+
+
Shares

‘धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन र हुन दिइने छैन’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका सचेतक प्रकाशचन्द्र परियारले सुनसरीमा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
  • परियारले सुनसरी घटनाका दोषीलाई पहिचान गरी कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
  • नेपालको धार्मिक सहिष्णुतामा कसैले पनि प्रहार गर्ने दुस्साहस गर्न नहुने भन्दै उनले नागरिकलाई भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरे ।

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरी घटनाका सम्बन्धमा सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबैको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरी जिल्लाको जनप्रतिनिधि भएर सदनमा बोलिरहँदा गृह जिल्लामा भएको अप्रिय घटनाले अत्यन्त दुःखित भएको बताए ।

घटनामा ज्यान गुमाएका युवा ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । घाइतेहरूको शिघ्रस्वास्थ्यलाभको कामना गरे । शोकाकुल र पीडित परिवारप्रति समानुभूति प्रकट गर्दै उनले सरकारले देखाएको तत्परता र अभिभावकिय भूमिकाप्रति आभार प्रकट गरे ।

नेपालको विविधता र सहिष्णुता सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले भने, सहिष्णुताको मर्ममा नेपाल एउटा यस्तो पावन भूमि हो, जहाँ पशुपतिनाथमा बुद्धको मुकुट पहिराउने अनुपम संस्कृति जीवन्त छ। हामी आलमदेवीलाई श्रद्धापूर्वक पूजा गर्छौं ।’

खोटाङको हलेसी त्रिधाममा एउटै आस्थाका साथ प्रार्थना गर्ने उल्लेख गर्दै भने, ‘हलेसी यस्तो पवित्र धाम हो, जहाँ हिन्दूहरूले शिव–पार्वती, बौद्धहरूले मारातिका र किराँतहरूले पारुहाङ-सुम्निमाका रूपमा एउटै देवतालाई पुज्ने गर्छन ।’

हिन्दुहरूले सरस्वती भनेर आस्था राख्ने तीनै देवी बौद्धहरूका लागि पुज्य मञ्जुश्रीको रूपमा सम्मानीत हुने प्रचलन रहेको भन्दै उनले छठ पर्वमा मुस्लिमहरूले पनि आस्था राख्ने अनुपम अभ्यास यही भूमिमा रहेको स्मरण गरे ।

उनले भने, ‘इतिहास साक्षी छ, यो देशमा आजसम्म धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन, र हुन दिइने छैन ।’

पछिल्लो समय सुनसरीमा घटेका घटनाहरू र सामाजिक सद्भाव भड्काउने, सहिष्णुता निमोठ्ने किसिमका गतिविधिले चिन्तित बनाएको भन्दै उनले अगाडि भनेका छन्, ‘सदियौँदेखि भाइचाराका साथ बसोबास गरिरहेका नेपालीहरूबीच वैमनस्यता फैलाउने प्रयास कतै भइरहेका छन् भने त्यसप्रति उच्च सतर्क  हुनु अत्यावश्यक छ।’

यसतर्फ ख्याल गर्न उनको आग्रह छ ।

‘सदनमार्फत प्रष्ट भन्न चाहन्छु, हाम्रो यो ऐतिहासिक सहिष्णुतामाथि कसैले आँखा नलगाओस् । कुनै पनि वाह्य वा भित्रि शक्तिले प्रोजेक्ट डिजाइन गरेर हाम्रो सामाजिक सद्भाव बिगार्ने दुस्साहस नगरोस् । हामी हाम्रो बहुमूल्य विविधतालाई कसैको विभेद र विभाजनको हतियार बन्न दिने छैनौँ ।’

सुनसरी लगायत देशका विभिन्न भागमा नागरिकहरूलाई संयमित रहन र भ्रामक हल्लाको पछि नलाग्न अपिल गरे ।

साथै, सरकारले यस्ता सद्भाव भड्काउने तत्त्वहरू पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने र घटनाका दोषीहरू दण्डित बन्नुपर्ने माग गरे ।

‘भाइचारा, सद्भाव,सहिष्णुता र भगिनी सम्बन्धमा हाम्रो मौलिक अभ्यास अटल राख्ने कर्तव्य हाम्रै हो, हामी भाग्ने छैन‍ौं, उनले भने, ‘जय सद्भाव, जय सहिष्णुता ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?