News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
- उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको र बदलिँदो परिवेश अनुसार परिष्कृत गर्नुपर्ने बताउनुभयो ।
- मन्त्री तिमिल्सिनाले घरघरमा राहदानी र अन्य सामग्रीको वितरणपछि हुलाक सेवाको महत्व बढेको भन्दै कर्मचारीदेखि नेतृत्वसम्म जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
२७ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको पनि बताए । सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्व बढेको उनको भनाइ छ ।
‘हाम्रो जुन हुलाक प्रणाली ऐतिहासिक छ, यसका आफ्नै क्षमता र कमजोरीहरु होलान् । एक किसिमले चलिराको हुलाकलाई नयाँ सरकार आएर सरकारी कुरियर सेवाको रुपमा काम गर्नुपर्छ भनेर लागेको छ, यसमा तपाईंहरूले काम गरिराख्नु भएको छ । रातारात सबै सुधार हुँदैन, तर सुधार हुँदै गएको छ । सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत घर घरमा पासपोर्टहरू पुगेको छ । अन्य सामग्रीहरू पनि डेलिभरी हुन थालेको छ,’ मन्त्री तिमिल्सिनाले भने ।
हुलाक सेवामा रहेका समस्याहरुलाई समाधान गर्दै जाने बताउँदै उनले बजेट र प्रविधिसम्बन्धी सिमितताका कारण एकैपटक सबै क्षेत्रमा सुधार गर्न सम्भव नभएपनि क्रमश: उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर सेवालाई सहज बनाउनुपर्नेमा जोड दिए ।
‘हुलाकले आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दोरहेछ भन्ने खालको सन्देश जनमानससम्म जान थालेको छ, त्यो सकारात्मक कुरा हो । जतिसुकै शक्तिशाली, आधुनिक देशहरूमा पनि हुलाक खारेज भएको छैन । हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, कामको प्रकृति फरक भएको होला, तर हुलाक खारेज भएको छैन भने देखि हाम्रो देशमा हुने कुरै भएन,’ उनले भने ।
हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । संस्थाको सुधारमा मन्त्रालय र समग्र सरकार सकारात्मक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4