५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशकी पूर्वकार्यवाहक सभापति गोमा तामाङलाई ७२ घण्टे स्पष्टीकरण मागेको छ । कोशी प्रदेश संगठन विभागले पूर्वकार्यवाहक सभापति तामाङलाई स्पष्टीकरण सोधेको हो ।
पार्टीको विधान, नीति, आचारसंहिता तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको कोशी प्रदेश संगठन विभाग प्रमुख तथा रास्वपाका सहमहामन्त्री इन्जिनियर सुरेन्द्र कार्कीले जानकारी दिए ।
सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा प्रदेश र स्थानीय संरचनाबाट प्राप्त लिखित-मौखिक सूचना, प्रतिवेदन र प्रमाणका आधारमा उनीमाथि विभिन्न प्रश्न उठेको पत्रमा उल्लेख छ ।
तामाङमाथि पार्टीको आन्तरिक संगठनमा हस्तक्षेप, गुटबन्दीसम्बन्धी गतिविधि तथा सामाजिक सञ्जालमार्फत संगठनात्मक विषय सार्वजनिक गरेको आरोप लगाइएको छ ।
कोशी प्रदेश निर्वाचनका क्रममा ११ जुनमा उनको सामाजिक सञ्जालबाट पोस्ट, कमेन्ट र रियाक्सनमार्फत गुटबन्दीसम्बन्धी विषय सार्वजनिक गरिएको पत्रमा उल्लेख छ ।
त्यस्तै, १२ जुनमा कोशी प्रदेशका नवनिर्वाचित सभापतिहरूको तस्वीरसहित आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरेको आरोप पनि लगाइएको छ । निर्वाचन प्रक्रियाप्रति कुनै आपत्ति भए पार्टीको विधानअनुसार सम्बन्धित निकायमा प्रस्तुत गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको विषयमा विभागले स्पष्टीकरण मागेको हो ।
११ जुनमा सामाजिक सञ्जालमार्फत ‘अबबाट राजनीतिक बीट मार्ने’ भन्ने अभिव्यक्ति दिएको विषयमा पनि तामाङसँग स्पष्टीकरण मागिएको छ । उक्त अभिव्यक्तिसँग सम्बन्धित उनको राजनीतिक तथा संगठनात्मक भूमिका स्पष्ट गर्नुपर्ने पत्रमा उल्लेख छ ।
यसैगरी, प्रदेश कार्यसमितिको सचिवालय तथा पार्टीका विभिन्न औपचारिक संरचनाका गतिविधिलाई ‘गुटबन्दी’को संज्ञा दिएको विषयमा पनि विभागले प्रश्न उठाएको छ । वैधानिक संगठनात्मक संरचना, निर्वाचन नेतृत्व तथा संस्थागत गतिविधिबारे सार्वजनिक रूपमा त्यस्तो धारणा व्यक्त गर्नुको तथ्यगत आधार, सन्दर्भ र आशय स्पष्ट गर्न भनिएको छ ।
विभागले यी विषयबाट पार्टीको विधान–२०८२ को खण्ड १६ का विभिन्न व्यवस्थासमेत उल्लंघन भएको हो कि होइन भन्ने प्रश्न उठेको जनाएको छ । विधानको खण्ड ५४ अनुसार प्रारम्भिक छानबिन तथा सुनुवाइको प्रक्रियामा आरोपित पक्षलाई आफ्नो धारणा राख्ने अवसर हुने उल्लेख गर्दै विभागले तामाङलाई स्पष्टीकरणको मौका दिएको हो ।
पत्र प्राप्त भएको मितिले ७२ घण्टाभित्र तथ्यपरक, स्पष्ट तथा विधानसम्मत लिखित स्पष्टीकरण कोशी प्रदेश संगठन विभागसमक्ष स्वयं उपस्थित भएर वा आधिकारिक इमेल/ह्वाट्सएपमार्फत बुझाउन निर्देशन दिइएको छ ।
तोकिएको अवधिभित्र स्पष्टीकरण नआएमा वा प्राप्त स्पष्टीकरण तथ्य तथा प्रमाणमा आधारित नदेखिएमा विधान तथा अनुशासनसम्बन्धी प्रावधानअनुसार आवश्यक कारबाहीका लागि सम्बन्धित अनुशासनिक निकायमा प्रतिवेदन तथा सिफारिससहित प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।
स्पष्टीकरण सोधिएकी तामाङ गत चुनावमा सुनसरीको धरान क्षेत्रबाट श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थियो । अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट रास्वपाबाटै उम्मेदवार बनेर पराजित भएकी थिइनं ।
प्रतिक्रिया 4