+
+
Shares
रसुवा बाढी :

‘पैसा लिएर फर्किन्छु भन्थे, अहिले फोनसमेत आएको छैन’

रसुवाको भोटेकोशी नदीको विनाशकारी बाढीपछि कञ्चनपुरका कालुराम राना, क्रेशन राना र रितेशकुमार राना दुई हप्तादेखि सम्पर्कविहीन छन् ।

केशव भट्ट केशव भट्ट
२०८३ भदौ २४ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कञ्चनपुरका कालुराम राना, क्रेशन राना र रितेशकुमार राना दुई हप्तादेखि सम्पर्कविहीन छन् ।
  • सम्पर्कविहीन तीनै जनाका परिवारले खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै महाकाली प्रादेशिक अस्पतालमा डीएनए नमुना दिएका छन् ।
  • तीनै जना पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडमार्फत रसुवाको हाइड्रोपावरमा काम गर्दै एउटै कोठामा बस्दै आएका थिए ।

२४ भदौ, कञ्चनपुर । रेखा रानाको हातमा मोबाइल छुट्दैन । तर मोबाइल बज्ने बित्तिकै उनी झस्किन्छिन् ।रसुवाबाट श्रीमानको फोन आयो कि ? भनेर स्क्रिन हेर्छिन् । तर फोन अरूकै हुन्छ ।

रेखाका श्रीमान् कालुरामको फोन नआएको दुई हप्ता बितिसक्यो । दिनमा दुई/तीन पटक फोन गर्ने श्रीमान्ले एकपटक पनि फोन नगर्दा मनमा अनेक कुरा खेल्ने गरेको रेखा बताउँछिन् । उनी भन्छिन्, ‘कहिले श्रीमान् सकुशल फर्केर आउनुहुन्छ जस्तो लाग्छ, कहिले अनिष्टको डरले मुटु भारी हुन्छ ।’

छेउमै बसेका उनका १२ वर्षीय छोरा गौतम र ४ वर्षीया छोरी रिया भने अझै बाबाको बाटो हेरिरहेका छन् । ‘बच्चाहरू बाबा कहिले आउनुहुन्छ, फोन लगाउ भन्छन्,’ रेखा भक्कानिन्छिन्, ‘उनीहरूलाई केही थाहा छैन । कसरी सम्झाऊँ, के भनौँ ?’

कृष्णपुर नगरपालिका–३ देखतभुलीको एउटा सानो घरमा अहिले यस्तै प्रश्न र प्रतीक्षा छ । यो घरमा मात्रै होइन, यही परिवारका थप दुई घरमा पनि मोबाइलको घण्टी र बाटोतिरका पाइला कुरेर दिन बितिरहेका छन् ।

कालरामकी श्रीमती रेखा राना ।

रेखाका श्रीमान् कालुराम राना, उनका भतिजा २३ वर्षीय क्रेशन राना र ठूलो बुवाका छोरा २९ वर्षीय रितेशकुमार राना रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन छन् ।

तीनै जना रोजगारीका लागि रसुवा पुगेका थिए । घरको अवस्था सुधार्ने, छोराछोरीको पढाइ र ऋणको किस्ता तिर्ने सपना बोकेर उनीहरू घरबाट गएका थिए । तर अहिले उनीहरूका परिवारमा ती सपना होइन, उनीहरूकै खबरको प्रतीक्षा छ ।

रेखाका श्रीमान् साढे दुई वर्षदेखि रसुवाको हाइड्रोपावरमा वेल्डिङको काम गर्थे । असारमा रोपाइँ सकेपछि फेरि रोजगारीका लागि रसुवा पुगेका थिए ।

घरमा कालुरामका आमा, श्रीमती रेखा, १२ वर्षीय छोरा र ४ वर्षीया छोरी छन् । परिवारको खर्चदेखि छोराछोरीको पढाइसम्म कालुरामकै कमाइमा निर्भर थियो । घरमा अर्को आम्दानीको स्रोत छैन ।

१० भदौमा रेखाले श्रीमान्सँग अन्तिमपटक कुराकानी गरेकी थिइन् । रातिको काम सकेर कोठामा फर्किएको उनले बताएका थिए । ‘एक/दुई मिनेट कुरा गरेको थिएँ । त्यसपछि छोराछोरीलाई स्कुल पुर्‍याउन गएँ,’ रेखा सम्झिन्छिन्, ‘मोबाइल हेर्दा ठूलो बाढी आएको खबर देखेँ । डराएर हत्तपत्त श्रीमानलाई फोन लगाएँ, तर सम्पर्क नै भएन ।’ त्यसपछि रेखाको मोबाइलमा कालुरामको फोन आएको छैन ।

दिनमा दुई/तीन पटक फोन गर्ने श्रीमान् एकाएक सम्पर्कविहीन भएपछि उनको मनमा डर पस्यो । आफन्तलाई खबर गरिन् । प्रशासनसँग सम्पर्क गरिन् । तर अहिलेसम्म श्रीमान्‍को अवस्था के छ ? खबर पाएकी छैनन् ।

क्रेशन रानाकी श्रीमती विपासी ।

‘यत्रो समय भइसक्यो, केही खबर आएको छैन । के खाँदै हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ होला भनेर मन पोलिरहन्छ, रेखा भक्कानिदै भन्छिन् ।’

परिवारले छोराछोरीको पढाइ, उपचार र घरखर्चका लागि समूहबाट ऋणसमेत निकालेको छ । प्रत्येक महिनाको १३ गते समूहको बैठक बस्छ र त्यही दिन ऋणको किस्ता तिर्नुपर्छ । कालुरामले किस्ता तिर्न पैसा पठाइदिने भनेर रेखालाई फोनमा भनेका थिए ।

रेखाको केही दूरीमा विपासी राना बसेकी छिन् । उनको काखमा डेढ वर्षीया छोरी छिन् । छोरीले बेलाबेला आमाको अनुहार हेर्छिन् । विपासी भने टाढा कतै हेरिरहन्छिन् । उनका श्रीमान २३ वर्षीय क्रेशन राना पनि रसुवाको बाढीपछि सम्पर्कमा छैनन् ।

क्रेशन परिवारका एक्ला छोरा हुन् । घरमा श्रीमती विपासी, डेढ वर्षीय छोरी र आमाबुवा छन् । पर्याप्त खेतीपाती गर्ने जमिन छैन । अधियाँमा खेती गर्ने र मजदुरी गरेर परिवारको गुजारा चल्दै आएको छ । एक वर्षअघिसम्म क्रेशन रोजगारीका लागि भारत जाने गर्थे । काका कालुराम रसुवामा हाइड्रोपावरमा काम गर्ने भएकाले क्रेशन पनि उनकै साथ त्यहाँ पुगेका थिए ।

कालुराम राना

बाढी आउनुभन्दा दुई/तीन दिनअघि मात्रै विपासीले श्रीमान्‍सँग कुरा गरेकी थिइन् । त्यतिबेला क्रेशनले यो महिनाको तलब लिएर घर फर्किने बताएका थिए । तर घर फर्किने भनेका श्रीमानको अहिले कुनै खबर छैन ।

‘यो महिनाको सेलरी लिएर घर फर्किन्छु भन्नुहुन्थ्यो,’ आँसु झार्दै विपासी भन्छिन्, ‘अचानक बाढीको खबर सुन्नुपर्‍यो । हामी चिन्ता नै चिन्ताले मरिरहेका छौँ ।’

आफ्नो काखमा रहेको सानी छोरीतिर हेर्दै उनी हिक्काउँदै रुन्छिन् । ‘चाँडोभन्दा चाँडो उहाँको खोजी गरिदिन सरकारलाई अनुरोध छ,’ उनी भन्छिन् ।

विपासीका लागि श्रीमानको प्रतीक्षा मात्रै होइन, डेढ वर्षीय छोरीको भविष्य पनि चिन्ताको विषय बनेको छ ।

रितेशकुमार राना

उता २९ वर्षीय रितेशकुमार रानाको घरमा पनि यस्तै अवस्था छ । उनकी श्रीमती सिन्टो राना, वृद्ध आमा, शारीरिक रूपमा अशक्त दिदी र छोरी अहिले रितेशको खबर कुरिरहेका छन् । रितेश पनि परिवारका मुख्य कमाउने सदस्य थिए । उनकै कमाइले घरखर्च चल्ने गरेको थियो ।

बाढी आएको दिन बिहान करिब ८ बजेतिर सिन्टोले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । ‘कामबाट आएको र नास्ता खाएर सुत्छु भनेर फोन राख्नुभएको थियो,’ सिन्टो भन्छिन्, ‘बाढीको खबर सुनेपछि ९ बजेतिर फोन गरेँ, तर उठेन ।’

रितेश रानाकी श्रीमती सिन्टो ।

त्यसपछि उनले पटकपटक फोन गरिन् । तर फोन नै लागेन । ‘परिवारको खम्बा हुनुहुन्थ्यो । कमाउने मान्छे अरू कोही छैन,’ सिन्टो भन्छिन्, ‘अहिले उहाँको केही खबर नआउँदा हामी कसरी बाँच्ने भन्ने चिन्तामा छौँ ।’

रितेशको काँधमा आफ्नै परिवार मात्रै थिएन । वृद्ध आमा र शारीरिक रूपमा अशक्त दिदीको जिम्मेवारी पनि उनकै थियो । अहिले उनको घरमा पनि कमाउने हात छैन, तर खर्च रोकिएको छैन ।

क्रेशन राना

कालुराम, क्रेशन र रितेश एउटै परिवारका काका–भतिजा हुन् । कालुराम क्रेशनका काका हुन् भने रितेश ठुला बुवाका छोरा । तीनै जना पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडमार्फत हाइड्रोपावरमा काम गरिरहेका थिए । रसुवामा उनीहरू एउटै कोठामा बस्दै आएका थिए ।

तीनै जनाको खोजीका लागि परिवारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ । क्रेशनका बुवा नन्दकिशोर राना बाढी प्रभावित क्षेत्रदेखि काठमाडौंसम्म पुगेका छन् । उनीहरूले सम्बन्धित निकायसँग खोजीका लागि आग्रह गरिरहेका छन् ।

केही दिनअघि तीनै परिवारका सदस्यले डीएनए नमुनासमेत दिएका छन् । महाकाली प्रादेशिक अस्पतालमा क्रेशनकी आमा, कालुरामका छोरा र रितेशकी छोरीको डीएनए नमुना संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?