+
+
Shares

क्यामेरा चलिरह्यो, नाना पाटेकर जलिरहे : ‘परिंदा’ को त्यो दर्दनाक दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ९:५४

क्यामेरा चलिरहेको थियो । अगाडि आगो दन्किरहेको थियो । नाना पाटेकर त्यसबाट उम्किन खोजिरहेका थिए । उनको शरीरमा आगो सल्किएको थियो । उनी छटपटाइरहेका थिए ।

तर त्यो अभिनय थिएन । त्यो अहिलेको जस्तो भिएफएक्सको आगो पनि थिएन । नाना पाटेकर साँच्चिकै जलिरहेका थिए । दृश्य पूरा भयो । क्यामेरा रोकियो । निर्देशकले ‘कट’ भने । तर नानाको पीडा रोकिएन ।

पर्दामा केही सेकेन्ड देखिने त्यो दृश्यका लागि उनले करिब दुई महिना अस्पतालको शैय्यामा बिताउनुपर्‍यो ।

उक्त घटनाका कारण उनले झण्डै एक वर्षसम्म आफूले केही गर्न नसकेको बताएका थिए ।

त्यो दृश्य थियो, सन् १९८९ को चर्चित फिल्म ‘परिंदा’ को दमदार क्लाइमेक्सको ।

अब नाना पाटेकर हामीमाझ रहेनन् ।

७५ वर्षको उमेरमा बिहीबार उनको निधन भयो । उनको निधनसँगै उनका फिल्म, संवाद र अभिनयका किस्साहरू पनि स्मरण गर्न थालिएको छ ।
तीमध्ये ‘परिंदा’ को त्यो दृश्य पनि एक हो ।

सक्कली आगोको सेट

‘परिंदा’ मा नाना पाटेकरले अन्नाको भूमिका निर्वाह गरेका थिए । फिल्मको क्लाइमेक्समा उनको पात्र आगोमा फस्छ । आगोबाट बच्न खोज्दै गरेको नानाको दृश्य फिल्मकै सबैभन्दा तनावपूर्ण दृश्यमा पर्छ ।

दर्शकले पर्दामा त्यो दृश्य हेर्दा आगो साँच्चिकै होला भन्ने सोच्दैनन् । आखिर, फिल्ममा देखाइने आगो पनि त अभिनयकै एउटा हिस्सा हो । तर नानाका लागि त्यो अभिनय थिएन ।

उनले यही घट्नालाई स्मरण गर्दै एक अन्तर्वार्तामा भनेका थिए, ‘त्यो वास्तविक आगो थियो । म साँच्चै जलिरहेको थिएँ ।’ त्यो दृश्य खिच्ने क्रममा उनको शरीरका छाला नराम्ररी जल्यो । आगोले उनको छाला नै छिलिएको थियो । दाह्री र जुँगा समेत जले।

दृश्य सकिएपछि उनलाई उपचारका लागि अस्पताल लगियो ।

त्यसपछि सुरु भयो लामो उपचार ।

नाना करिब ६० दिन अस्पतालमा भर्ना भए । अस्पतालबाट फर्किएपछि पनि उनी सामान्य अवस्थामा थिएनन् । करिब ६ महिनासम्म ओछ्यानमै आराम गर्नुपर्‍यो । उनले उक्त घटनापछि आफू झण्डै एक वर्षसम्म काम गर्न नसकेको बताएका थिए ।

अर्थात्, दर्शकले पर्दामा केही सेकेन्ड हेरेको एउटा दृश्यका लागि नानाले आफ्नो जीवनको झण्डै एक वर्ष गुमाए ।

पहिलो टेकमा तीन बाल्टी, दोस्रोमा १४

यो दृश्य खिच्ने क्रममा के भएको थियो भन्नेबारे पनि नानाले पछि खुलाएका थिए । उनका अनुसार पहिलो टेकमा तीन बाल्टी पानी प्रयोग गरिएको थियो । तर दोस्रो टेकसम्म पुग्दा आगो निकै तीव्र भइसकेको थियो । आगो नियन्त्रण गर्न १४ बाल्टी पानीसम्म प्रयोग गर्नुपरेको थियो । त्यही क्रममा दुर्घटना भयो ।

नानाले यो घटना निर्देशक विनोद चोपडाको योजनाअनुसार भएको नभएको पनि स्पष्ट पारेका थिए । आफूलाई जलाउने उद्देश्य कसैको नभएको उनको भनाइ थियो । उनले यसलाई दुर्घटना बताएका थिए ।

‘यो दुर्घटना थियो । विनोदले म जलूँ भन्ने चाहेका थिएनन् । यो बस भयो,’ उनले भनेका थिए । तर यो नसोचेको दुर्घटना भए पनि त्यसको असर भने निकै ठूलो थियो ।

उनको शरीरमा लागेको चोट निको हुन लामो समय लाग्यो । कामबाट टाढा बस्नुपर्‍यो । एउटा फिल्मको दृश्यले उनलाई शारीरिक र मानसिक रूपमा ठूलो धक्का दिएको थियो ।

आज सम्झिँदा झन् फरक लाग्ने त्यो दृश्य

नाना पाटेकरको अभिनयको एउटा विशेषता थियो, उनी पात्रलाई संवाद र हाउभाउबाट प्रस्तुत गर्दैनथे, पात्रको पीडा पनि महसुस गराउने प्रयास गर्थे ।
‘परिंदा’ मा पनि उनले त्यही गरे ।

तर यो फिल्मको त्यो दृश्य सम्झिनु भयो वा अब हेर्दा याद गर्नु भयो भने एउटा कुरा छुट्याउन गाह्रो हुन्छ, उनले अभिनय कति गरे र वास्तविक पीडा कति भोगे ? सेटको त्यो आगोले छाला साँच्चिकै जलेको थियो । उनको शरीर साँच्चिकै घाइते भएको थियो ।

सिनेमामा दर्शकले एउटा दृश्य हेर्छन् । दृश्य सकिन्छ । कथा अघि बढ्छ । तर कलाकारका लागि त्यो दृश्यको प्रभाव कहिलेकाहीँ क्यामेरा बन्द भएपछि पनि बाँकी रहन्छ ।

नाना पाटेकरको जीवनमा ‘परिंदा’ को त्यो आगो त्यस्तै एउटा घटना थियो ।

आज उनको जीवनको अन्तिम अध्याय पनि अचानक बन्द भएको छ । पर्दामा कहिले आगोसँग लडेका नाना, जीवनमा पनि अनेक उतारचढाव पार गर्दै अघि बढे । तर ‘परिंदा’ को त्यो दृश्य भने उनको अभिनय यात्राको अवश्मरणिय किस्सा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?