चीनको तिब्बतबाट रसुवा हुँदै प्रवेश गरेको बाढीले ठूलो क्षति पुर्याएको छ । सुरक्षा अधिकारीहरूका अनुसार बाढीले रसुवा हुँदै बग्ने भोटेकाशी र भोटेकोशी मिसिने त्रिशूली नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सुरक्षा टोलीसहित रेडक्रस तथा अन्य निकायका उद्धार टोली सक्रिय छन् । नेपाली सेना र विभिन्न निजी कम्पनीका हेलिकप्टरमार्फत पनि घाइतेको हेलि उद्धारको काम चलिरहेको छ ।
पछिल्लो सूचनाअनुसार काठमाडौंका विभिन्न अस्पतालमा घाइतेहरू ल्याउने क्रम सुरु भइरहेको छ । सबैभन्दा बढी घाइते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याएर उपचार सुरु भएको छ ।
यसै विषयमा शिक्षण अस्पतालको सूचना अधिकारी कालीप्रसाद रोस्यारासँग अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ :
हाल कति घाइते अस्पतालमा उपचाररत् छन् ?
अहिले १६ जना घाइते यहाँ उपचाररत छन् ।
उपचार कसरी भइरहेको छ ?
अस्पतालको प्रोटोकलअनुसार अवस्था हेरेर बिरामीलाई विभाजन गरिएको छ । गम्भीर अवस्थाका बिरामीलाई ‘रेड’ क्षेत्रमा, अपेक्षाकृत सामान्य अवस्थाका बिरामीलाई ‘ग्रिन’ क्षेत्रमा राखी उपचार गरिँदैछ । हाल दुई जना बिरामी आईसीयूमा छन् ।
कस्ता चोटपटक देखिएका छन् ?
अधिकांश बिरामीलाई मल्टिपल चोटपटक लागेको छ । बाढीको पानीमा बग्दा यताउता ठोक्किएर पैतलादेखि टाउकोसम्म शरीरभर लछारिएका चोट देखिएका छन् ।
अस्पतालले के व्यवस्था मिलाएको छ ?
१० जनाभन्दा बढी विपत् पीडित आएपछि अस्पतालले ‘डिजास्टर प्रोटोकल’ सक्रिय गरेको छ । यसअन्तर्गत साधारण उपचारका लागि आउने अन्य बिरामीलाई व्यवस्थापन गरी वार्डमा भर्ना भइसकेकालाई यथावत् राखिएको छ ।
जबकि, आपत्कालीन कक्ष (इमर्जेन्सी) र नाक-कान-घाँटी (ईएनटी) विभागलाई थप स्थान (एक्सपान्सन) दिइएको छ ।
हाल पूरै अस्पताल नै विपद् व्यवस्थापनमा केन्द्रित रहेको बताइएको छ ।
थप बिरामी आउने सम्भावना छ ?
स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार हेलिकप्टरमार्फत थप घाइतेहरू ल्याइने सम्भावना रहेको भनिएको छ ।
प्रतिक्रिया 4