२२ असोज, जनकपुरधाम । जनकपुरधाममा धारिलो हतियार छुरा प्रहारबाट एक युवक हत्या भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको हो ।
उपचारको क्रममा आमिन साफीको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका इम्तियाज राइनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
सोही ठाउँका करिब २२ वर्षीय मोहम्मद इर्साद खानले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । इर्सादलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुरानो रिसिइबीका कारण इर्सादले दुवै जनाको छाती र पेटमा धारिलो हतियार प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4