+
+
Shares

विपद्को ५ दिनपछि सरकारले बल्ल खटायो विदेशी उद्धारकर्ता

जनार्दन बराल जनार्दन बराल
२०८३ भदौ १४ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीपछि सरकारले ढिला अनुमति दिएपछि भारतीय र चिनियाँ उद्धारकर्ता टोलीले ५ दिनपछि मात्र सुरुङ उद्धार सुरु गरेका छन् ।
  • जलविद्युत् आयोजनाका सुरुङमा करिब ६ सय जना फसेको आकलन छ, तर अहिलेसम्म नेपालले सुरुङमा फसेकाको उद्धार गर्न सकेको छैन ।
  • चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ आयोजनामा उद्धार सुरु भएको छ भने चिलिमेमा फसेका ६ मध्ये २ जनाको शव निकालिएको छ ।

१४ भदौ, काठमाडौं । नेपाल सरकारले अत्यन्तै ढिला गरी अनुमति दिएपछि नेपाल आइपुगेका भारतीय र चिनियाँ उद्धारकर्ता टोलीले बाढी आएको ५ दिनपछि बल्ल सुरुङ उद्धारमा काम थालेका छन् ।

रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा करिब ६ सय जना मानिस फसेको आकलन छ । तर, नेपालले अहिलेसम्म पनि सुरुङमा फसेकाको उद्धार गर्न सकेको छैन ।

पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुरुङमा फसेका आफ्ना कर्मचारी तथा कामदारलाई उद्धार नगरिदिएको जलविद्युत् आयोजनाले बताएका छन् ।

आइतबारदेखि चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ जलविद्युत् आयोजनामा उद्धार सुरु भएको छ । बाढी आएको ५ दिपछि आइतबार माथिल्लो त्रिशूली–थ्री ए परियोजनाको सुरुङ भेटिए पनि उद्धार अझै सुरु हुन सकेको छैन ।

सरकारले सुरुङ उद्धारमा अस्वाभाविक ढिलाइ गरेका कारण त्यहाँ फसेकाको जीवन बचाउनु जोखिमपूर्ण हुँदै गएको विज्ञले बताएका छन् ।

रसुवा बाढीको उद्धारका लागि आएको चिनियाँ उद्धारकर्ता टोली २ सय १६ मेगावाटको अपर त्रिशूली–१ (यूटी–वान) आयोजनामा उद्धारका लागि खटिएको जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ ।

सोही आयोजनाको चिनियाँ ठेकेदार चाइना रेलवेसँगको समन्वयमा चीनको टोली उद्धारका लागि आएको थियो । ९ सदस्यीय टोली आयोजना प्रभावित क्षेत्रमा खटिइसकेको परराष्ट्र स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

त्रिशूली करिडोरकै निर्माणाधीन सबैभन्दा ठूलो परियोजना यूटी–वानमा आइतबारदेखि बल्ल उद्धारको काम थालिएको छ ।

यो आयोजनामा काम गरिरहेकामध्ये करिब ६ सय जना अझै सम्पर्कमा आएका छैनन् । तीमध्ये करिब ४ सय सुरुङमा फसेको हुन सक्ने अनुमान रहेको निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिरिराज अधिकारीले बताए ।

आयोजना क्षेत्रमा आफ्नो ज्यान बचाउन सफलमध्ये २ सय ६० को उद्धार भएको छ । तीमध्ये १० जना कोरियाली पनि छन् । तर, सुरुङभित्र फसकेकाको उद्धार हुन सकेको छैन ।

सुरुङमा फसेकामध्ये ३ सय जना सुरुङभित्र काम गरिरहेका र १ सय हेडवर्क्समा काम गरिरहेका रहेको अनुमान अधिकारीको छ ।

चिनियाँ सुरुङ उद्धारकर्ताको दोस्रो टोली पनि आइतबार बिहान नेपाल आइपुगेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । तर, त्यो टोली कुन क्षेत्रमा उद्धारमा खटियो भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

उता, ११ सदस्यीय भारतीय टोली चिलिमे जलविद्युत् आयोजनामा उद्धारका लागि खटिएको सरकारले जनाएको छ ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ मध्ये २ जनाको शव भारतीय र नेपाली सेनाको संयुक्त उद्धार टोलीले बाहिर निकालेको छ ।

टोलीमा भारतका डाक्टर, प्यारामेडिक्स र सुरुङ इन्जिनियरहरू रहेको ११ सदस्यीय प्राविधिक छन् । अर्को २२ सदस्यीय भारतीय सेनाको टोली पनि उद्धार कार्यमा परिचालन गरिएको छ ।

प्रारम्भिक टोलीले हेलिकप्टर मार्फत शनिबार नै चिलिमे र लाङटाङ क्षेत्रको हवाई अनुगमन (रेकी) गरेको थियो ।

भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरेर अत्याधुनिक उपकरणको सहयोगमा सुरुङ खुलाउने र फसेकाहरूको उद्धार गर्ने काम सुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उद्धार टोलीसँगै भारत सरकारले पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरण ट्याब्लेट र औषधि सहित राहत सामग्री समेत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

शनिबार सिम्रिक एयरको हेलिकप्टर मार्फत माउन्टेनियरिङ रेस्क्यु एक्स्पर्ट पठाइए पनि उनीहरूले फसेका मानिसको उद्धार गर्न सकेका थिएनन् ।

सुरुङमा १ सय मिटरभित्र गएपछि लेदोले सुरुङ पूरै भरिएको पत्ता लगाएको थियो । त्यो खोल्न विशेष उपकरण सहित विज्ञ टोली चाहिने जानकारी उनीहरूले गराएका थिए । त्यसपछि भारतीय विज्ञसहित टोली परिचालन गराइएको हो ।

यसैबीच उद्धारका लागि दक्षिण कोरियाको टोलीसमेत नेपाल आइपुगेको परराष्ट्र सचिव अमृत राईले जानकारी दिए । यद्यपि, त्यो टोली फिल्डमा खटिन बाँकी छ ।

बेलायत सरकारले पनि आफ्नो ‘र्‍यापिड डिप्लोयमेन्ट टिम’ (आरडीटी) नेपाल पठाउने घोषणा गरेको छ । उक्त टिमले नेपाली अधिकारी तथा बेलायती दूतावाससँग समन्वयमा काम गर्ने र खासगरी बेलायती नागरिकको उद्धार तथा कल्याणमा काम गर्ने बेलायती विदेशमन्त्री एड मिलिबान्डले उल्लेख गरेका छन् ।

बेलायती टिम नेपाल आइसकेको र बेलायतीलाई आवश्यक पर्दा सहयोग गर्न तम्तयार बसेको जानकार स्रोतले बतायो ।

बेलायत सरकारले नेपाललाई उद्धारकर्ताहरू पनि पठाउने बताएको थियो । तर, नेपाल सरकारले बेलायती उद्धारकर्तालाई आवश्यक नभएको सन्देश दिएपछि उनीहरू नेपाल नआएको पनि स्रोतले बतायो ।

साथै, अस्ट्रेलिया सरकारले पनि उद्धारकर्ता टोली नेपाल पठाउने भनेको थियो । तर, नेपाल सरकारले उनीहरूलाई पनि आउन अनुमति नदिएपछि उनीहरू नआएको पनि स्रोतले बतायो ।

नेपालमा उद्धार कार्यका लागि अनुमति प्राप्त गर्न कठिन भएको विदेशी सरकारहरूले अनौपचारिक रूपमा बताएका छन् । सोही कारण विनाशकारी बाढीले क्षति पुर्‍याएको पाँचौं दिनमा मात्रै विदेशी उद्धारकर्ता सीमित परियोजनामा पुगेका छन् ।

तर, परराष्ट्र मन्त्रालयले भने विदेशी उद्धारकर्ता टोलीलाई अनुमतिमा ढिलाइ गरेको कुरालाई अस्वीकार गर्दै आएको छ ।

उद्धारमा खटिएका नेपाली विज्ञ तथा उद्धारकर्ताले सुरुङ उद्धारमा नेपालीको क्षमता नै कमजोर रहेको बताएका छन् ।

‘सुरुङहरूमा मानिस फसेको पाँच दिनसम्म पनि उद्धार हुन नसक्नुले नेपालसँग यसको सिप, क्षमता र औजार उपकरणको सीमितता रहेको स्पष्ट भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा यथाशक्य चाँडो विदेशी विज्ञ र उपकरण झिकाउनुपर्नेमा त्यसो नगरी सरकारले ब्लन्डर गर्‍यो ।’

सरकारले समयमा उद्धार पहल नगर्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको नेपाल इन्जिनियर्स एसोसिएसन अध्यक्ष सुवासचन्द्र बरालले बताए ।

‘दुई–तीन घण्टाको उडानबाट भारत तथा चीनका उद्धारकर्तालाई ल्याउन सकिन्थ्यो, चाहिने उपकरण ल्याउन सकिन्थ्यो, त्यसको पहल गर्नुपर्नेमा गरिएन, उद्धारमा जुन स्तरको हेलचेक्र्याइँ गरियो, त्यसको मूल्य धेरै ठूलो हुन सक्छ,’ उनले भने ।

नेपालभित्रै रहेको जनशक्ति र उपकरण परिचालन गर्न पनि सरकारले धेरै नै ढिलाइ गरिरहेको बरालको भनाइ छ ।

‘नेपाल इन्जिनियर्स एसोसिएसनले पनि पटक–पटक सरकारलाई उद्धारका लागि झक्झक्यायो, तर समयमा काम नै भएन,’ उनले भने ।

नेपाली जनशक्तिबाट उद्धार सम्भव नभएपछि भारत र चीनबाट उद्धारकर्ता मगाइएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । अन्य मुलुकबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको र आवश्यकता अनुरूप लिइने उनले बताए ।

रसुवा बाढीका कारण ५ सय ८९ विदेशी हराइरहेकोमा २ सय ६१ को जीवितै उद्धार भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तीमध्ये सबैभन्दा बढी १ सय ६७ भारतीय र ४० चिनियाँ छन् ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?