+
+
Shares

कर्णालीमा भारी वर्षा : कुन–कुन सडकखण्ड बने अवरुद्ध ?

कर्णाली राजमार्गअन्तर्गत तिलागुफा नगरपालिका–१ भिग्मामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १० गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका कर्णाली राजमार्ग, राप्ती राजमार्ग र अन्य सडकखण्डमा पहिरो र माटो खसेर यातायात प्रभावित भएको छ।
  • कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला, तिलागुफा नगरपालिका–१ भिग्मा र जुम्लाको तातोपानी गाउँपालिकाअन्तर्गत नाग्मा–जुम्ला सडकखण्ड अवरुद्ध भएका छन्।
  • मुगुको पिना, जाजरकोटको लेवाभीर र हुम्लाको खच्चामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ, भने सल्यानको अरिङ्गालेमा राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

१० असोज, सुर्खेत । लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो तथा माटो खस्दा कर्णाली राजमार्ग, राप्ती राजमार्ग र अन्य सडकमा यातायात प्रभावित भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा सडक अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत तिलागुफा नगरपालिका–१ भिग्मामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाअन्तर्गत पर्ने नाग्मा–जुम्ला सडकखण्डमा पनि यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड कर्णाली राजमार्गअन्तर्गत पर्छ । यस्तै मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ पिना क्षेत्रमा गमगढी–नाग्मा सडकखण्ड अवरुद्ध भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरमा भित्री सडक अवरुद्ध भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ स्थित अरिङ्गालेमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भए पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

भारी वर्षाका कारण सडकखण्डहरूमा पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकखण्ड खुलाउने तथा यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले वर्षाका कारण कर्णालीका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिए ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?