+
+
Shares

भाइरल भिडियोका कारण पक्राउ परेका युवक छुटे, प्रहरी कार्यशैलीमाथि प्रश्न

सामाजिक सञ्जालमा फैलिएको भ्रमकै आधारमा दुई युवकलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीले आलोचना भयो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ भदौ २२ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको महेन्द्र चोकमा स्कुल ड्रेसका दुई छात्रालाई बाटो काट्न इसारा गरेको भिडियो भाइरल भएपछि प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
  • छात्राले दुर्व्यवहार महसुस नगरेको बताएपछि प्रहरीले पक्राउ परेका महेशकुमार मण्डल र अखिलेशकुमार प्रसादलाई दुई दिनपछि आफन्तको जिम्मा लगाएको छ ।
  • भिडियोका आधारमा हतारमा पक्राउ र सार्वजनिक विवरण निकालेको भन्दै मोरङ प्रहरीको कार्यशैलीमाथि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

२२ भदौ, विराटनगर । विराटनगरको व्यस्त बजार महेन्द्र चोकमा बाटो काट्दै गरेका किशोरीलाई मोटरसाइकलमा सवार दुई युवकले हातले इसारा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

स्कुल ड्रेसमा रहेका किशोरीमाथि दुर्व्यवहार गरेको भनियो । भिडियो भाइरल भएपछि प्रहरीले विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई पक्राउ गर्‍यो ।

युवक पक्राउ परेपछि घटनाको वास्तविकता सामाजिक सञ्जालमा भाइरल भए जस्तो नरहेको खुल्यो । पक्राउ परेका युवकले प्रहरीसमक्ष किशोरीहरूलाई जेब्राक्रसबाट बाटो काट्न भनेको दाबी गरे । दुई छात्राले पनि आफूहरूले दुर्व्यवहार महसुस नगरेको बताए ।

यो घटनाले भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा फैलने भ्रम र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । सामाजिक सञ्जालमा फैलिएको भ्रमकै आधारमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीले आलोचना भयो । किनकि, भिडियोका विषयमा प्रहरीमा जाहेरी परेको थिएन ।

सामाजिक सञ्जालमा आलोचनापछि प्रहरीले पक्राउ परेका युवकहरूलाई दुई दिनपछि छाडेको छ । ‘प्रहरीले आफ्नो सक्रियता देखाउन पक्राउ गरेर वास्तविकता नबुझी हतारहतार दुई दिन म्याद थप गर्‍यो,’ पक्राउ परेकाको पक्षमा रहेका एक युवकले भने,’ त्यहाँ दुर्व्यवहार भएको थिएन, उजुरी पनि परेको थिएन, बिना कारण बदनाम गरियो ।’

मोरङ प्रहरीको कार्यशैलीमा प्रश्न उठेको यो पहिलो पटक भने होइन । गत ४ असार राति कुटपिट घटनाका आरोपी खोज्न भन्दै मोरङ प्रहरीको टोलीले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रवेश गरी छापा मारेको थियो ।

गत १८ साउनमा विराटनगरको व्यापारिक घराना देवनरा समूहको घरमा छापा मार्दा प्रहरी खाली खात फर्कियो । मन्त्री क्वार्टर र उद्योगीको घरमा छापा मार्दा उपलब्धि शून्य भएपछि प्रहरी विवादमा तानिएको थियो ।

के हो भाइरल भिडियोको वास्तविकता ?

सामाजिक सञ्जालमा भाइरल भिडियो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका सचिवालय कर्मचारीले बुधबार बिहान खिचेर सार्वजनिक गरेका थिए । भिडियोमा जेब्राक्रस नजिकै सडक पार गर्न लागेका दुई स्कुले छात्रालाई मोटरसाइकलमा सवार दुई युवकले हातको इशाराले केही भनिरहेको देखिन्थ्यो ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुईथरी मत देखिए । एक पक्षले ती युवकहरूले छात्राहरूलाई अभद्र व्यवहार गरेको आशंका गर्दै कानुनी कारबाहीको माग गर्‍यो, अर्को पक्षले उनीहरूले सडक सुरक्षाका विषयमा सामान्य सुझाव मात्र दिएको दाबी गर्‍यो ।

सामाजिक सञ्जालमा अभद्र व्यवहार गरेको भन्दै दबाब बढ्दै गएपछि मोरङ प्रहरीले शुक्रबार घटनामा संलग्न महेश र अखिलेशलाई नियन्त्रणमा लियो ।

उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा तीन दिनको म्याद थप गरी प्रहरीले आफ्नो सक्रियता देखाउन आँखा छोपेर फोटोसहितको विवरण सार्वजनिक गर्‍यो । प्रहरीले विज्ञप्तिसहित पक्राउको विवरण सार्वजनिक गरेपछि सञ्चार माध्यमले कभरेज पनि गरेका छन् ।

प्रहरीले युवकहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहँदा पीडित भनिएका किशोरीले भने सामाजिक सञ्जाल प्रयोगकर्ता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाए । आफूहरूमाथि कुनै अभद्र व्यवहार नभएको उनीहरूको दाबी थियो । त्यसपछि प्रहरीले पक्राउ परेका दुई जनालाई आइतबार आफन्तको जिम्मा लगाएको हो ।

मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार भिडियोमा देखिएका किशोरीहरूले आफूहरूलाई अभद्र व्यवहारको महसुस नभएको बताएका छन् ।

दुई युवककले बीच सडकमा गुडिरहेको मोटरसाइकलबाट इसारा गर्नु गल्ती भएको स्वीकार गरेका छन् । उनीहरूले गल्ती स्वीकार गरेपछि आफन्तको जिम्मामा छाडिएको कटवालले बताए । युवकहरू विरुद्धको अभद्र व्यवहारको मुद्दा भने चलिरहेकै छ ।

पक्राउ परेको विषय बाहिर आएपछि पीडित भनिएका किशोरीहरूको तर्फबाट एक युवतीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

‘घटनाको वास्तविक तथ्य, दुवै पक्षको भनाइ र उपलब्ध प्रमाणको उचित परीक्षण नगरी समाचारलाई गलत रूपमा प्रस्तुत गर्नुको जिम्मेवारी कसले लिने ?,’ सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘हामीमाथि सम्बन्धित व्यक्तिहरूबाट कुनै अभद्र व्यवहार भएको छैन । उहाँहरूले हामीलाई आफ्नो बाटो हिँड्न अनुरोध गर्नुभयो र हामी पनि आफ्नो बाटो लाग्यौँ ।’

प्रहरीले पीडित भनिएका किशोरीको बयान लिएपछि फेसबुकमा असन्तुष्टि जनाउने किशोरीले उक्त पोस्ट हटाएकी थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्र भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको बताउँछन् । ‘बाटोमा हिँडिरहेको असम्बन्धित मानिसले बाटो हिँडिरहेका युवतीहरूलाई सिकाउनुपर्ने आवश्यकता देखिँदैन । त्यहाँ नजिकै ट्राफिक प्रहरी हुँदाहुँदै युवतीहरूलाई नै केन्द्रित गर्नुले नियतमा शंका उब्जाउँछ,’ डीएसपी मिश्रले भने, ‘पछिल्लो समय सडकमा दुर्व्यवहार गर्ने र चेन स्न्याचिङ (गहना लुटपाट)गर्ने गिरोह सक्रिय रहेकाले पनि यस्ता हर्कतलाई सूक्ष्म रूपमा हेरिरहेको छ ।’

‘समाजमा कतिपय अपराधहरू सिकाउने वा सहयोग गर्ने बहानामा पनि हुने गरेका छन्,’ उनले भने, ‘हामीले सबै नजरबाट अनुसन्धान गर्नैपर्ने हुन्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?