+
+
Shares

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीनवटा विधि अपनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडानको तीन विधि अपनाएको छ ।
  • डिएनए परीक्षण केन्द्रिय विधिविज्ञान प्रयोगशाला र नास्टमा भइरहेको छ, र भारत, चीन, दक्षिण कोरिया तथा सिङ्गापुरका विज्ञले सहयोग गरिरहेका छन् ।
  • शनिबारसम्म १ हजार २३० शव माटोमुनि व्यवस्थापन गरिएको छ, र मृतक तथा आफन्तका ३ हजार ६५ डिएनए नमुना सङ्कलन गरिएको छ ।

२७ भदौ, काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीनवटा विधि अपनाएको छ ।

बाढीमा फेला परेका शवबाट सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहोस् भनेर सूक्ष्म रूपमा परीक्षण अघि बढाइएको छ । नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सहयोग गर्न भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञसमेत नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ विज्ञले सहयोग गरिरहेका छन् ।

डिएनए परीक्षणका लागि चारवटा मेसिन सञ्चालनमा छन् । आवश्यक तयारीपछि एउटा मेसिनले करिब ९० मिनेटमा एउटा नमुनाको नतिजा निकाल्ने भए पनि अर्को नमुना परीक्षण गर्नुअघि मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।

विशेषज्ञका अनुसार मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्न सक्छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाएर विशेष रसायनमा राखिन्छ । त्यसपछि करिब ७२ घण्टापछि मात्रै थप परीक्षण प्रक्रिया अघि बढाइन्छ ।

शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

प्रहरीको विधिविज्ञान प्रयोगशालाको वार्षिक क्षमता करिब ४०० वटा डिएनए परीक्षण गर्ने रहेको छ । अहिले दैनिक २५ देखि ३० वटा नमुना परीक्षण भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । प्रहरीले भदौ १३ गतेदेखि डिएनए नमुना सङ्कलन सुरु गरेको हो । हालसम्म करिब ४०० भन्दा बढी नमुनाको परीक्षण भइसकेको छ ।

कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञले बताएका छन् । विशेषगरी हड्डी र दाँतबाट निकालिएका डिएनए नमुनामध्ये करिब ३० प्रतिशतसम्मको नतिजा दोहोर्‍याएर परीक्षण गर्नुपर्ने हुनसक्ने बताइएको छ ।

फेला परेका शवका नमुनाको जतिसक्दो छिटो डिएनए परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । परीक्षणलाई तीव्रता दिन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा समेत प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ । मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ,” उनले भने।

भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आवश्यक पहल गरिरहनुभएको छ ।

डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयर

फेला परेका शव र हराइरहेका व्यक्तिका नजिकका आफन्तको नमुना सङ्कलन गरी डिएनए ‘म्याचिङ’ गर्न ‘कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

“मृतक र आफन्तको डिएनए निकालेर सफ्टवेयरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो,” प्रवक्ता काफ्लेले भने।

उहाँका अनुसार कोडिस अन्तर्राष्ट्रिय सफ्टवेयर हो । “यो सफ्टवेयरमा मृतक र आफन्तको डिएनए रिपोर्ट राखेपछि सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ,” उनले भने, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तर्राष्ट्रिय अभ्यास र कानूनबमोजिम हस्तान्तरण गर्छौं ।”

डिएनए परीक्षणको काम जतिसक्दो छिटो सम्पन्न गर्न प्रहरीका सम्बन्धित सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ । प्रहरीका जनशक्तिलाई बिदासमेत नदिई २४सै घण्टा ड्युटीमा खटाइएको छ ।

“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्,” उनले भने।

डिएनए परीक्षण खर्चिलो र समय लाग्ने प्रक्रिया भएकाले सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गरेको छ । तर, मृतकको शव फेला पर्ने क्रम बढिरहेको तथा आवश्यक उपकरण र जनशक्तिको अभाव हुँदा प्रहरीलाई चुनौती थपिएको छ ।

सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सके अहिले देखिएको चुनौती कम गर्न सकिने प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालले बाढी प्रभावित क्षेत्रबाट मृतक तथा आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी रहेको बताए।

“सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ,” उनले भने।

कुनै पनि व्यक्तिको पहिचान गर्नुका साथै व्यक्तिहरूबीचको जैविक सम्बन्ध स्थापित गर्न डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधन मानिन्छ ।

शव पहिचानमा तीन विधि

फेला परेका शव पहिचानका लागि प्रहरीले डिएनए परीक्षणसँगै औँठाछाप र फोटो भिडानको विधिसमेत अपनाएको छ ।

प्रवक्ता काफ्लेका अनुसार हराएका व्यक्ति र फेला परेका शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ ।

“केही शवको औँठाछाप निकालेका छौँ । त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ,” उनले भने ।

औँठाछाप ‘भेरिफाइ’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतका प्रणालीबाट जैविक विवरण लिइरहेको छ । यो विधि तुलनात्मक रूपमा कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?