१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले विपद्का बेला राज्य जहिल्यै नागरिककको साथमा छ भन्ने अनुभूति हुनुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकअन्तर्गत विशेष समयमा बोल्दै परियारले यस्तो बताएका हुन् ।
‘हामीले विपद्पछिको उद्धारमा देखाएको तदारुकताजस्तै पूर्वतयारी र नीतिगत कार्यान्वयनमा पनि उत्तिकै दृढता देखाउनु पर्छ,’ सचेतक परियारले भने, ‘नागरिकलाई राज्य हाम्रो साथमा छ भन्ने अनुभूतिमा कहिल्यै शंका नउठोस् ।’
विपद्को घडीमा भावुक हुनु मानवीय स्वभाव भएपनि राज्य सञ्चालन भावनाले नभएर विवेक, नीति, तथ्य र तर्कले निर्देशित हुनुपर्ने उनले बताए ।
यस्तै, विपद्को जटिल परिस्थितिमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनको प्रशंसा गर्दै सचेतक परियारले बेपत्ता नागरिकको खोजी कार्यलाई वैज्ञानिक र मिहिन ढंगले अगाडि बढाउन आग्रह गरे ।
यस्तै, जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त कूटनीतिक पहल गर्न पनि उनले सरकारसमक्ष माग गरे ।
‘विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्यप्राय: छ । तर यसको असन्तुलित र घातक मूल्य हाम्रा निर्दोष नागरिकहरूले ज्यान र सर्वस्व गुमाएर तिरिरहेका छन्,’ उनले भने, ‘हामीले नगरेको अपराधको सजाय किन हाम्रा नागरिकले भोग्ने ?’
उनले नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा दया वा राहतको भिक्षा माग्ने नभई अधिकारका रूपमा ‘जलवायु न्याय’ माग्नुपर्ने बताए ।
प्रतिक्रिया 4