News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले सांसद र नेता–कार्यकर्तालाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न चितवनमा निर्देशन दिएका छन्।
- उनले शक्ति हातमा आएको भन्दै जनता र तल्लो तहका कार्यकर्ताको हुर्मत लिने काम पार्टीलाई सह्य नहुने चेतावनी दिए।
- लामिछानेले माननीय बनेकाहरूले तल्लो तहका कार्यकर्तालाई नदेख्ने र स्थानीय कार्यकर्ताले वडाध्यक्षमा उम्मेदवार नबन्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए।
२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न कडा निर्देशन दिएका छन्।
शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति हातमा आएको भन्दै जनता र तल्लो तहका कार्यकर्ताको हुर्मत लिने काम पार्टीलाई सह्य नहुने चेतावनी दिए।
‘आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘जनताले दिएको यो अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले यो सबै नियालिरहेको छ। जब सर्वाधिक शक्ति मिल्छ, त्यतिबेला नै सर्वाधिक जिम्मेवार भएको महसुस हुनेगरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप सञ्चालन गर्न जरुरी हुन्छ।’
‘माननीय बनेकाले तलकालाई नदेख्ने, नबन्नेमा आरिस’
लामिछानेले पार्टीभित्र सांसद (माननीय) बनेका र सँगै सङ्घर्ष गरेका अन्य साथीहरूबीच देखिन थालेको मनोवैज्ञानिक दुरीप्रति पनि चिन्ता व्यक्त गरे। माननीय भइसकेकाहरूले तल्लो तहका कार्यकर्तालाई नदेखेझैँ गर्दै हिँड्ने र पद नपाएकाहरूले सांसद बनेकाहरूप्रति भित्रभित्रै आरिस गर्ने र कुरा काट्ने प्रवृत्ति बढेको भन्दै उनले दुवै पक्षलाई सचेत गराए।
‘सँगै सङ्घर्ष गरेको साथी आज सांसद भएको छ भने भोलि तपाईंको पालो हो,’ उनले भने, ‘साथीले प्रगति गर्यो भन्दैमा आरिस गर्ने र सँगै भएको साथी तल पर्यो भनेर खिचातानी गर्ने दुवै प्रवृत्ति गलत छन्। यसलाई सच्याएर हामी एकै ठाउँ उभिनुपर्छ।’
‘सबैलाई ठूलै पद चाहिने, वडाध्यक्ष लड्न म आफैँ आउनुपर्ने ?’
आसन्न निर्वाचनतर्फ इङ्गित गर्दै सभापति लामिछानेले रास्वपाका कार्यकर्ताहरूमा एक्कासि उच्च महत्त्वाकाङ्क्षा बढेको भन्दै व्यङ्ग्यसमेत गरेका छन्।
पार्टीका स्थानीय कार्यकर्तालाई वडा तहमा उम्मेदवार बन्न मन नभएको र सबैको आँखा माथिल्लो पदमा मात्रै गएको भन्दै उनले असन्तुष्टि पोखे।
‘हाम्रा साथीहरू वडाध्यक्ष हेर्दैनन्, एकैचोटि सभापति, पालिका र माथि हेर्छन्। यहाँ कसैलाई वडाध्यक्ष हुन मन छैन,’ व्यङ्ग्यात्मक शैलीमा उनले भने, ‘अब यो वडामा चुनाव लड्न म आफैँ राजीनामा दिएर आउनुपर्ला जस्तो छ। तपाईंहरू त अब धेरै ठूला हुन थाल्नुभयो।’
प्रतिक्रिया 4