+
+
Shares

पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम सिर्जना गर्ने षड्यन्त्रको संसद्, संसदीय समिति र नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको छ।
  • सहमहामन्त्री प्रकाश रसाइलीले राज्य संरक्षित व्यक्तिहरूबाट भ्रम फैलाउने प्रयास भएको भन्दै पार्टीले कडा प्रतिवाद र विरोध गर्ने बताए।
  • कांग्रेसले भोटेकोशी बाढी प्रभावित नागरिकलाई सहयोग गर्न २० गते सम्बन्धित सांसद र जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाएको छ।

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए । त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ ।

‘राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ,’ उनले भने ।

त्यस्तै, कांग्रेसले संसद बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए । उनका अनुसार पार्टीले निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष निकालेको छ ।

राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि कांग्रेस त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे ।

‘नेपाली कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ । संसद र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ । पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिवद्धता व्यक्त गर्दछ,’ उनले भने ।

बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल गरेको छ । चाडपर्वको समयमा प्रभावित क्षेत्रका नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले जानकारी दिए ।

‘भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको छ । यसका लागि २० गते दिउँसो २ बजे सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाइएको छ । चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?