+
+
Shares

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले ब्रान्ड नेपाललाई विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा भन्दै सरकार नेपालको पहिचान विश्वमाझ स्थापित गर्न प्रतिबद्ध रहेको बताए।
  • आईएफएले आयोजना गरेको ‘ब्रान्ड नेपाल’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले सार्वजनिक कूटनीतिमार्फत नेपालको विविध सम्पदा, उपलब्धि र क्षमता प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
  • उनले जलविद्युत्, पर्यटन, डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योगलाई नेपालको रणनीतिक अवसरका रूपमा उपयोग गर्न सकिने बताए।

१९ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा आयोजित ‘ब्रान्ड नेपालः नेशनल एसेट, ग्लोबल न्यारेटिभ्स र स्ट्राटेजिक अपरच्युनिटिज’ विषयक परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठालाई देशको विकास आकाङ्क्षा तथा परराष्ट्र नीतिको महत्त्वपूर्ण रणनीतिक सम्पत्तिका रूपमा व्याख्या गरे।

‘राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र अन्तर्राष्ट्रिय जगत्मा देशको स्थान निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो,’ उनले भने।

परराष्ट्रमन्त्री खनालले नेपालको विश्वव्यापी पहिचान हिमाल, लुम्बिनी र समृद्ध सांस्कृतिक सम्पदासँग जोडिएको उल्लेख गर्दै नेपालको पहिचान यी स्थापित परिचयमा मात्र सीमित नरहेको बताए। काठमाडौँ उपत्यकाको परम्परागत हस्तकला, हिमाली समुदायका बुनाइ परम्परा, थारू समुदायका कला तथा पर्यावरणसम्बन्धी ज्ञान, मैथिली, भोजपुरीलगायत भाषाका साहित्यिक अभिव्यक्ति तथा पूर्वी पहाडका किरात परम्पराहरू नेपालको सामूहिक पहिचानका महत्त्वपूर्ण आधार रहेको परराष्ट्रमन्त्री खनालको भनाइ थियो।

नेपाली समुदायको उद्यमशीलता, कलाकारको सिर्जनशीलता, युवा नवप्रवर्तकका उपलब्धि र विश्वभर रहेका नेपाली पेसाकर्मीको योगदानले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप समृद्ध बनाएको उनले बताए।

‘हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ स्पष्ट रूपमा प्रस्तुत गर्न चाहन्छौँ। आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पुर्‍याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ,’ उनले भने।

परराष्ट्रमन्त्री खनालले ब्रान्ड नेपालको प्रवर्द्धनका लागि तीनवटा प्राथमिकतामा जोड दिए। पहिलो, नेपालको विविध राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र मूल्य अभिवृद्धि गर्ने । दोस्रो, सार्वजनिक कूटनीतिमार्फत नेपालको व्यापक र प्रभावकारी राष्ट्रिय पहिचान निर्माण गर्ने । र, तेस्रो, राष्ट्रिय पहिचानलाई उदीयमान रणनीतिक अवसरसँग जोड्नु आवश्यक रहेको उनको भनाइ छ।

नेपालका अन्तर्राष्ट्रिय उपलब्धि र योगदानलाई विश्वमाझ थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सार्वजनिक कूटनीति महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपालको सहभागिता, सामुदायिक वनको सफल अभ्यास, सिर्जनशील उद्योग, डिजिटल क्षेत्रमा नेपाली युवाको क्षमता र सांस्कृतिक सहअस्तित्वका परम्परालाई नेपालको समकालीन पहिचानका रूपमा प्रस्तुत गर्नुपर्ने बताए।

सार्वजनिक कूटनीतिले अन्तर्राष्ट्रिय समाज, संस्था र समुदायमाझ नेपालको क्षमता तथा उपलब्धि प्रत्यक्ष रूपमा पुर्‍याउन सहयोग गर्ने उनले बताए। परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखा र विदेशस्थित नेपाली नियोगहरूले सांस्कृतिक आदानप्रदान, शैक्षिक साझेदारी, डायस्पोरा परिचालन तथा रणनीतिक सञ्चारमार्फत नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार गरिरहेको परराष्ट्रमन्त्री खनालले बताए।

सन् २०२५ मा आयोजना गरिएको र सन् २०२७ मा पुनः आयोजना गर्ने तयारी रहेको ‘सगरमाथा संवाद’ले जलवायु परिवर्तन र दिगो विकासजस्ता साझा विश्वव्यापी चुनौतीमा संवाद सहजीकरण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको रचनात्मक भूमिका स्थापित गर्न सहयोग पुर्‍याएको उनले उल्लेख गरे।

‘हामीले विश्वमाझ प्रस्तुत गर्ने राष्ट्रिय पहिचान र कथ्यलाई व्यवहारमा सिर्जना गर्ने अनुभवले पनि पुष्टि गर्न सक्नुपर्छ। त्यसबाटै प्रभावकारी सार्वजनिक कूटनीतिको विकास हुन्छ,’ उनले भने। परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय पहिचानलाई रणनीतिक अवसरसँग जोड्नुपर्नेमा जोड दिँदै जलविद्युत्, पर्यटन, डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योगमा नेपालको सम्भावना रहेको बताए।

नेपालको जलविद्युत् स्रोतले क्षेत्रीय ऊर्जा सहकार्यको अवसर प्रदान गर्ने, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले विविध र उच्च मूल्यको पर्यटन प्रवर्द्धन गर्न सक्ने तथा युवा पेसाकर्मी र उद्यमीले डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योगमार्फत नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोडिरहेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?