२० कात्तिक, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् ।
रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको थियो ।
हालसम्म प्राप्त आवेदनमा मुख्यतः नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष उम्मेदवारका लागि छ । वडाध्यक्ष र सदस्यको उम्मेदवारका लागि सोचे मुताविक आवेदन नपरेपछि सभापति लामिछानेले शुक्रबार चिन्ता व्यक्त गरे ।
‘हाम्रो समस्या छ यहाँ । वडाध्यक्ष उठ्न त म आफैंले राजीनामा दिएर उठ्नुपर्ने जस्तो छ,’ चितवनमा शुक्रबार लामिछानेले भने, ‘हाम्रा साथीहरूले वडाध्यक्ष हेर्दैनन् अहिले । एकैचोटि पालिका हेर्ने हो । तल हेदैनन् हाम्रा साथीहरूले । यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई ।’
अब राजीनामा दिएर वडाध्यक्ष लड्न आफै आउने भन्दै उनले व्यंग्य गरे । ‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने ।
प्रमुख र अध्यक्ष पदमा मात्रै आवेदन दिएर तल्लो पद नहेर्नुले अवसरको राजनीति छर्लंगै देखिएको उनले बताए । अवसरको राजनीति नगर्न कार्यकर्तालाई लामिछानेले सुझाव दिए ।
विगतमा कांग्रेस र कम्युनिस्टहरूले देखाएको निष्ठाको राजनीति अनुसरण गर्न उनले सुझाव दिए । पञ्चायतका ३० वर्षमा कांग्रेसका नेता कार्यकर्ताले अवसर पाइन्छ भनेर राजनीति नगरेको सुनाउँदै त्यसबाट शिक्षा लिन आग्रह गरे ।
प्रतिक्रिया 4