+
+
Shares

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते ६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा आबद्ध हुने भएकी छन्।
  • आर्डर्नले स्कुल अफ पब्लिक हेल्थमा अतिथि व्याख्यान, विशेष कक्षा र मेन्टरसिपमार्फत नेतृत्व विकासमा योगदान दिनेछिन्।
  • विश्वविद्यालयले आर्डर्नको अनुभवले विद्यार्थीलाई सार्वजनिक नेतृत्व, सेवा र मानवीय संवेदनाबारे प्रत्यक्ष सिक्ने अवसर मिल्ने जनाएको छ।

अस्ट्रेलिया। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध हुने भएकी छन्।

अब उनले विश्वविद्यालयमा विद्यार्थी तथा अनुसन्धानकर्तासँग अनुभव साट्दै अतिथि व्याख्यान, विशेष कक्षा र मेन्टरसिपमार्फत नेतृत्व विकासमा योगदान दिनेछिन्।

विश्वविद्यालयले अक्टोबर २७ मा सार्वजनिक गरेको जानकारीअनुसार आर्डर्नलाई ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरिएको जनाएको छ । उनी विश्वविद्यालयको स्वास्थ्य तथा चिकित्सा संकायअन्तर्गत स्कुल अफ पब्लिक हेल्थमा रहेर काम गर्नेछिन्। आर्डर्नको यो पूर्णकालीन अध्यापनको पद भने होइन।

आर्डर्नको जिम्मेवारी विशेषगरी मानवीय संवेदनासहितको नेतृत्व, सामाजिक सद्भाव, नागरिक विश्वास तथा विश्वव्यापी स्वास्थ्य चुनौतीका विषयमा केन्द्रित रहनेछ । स्वास्थ्य सेवामा समान पहुँच, समावेशिता र जनकल्याणका क्षेत्रमा पनि उनले विश्वविद्यालयसँग पनि सहकार्य गर्नेछिन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डर्नले सन् २०२३ सम्म सरकारको नेतृत्व गरेकी थिइन्। उनको कार्यकालमा क्राइस्टचर्च मस्जिदमा भएको आतङ्कवादी आक्रमण, ह्वाकारी ज्वालामुखी विस्फोट र कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिको सामना गर्नुपरेको थियो।

प्रधानमन्त्री पदबाट बाहिरिएपछि पनि उनले सार्वजनिक नेतृत्व र विश्वव्यापी चुनौतीका विषयमा आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छन्। उनले हार्वर्ड विश्वविद्यालयमा फेलोसिप पूरा गर्नुका साथै बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग पनि आबद्ध भएर काम गरेकी छन्।

सिड्नी विश्वविद्यालयका उपकुलपति तथा अध्यक्ष मार्क स्कटले आर्डर्नलाई विश्वविद्यालयमा स्वागत गर्दै सार्वजनिक जीवनमा उनले देखाएको साहस र मानवीय संवेदनाको प्रशंसा गरेका छन्। उनका अनुसार आर्डर्नको अनुभवबाट विद्यार्थीले सार्वजनिक नेतृत्व र सेवाका विषयमा प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउनेछन्।

विश्वविद्यालयमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै आर्डर्नले आफू प्रधानमन्त्री पदबाट बाहिरिएपछि नेतृत्वको विषयमा थप केन्द्रित भएको बताएकी छन्। विश्वव्यापी चुनौतीको सामना गर्न आवश्यक नेतृत्वलाई कसरी प्रोत्साहन र सहयोग गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थी तथा प्राज्ञिक समुदायसँग मिलेर काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ।

आर्डर्नको यो नियुक्तिले राजनीतिक नेतृत्वको अनुभवलाई शैक्षिक क्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। उनको अनुभवबाट विद्यार्थीले नेतृत्व भनेको निर्णय लिनु मात्र नभई समाजका आवश्यकता बुझ्नु, कठिन परिस्थितिमा जिम्मेवारी वहन गर्नु र मानवीय संवेदनालाई व्यवहारमा उतार्नु पनि हो भन्ने विषयमा सिक्ने अवसर पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?