+
+
Shares

कञ्चनपुर आरक्षपीडितको चेतावनी : पैदल मार्चसहित काठमाडौं जान्छौं

आरक्षपीडित संघर्ष समितिले लामो समयदेखि सरकारसँग माग राख्दै आए पनि पूरा नभएकाले आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते २१:४१

२२ असोज, कञ्चनपुर । २५ वर्षदेखि पुनर्स्थापनाको माग गर्दै आएका कञ्चनपुरका आरक्षपीडितहरू अब पैदल काठमाडौं जाने भएका छन् । काठमाडौं पुगेर एक हप्तासम्म आन्दोलन गर्ने र त्यस अवधिमा पनि सरकारले समस्या समाधान नगरे आत्मदाह गर्ने चेतावनीसहित उनीहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

आरक्षपीडित संघर्ष समितिले लामो समयदेखि सरकारसँग माग राख्दै आए पनि पूरा नभएकाले आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने निर्णय गरेको हो ।

पटक–पटक आयोग गठन, समिति निर्माण र सहमति भए पनि समस्या समाधान नभएको भन्दै पीडितले अब आश्वासनमा आन्दोलन नरोकिने बताएका छन् । संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले सरकारले पटक–पटक आश्वासन दिए पनि आफूहरूको समस्या समाधान नभएको बताए ।

‘३३–३४ वटा आयोग बने, पटक–पटक आश्वासन पनि पाएँ । तर हाम्रो समस्या समाधान भएन,’ रोकायाले भने ।

उनका अनुसार, अबको एक साताभित्र काठमाडौं पुगेर एक हप्तासम्म आन्दोलन गर्दा पनि माग सम्बोधन नभए आत्मदाह गर्ने चेतावनीसहित सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

२०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा घर जग्गाबाट विस्थापित भएका उनीहरू दुई दशकभन्दा बढी समयदेखि पुनर्स्थापनाको पर्खाइमा छन् । केही परिवारको व्यवस्थापन भए पनि ठूलो संख्यामा पीडित अझै अस्थायी टहरा र शिविरमा बस्दै आएका छन् ।

पीडितहरूको विवरणअनुसार आरक्ष विस्तारका क्रममा रौतेली बिछुवा, देखतभुली र पिपलाडीका ११ वडाका ४ हजार ३१४ परिवार विस्थापित भएका थिए । तीमध्ये २ हजार ४७३ परिवार अझै व्यवस्थापन हुन बाँकी रहेको संघर्ष समितिको दाबी छ ।

आरक्षपीडितले प्रत्येक परिवारलाई कम्तीमा १० कठ्ठा जमिन उपलब्ध गराउनुपर्ने, विस्थापित भएको २५ वर्षको क्षतिपूर्ति दिनुपर्ने, एउटै वडामा व्यवस्थित पुनर्स्थापना गर्नुपर्ने तथा आधारभूत सेवा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, समस्या समाधानका लागि गठन हुने अधिकारसम्पन्न आयोगमा आरक्षपीडित संघर्ष समितिको प्रतिनिधित्व हुनुपर्ने मागसमेत उनीहरूको छ ।

स्थायी पुनर्स्थापना नहुँदा आरक्षपीडितका अस्थायी बस्तीमा वर्षायाममा डुबानको समस्या दोहोरिने गरेको छ । यसै वर्ष भीमदत्त नगरपालिका–४ भगतपुरस्थित आरक्षपीडितको सेल्टर डुबानमा परेको थियो ।

संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायका अनुसार, त्यहाँ करिब ५०० परिवार बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?