२१ असोज, काठमाडौं । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजबाट नेपालका बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ अमेरिकी डलर सहयोग जुटाइएको छ ।
सिरिजका क्रममा जुटाइएको उक्त रकम युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिने जनाइएको छ । रकम नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित बालबालिकाको सहयोगमा खर्च हुनेछ ।
युनिसेफ अस्ट्रेलियामार्फत उक्त रकम प्रभावित बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन प्रयोग गरिने जनाइएको छ ।
सहयोग अभियानमा साथ दिने नेपाली समुदाय, चिठ्ठा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्टडी एनटीका राजदूत तथा टिकट खरिद गर्ने, चिठ्ठामा सहभागी हुने र प्रत्यक्ष सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ ।
नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा भएको टप एन्ड टी-२० सिरिजमा सहभागी भएको थियो । उक्त सिरिज चल्दै गर्दा नेपालको रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा विनाशकारी बाढी आएको थियो ।
त्यसबेला बाढीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको थियो भने युनिसेफ अस्ट्रेलियाको नेपाल आपत्कालीन राहत अभियान मा सहयोग गर्न पनि अपिल गरेको थियो ।
प्रतिक्रिया 4