+
+
Shares

रुकुमपूर्व अस्पताल : अक्सिजन प्लान्ट छ, उत्पादन छैन

अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरहवालगायत बाहिरी जिल्लाबाट सिलिन्डर ल्याउनुपर्ने बाध्यता अहिले छ ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ असोज ५ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्व अस्पतालमा पाँच वर्षअघि जडान गरिएको अक्सिजन प्लान्ट नियमित सञ्चालनमा आउन सकेको छैन र बिरामीलाई अक्सिजन चाहिँदा बाहिरबाट सिलिन्डर ल्याउनुपरेको छ।
  • ३१ असारको पहिरोले अक्सिजन प्लान्टको बुस्टर र अन्य भागमा क्षति पुगेपछि हाल उत्पादन रोकिएको छ र सरसफाइ जारी छ।
  • जिल्ला प्रशासनले जोखिमयुक्त प्लान्टलाई सुरक्षित स्थानमा सारेर पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ भने सिस्ने गाउँपालिकाले सहयोग गर्ने बताएको छ।

५ असोज, रुकुमपूर्व । कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रुकुमपूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट पाँच वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरहवालगायत बाहिरी जिल्लाबाट सिलिन्डर ल्याउनुपर्ने बाध्यता अहिले छ । लाखौं रुपैयाँ खर्च गरेर जडान गरिएको प्लान्ट नियमित सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रतिफलमाथि प्रश्न उठेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा रुकुमपूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । टेन्डर प्रक्रियामार्फत करिब ७२ लाख रुपैयाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको अभिलेखमा उल्लेख छ ।

प्लान्ट जडान गर्दा दैनिक ४० लिटर क्षमताका ३० देखि ३२ वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको बताइएको थियो । तर अहिले अस्पतालमा बिरामीलाई अक्सिजन आवश्यक पर्दा बाहिरबाटै सिलिन्डर ल्याउनुपर्ने अवस्था छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालका अनुसार अस्पतालमै अक्सिजन उत्पादन गर्न सकिए उपचार सेवा सञ्चालनमा सहज हुनेछ ।

‘यहाँ अक्सिजन उत्पादन भए धेरै सहज हुने थियो,’ उनले भने, ‘बिरामीको चाप बढिरहेको छ । आवश्यक पर्दा बाहिरबाट सिलिन्डर ल्याउनुपर्ने अवस्था छ ।’

प्लान्टमा पहिरोले क्षति

गत ३१ असारमा अविरल वर्षापछिको पहिरोले अक्सिजन प्लान्टमा क्षति पुगेको छ । सिस्ने गाउँपालिका-५ मा सडक खन्ने क्रममा थुपारिएको ढुंगामाटो वर्षाको पानीले बगाउँदा अक्सिजन प्लान्टमा क्षति पुगेको डा. खराल बताउँछन् । पहिरोले अक्सिजन प्लान्टको बुस्टर पूर्णरूपमा क्षति पुगेको र अन्य पार्टपुर्जामा समेत आंशिक क्षति पुगेको उनले बताए । बाटो विस्तार गर्नेक्रममा थुपारिएको ढुंगामाटो खस्दा अक्सिजन प्लान्टमा क्षति पुगेकोले सडक विस्तारमा संलग्न निकाय र निर्माण कम्पनीसँग क्षतिपूर्ति मागका लागि आवश्यक पहल गरिएको उनले बताए । क्षतिपूर्ति उपलब्ध गराउने विषयमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वसँग आवश्यक पहल भएको उनले बताए । रुकुमपूर्व प्रहरीले पनि आवश्यक प्रक्रिया अगाडि बढाएको उनले बताए ।

पहिरोले क्षति पुगेकोले अहिले प्लान्टबाट अक्सिजन उत्पादन गर्न सकिने अवस्था नरहेको डा. खरालको भनाइ छ ।

डा. खरालले अनलाइनखबरसँग भने, ‘म आएको १५/१६ महिना जति भयो । ५/६ महिना जति प्लान्टबाट अक्सिजन उत्पादन पनि गरेका थियौं । तर विद्युत् नियमित नहुँदा उत्पादनको कामलाई निरन्तरता दिन सकेनौं ।’

प्लान्ट सञ्चालनका लागि अस्पतालमा दक्ष प्राविधिक टोलीको अभाव रहेको उनले बताए ।

उनले थपे, ‘जेनेरेटरबाट प्लान्ट सञ्चालन गर्दा महँगो पर्न जान्छ । यसरी उत्पादन गर्नुभन्दा बाहिरबाट आपूर्ति गर्दा सस्तो पर्न जान्छ ।’

अस्पताल परिसरमा रहेका अक्सिजन उत्पादनसम्बन्धी उपकरण, पाइपलाइन तथा प्रेसर प्रणालीका संरचना प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कृष्ण खड्काले बताए ।

‘यति ठूलो रकम खर्च गरेर बनाइएको प्लान्ट नियमित चल्न नसक्नु राज्यको सम्पत्ति खेर जानु हो,’ उनले भने ।

 

प्रशासन भन्छ- प्लान्टलाई सुरक्षित स्थानमा सार्ने तयारी छ

सिस्ने गाउँपालिका–५ रुमालबारा जोड्ने सडकबाट आएको बर्खे भलले रुकुमपूर्व अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्टमा क्षति पुगेपछि अस्पतालले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो।

निवेदनपछि प्रशासनले सिस्ने गाउँपालिकालाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताइन्।

उनका अनुसार जोखिमयुक्त स्थानमा रहेको अक्सिजन प्लान्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यसका लागि आवश्यक विद्युत् व्यवस्था र प्राविधिक जनशक्तिसँग समन्वय भइरहेको उनले बताइन्।

‘अक्सिजन प्लान्ट जोखिमयुक्त स्थानमा रहेकाले त्यसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ प्रजिअ राईले अनलाइनखबरसँग भनिन्, ‘त्यसका लागि आवश्यक विद्युत् र प्राविधिक टिमसँग समन्वय भइरहेको छ।’

गाउँपालिका भन्छ- प्लान्ट सञ्चालनका लागि आवश्यक सहयोग हुन्छ

सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले भने बर्खाको भलले प्लान्ट पूर्ण रूपमा बिगारेको अवस्था नरहेको बताए ।

उनका अनुसार प्लान्ट विगतका वर्षदेखि नै नियमित प्रयोगमा थिएन।

‘वर्षातको समयमा आएको भलले प्लान्ट पूर्ण रूपमा बिगारेको भन्ने होइन,’ रेउले अनलाइनखबरसँग भने, ‘यो प्लान्ट विगतका वर्षदेखि नै प्रयोगमा थिएन। सडकबाट भल आएर क्षति पुगेको विषयमा प्रहरीले मुचुल्का बनाएको रहेछ।’

अक्सिजन प्लान्ट अस्पतालको सम्पत्ति मात्र नभई जिल्लाकै स्वास्थ्य सेवासँग जोडिएको विषय भएकाले गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने उनले बताए ।

‘यो गाउँपालिकाले मात्र बनाउने वा हेर्ने विषय होइन, सबैको साझा दायित्व हो,’ उनले भने, ‘त्यसैले गाउँपालिकाले प्लान्ट आसपास थुप्रिएको माटो हटाउन जनशक्ति परिचालन गरेको छ ।’

सरसफाइ चल्दै

डा. खरालका अनुसार पछिल्लको केही दिनयता पहिरोबाट क्षति पुगेको अक्सिजन प्लान्ट सरसफाइको काम जारी छ ।

अक्सिजन प्लानमा थुप्रिएको ढुंगागिट्टी  झिकेर फाल्ने काम भइरहेको उनले बताए ।

उनका अनुसार सम्बन्धित पक्षले अक्सिजन प्लान्टमा पहिरोले थुपारेको ढुंगामाटो झिकेर फाल्ने काम गरिरहेको र केही दिनमा सरसफाइको काम सकिने छ ।

 

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?