षतिपुर्तिको प्याकेज ल्याउन माग गरिन् । नदीको बहाव नघटुन्जेल सतर्क रहन नागरिकहरूलाई पनि अनुरोध गरिन् ।
नेकपा एमालेका सांसद पुष्पराज कंडेलले भौत्तिक क्षति धेरै भएको बताए । धादिङमा भन्दा बढी नुवाकोटमा र नुवाकोटमा भन्दा बढी रसुवामा बढी क्षति भएको विवरण आएको उनले सुनाए ।
उद्धार र राहत तथा दीर्घकालीन योजना निर्माणमा सबै एकै ठाउँमा अगाडि बढ्न आवश्यक रहेको बताए ।
राप्रपाकी सांसद सरस्वती लामाले सडक सञ्जाल नै टुटेकाले उद्धार र राहतमा समस्या भएको बताइन् ।
२०७२ सालको भुकम्पका बेला झैँ एकै भएर सबैले काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
प्रतिक्रिया 4