News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको गोसाइकुण्ठ गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बाढीमा बेपत्ता भएकी छन् भने वडा नम्बर ५ का अध्यक्ष दावा मिङमर तामाङ पनि सम्पर्कविहीन छन्।
- स्थानीयका अनुसार बाढीले स्याफ्रुबेसी, टिमुरे र मैलुङ क्षेत्रका बस्ती, मजदुर र धेरै मानिसलाई बगाएको छ।
- बाढीले पुलहरू बगाउँदा रसुवाको काठमाडौँसँगको सम्पर्क टुटेको छ र घाइते उद्धारका लागि हेलिकप्टरको माग गरिएको छ।
१० भदौ, काठमाडौं । बाढीमा परी रसुवाको गोसाइकुण्ठ गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङसमेत बेपत्ता भएकी छन् ।
स्थानीय प्रेम तामाङका अनुसार बाढीले स्याफ्रुबेसी डुबाउँदा पालिका उपाध्यक्ष तामाङ बेपत्ता भएकी हुन् । उपाध्यक्ष तामाङसँगै ५ नम्बर वडाध्यक्ष दावा मिङमर तामाङ पनि बेपत्ता भएका छन् ।
एमाले नेता तामाङसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः
मान्छे हराइरहेका मान्छेबारे केही जानकारी छ ?
धेरै हराइरा’छ । माथि रसुवागढी, टिमुरेमा धेरै मजदुरहरूको हताहती भएको छ ।
तल हाइड्रोपावरहरूमा काम गर्ने मजदुरहरू धेरै हताहती भएको छ । खोला किनारमा भएका बस्तीहरूको पनि धेरै …। जस्तै स्याफ्रुबेंसी नै भयो, टिमुरे भयो । यता मैलुङतिरको भयो, यो बस्तीहरूका मान्छेहरू पनि धेरै हराइराख्या छन् ।
पालिका उपाध्यक्ष कहाँ बस्नु हुन्थ्यो ?
स्याफ्रुबेंसीमै हुनुहुन्थ्यो । उहाँ सम्पर्कमा हुनुहुन्न । वडा अध्यक्षज्यू पनि स्याफ्रुबेंसीकै हो । धेरै मान्छे बगाएको छ, धेरै मान्छे सम्पर्कमा छैनन् ।
जो–जो बाँचेका छन्, ती मान्छेहरूको भनाइअनुसार धेरै मान्छे हताहती भाछ । त्यो धेरै के !
अहिले उद्धारको स्थिति के छ ?
माथितिरबाट बाढीले बगाएर ल्याएको, अनि त्यही बाढीले हानेको बिरामीहरू एम्बुलेन्सहरूबाट ल्याउन सक्ने स्थिति छैन ।
पुलहरू सबै बगाएको छ । रसुवासँग काठमाडौँको सबै कनेक्सन टुटेको छ ।
अब बिरामीहरू ल्याइदिनको निमित्त धेरै अनुरोध गरेका छौँ, सरकार पक्षका मान्छेहरूसँग, त्यति उद्धार राम्रो भइराखेको छैन । बेत्रावती अलि फराकिलो ठाउँ भएकोले धेरै घाइतेहरू त्यहाँ छ । त्यहाँबाट कालिकास्थानमा गएर जम्मा गरेको छ । अब हेलिकप्टर पठाइदिनुस् भनेकै चार–पाँच घण्टा नै भइसक्यो, अझै अत्तोपत्तो छैन ।
माथितिर त्यस्तै छ, टिमुरेतिर त्यस्तै छ, यता मैलुङतिर त्यस्तै छ, सबैतिर त्यस्तै छ । एउटा दुइटा हेलिकप्टर ट्याँ–ट्याँ–ट्याँ कुदाइराख्या छ, त्यसले भ्याइराख्या छैन ।
जति हेलिकप्टर आइराछ, त्यसले पुग्ने स्थिति छैन ?
छैन, छैन ! हेलिकप्टरले पठाएको छैन । त्यही एक दुइटा हेलिकप्टरहरू कुदाइराख्या छ, उडाइराख्या छ ।
जति पनि घाइतेहरूलाई सरक्क-सरक्क उठाएर काठमाडौँको हस्पिटलहरूमा लाने हो भने बाँच्थ्यो । अत्यन्त अप्ठ्यारो ठाउँहरूमा गएर बाँचेका मान्छेहरूको उद्धार गर्दिए मान्छेहरू बाँच्थ्यो ।
अब बर्खाको समय छ । जङ्गल छ । चिप्लिने अनि भासिने डरहरू पनि छ । अडिने ठाउँ कहीँ छैन, टेक्ने ठाउँ कहीँ छैन, लडे भने खोलामै हो । समथर ठाउँहरू सबै बगाया छ ।
प्रतिक्रिया 4