२५ असोज, सङ्खुवासभा । नेपाली कांग्रेसको देउवा समूहको संखुवासभाको सभापतिमा रामकुमार जिमी जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार चैनपुरमा सम्पन्न अधिवेशनले जिमीलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी नेपाली कांग्रेस संखुवासभाको १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजकसमेत हुन् ।
नेपाली कांग्रेस संखुवासभाका पूर्वसचिव कुमारबाबु अधिकारीका अनुसार अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा कैलाश बिष्ट र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा बद्री घिमिरे सर्वसम्मत चयन भएका छन् । अन्य पदाधिकारीको नाम भने खुलाएको छैन ।
अधिवेशनले १५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको अधिकारीले जानकारी दिए ।
अधिवेशनबाट जिल्ला तथा प्रदेशस्तरको नेतृत्व चयन भएसँगै पार्टीको संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4