१७ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीमा दुई जना सचिव थपिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शान्ति पाख्रिन र प्रसाद राईलाई सचिव मनोनीत गरेको हो ।
मंगलबार दुई सचिव मनोनीत गर्दा वरिष्ठ नेता सुदन किराती पक्ष भने सहभागी भएको थिएन । किराँती पक्षलाई बैठकमा नबोलाएर दुई सचिव मनोनीत गरिएको हो ।
श्रम संस्कृतिमा किराँती पक्षका १८ जना केन्द्रीय सदस्य छन् । उनीहरु सहभागी नभए पनि मंगलबारको बैठकले एकतालाई भने अनुमोदन गरेको छ ।
एकताको चार महिनापछि बसेको बैठकमा निम्तो नगर्नु र दुई सचिव मनोनीत गरेपछि किराँती पक्ष भने असन्तुष्ट बनेको छ । ‘एकता भएको चार महिना भयो तर, अनुमोदन गर्ने भन्दै नबोलाई दुई सचिव मनोनीत गरियो’, किराती पक्षका एक नेताले भने,‘ यो राजनीतिक संस्कार होइन् ।’
आज पनि बैठक बस्दैछ । आजको बैठकमा किराँती पक्षलाई पनि बोलाइएको छ । बैठकमा सहभागी हुने किराँती पक्षले बताएका छन् । किराँतीसहित श्रम संस्कृति पार्टीमा जोडिएका १८ जना नेताहरू पनि बैठकमा जानेछन् । ‘बैठकका लागि खबर आएको छ’, अनलाइनखबरसँग किराँतीले भने, ‘आजको बैठकमा हामी जान्छौ ।’
चार महिनाअघि एकता हुँदा किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसहित १८ जना पार्टी समितिमा अटाएका थिए ।
पार्टीको पहिलो बैठकमा नबोलाएपछि सुदन किरातीले असन्तुष्टि जनाएका थिए । मंगलबार आफ्ना पक्षका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । ‘काम गर्दै जाँदा भूल, गल्ती र कमजोरी हुन सक्छन् तर त्यसमा खराब नियत नै छ भन्नु हुँदैन । आज देश शोक र संकटको घडीमा छ । यस्तो संवेदनशील समयमा हामी सबै अझ बढी जिम्मेवार, संयमित र एकताबद्ध हुन आवश्यक छ’, पहिलो बैठकमा नबोलाएपछि मंगलबार बेलुका फेसबुकमा उनले लेखेका थिए,‘ देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन सक्दैन । त्यसैले सबै व्यक्तिगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठ्नै पर्छ । भोलिको बैठकमा सबैको उपस्थितिका लागि अनुरोध गर्दछु । साथै आम–पार्टीपंक्तिलाई कुनै पनि प्रकारको भ्रममा नपर्न हार्दिक अपिल गर्दछु ।’
प्रतिक्रिया 4