१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफदेहिता माग गरेका छन् ।
पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिएको मान्न नसकिने उल्लेख गर्दै उनले पक्राउको निर्देशन दिने, पक्राउ गर्नुको कारण र पक्राउको जिम्मेवारीबारे सरकारले दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने ? यो मुख्य प्रश्नको जवाफ जरुरी छ ।’
वरिष्ठ उपसभापति शर्माले केही महिनाअघि सञ्चारगृह अगाडि सवारीसाधन राखेर अवरोध तथा त्रास सिर्जना गरिएको घटनाको समेत स्मरण गराएका छन् । उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी सार्वजनिक गर्न सरकारले चासो नदेखाएको उनको भनाइ छ ।
शर्माले प्रधानमन्त्री कार्यालयले पत्रकार पक्राउमा आफ्नो संलग्नता नरहेको भन्दै दिएको स्पष्टीकरणप्रति पनि प्रश्न उठाएका छन् ।
‘सञ्चारगृहभित्रै छिरेर पत्रकार पक्रिदा प्रधानमन्त्री कार्यालयले भन्यो– ‘गिरफ्तारीमा हामी संलग्न थिएनौं’ । प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन,’ उनले प्रश्न गरेका छन्, ‘प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार ‘सरकारका रुपमा’ देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो ?’
शर्माले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार पक्राउलाई गैरकानुनी भन्दै गरेको विरोधलाई पनि उल्लेख गरेका छन् । तर, सरकार बनाउने पार्टीले गैरकानुनी कार्य भएको बताइसकेपछि आफ्नो दायित्व पूरा भयो भन्ने ठान्न नहुने उनको तर्क छ ।
‘सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ ?,’ उनले सोधेका छन्, ‘अनि गिरफ्तारी गैह्र कानुनी भनिराखेर सरकार बनाउने पार्टीको दायित्व सकिन्छ कि त्यो भन्दा पर गैह्र कानुनी धन्धा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ–मान्छ पनि ?’
प्रतिक्रिया 4